• ३ असार २०८१, सोमबार

मतदान स्थल थप्न माग

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन १८ गते । जिल्लामा बसेको सर्वपक्षीय बैठकले दुर्गमको मासपुरसहित दसवटा स्थानमा नयाँ मतदान स्थल कायम गर्न माग गरेको छ । मतदातालाई मतदान गर्न १३ घण्टा पैदल हिँड्नुुपर्ने र मतदाता सङ्ख्या पनि बढी भएका कारण नयाँ मतदान स्थल कायम गर्न निर्वाचन आयोगसमक्ष माग गरिएको हो ।

जिल्लास्तरीय मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सीता परियारले बैठकबाट दुर्गमको मासपुरसहित दसवटा नयाँ मतदान स्थल कायम गर्न निर्वाचन आयोगसँग माग गरिएको बताउनुभयो । १३ घण्टा पैदल हिँडेर मतदान गर्नुपर्ने भएपछि यसअघि नै ताँजाकोट गाउँपालिका–३, मासपुरका लागि नयाँ मतदान स्थल माग गरिएको थियो । यस पटक पनि समितिले मासपुर मतदान स्थललाई पहिलो प्राथमिकतामा राखेर माग गरेको छ । उहाँले मासपुरका लागि नयाँ मतदानस्थल कायम गर्न आयोग सकारात्मक रहेको जानकारी दिनुभयो ।

आयोगसँग माग गरिएका नयाँ मतदान स्थलमा बानादेव प्रावि मासपुुर, ताँजाकोट–३ को रामदेव आवि रामा नैकेला, अदानचुली गाउँपालिका–४ को जनप्रिय आवि रिल्म बिगोठी, सर्केगार्ड गाउँपालिका–२ को देवकोटा आवि उनापानी, चङ्खेली गाउँपालिका–४ को राम शाह आवि पिप्लाङ रहेका छन् । त्यसैगरी खार्पुनाथ गाउँपालिका–१ को कैलाश आवि पिउस, ५ को बागेश्वरी आवि ताक्ला, सिमकोट गाउँपालिका–७ को कर्णाली मावि चौगानफया र नाम्खा गाउँपालिका–१ को गाडापारि र धिङ्गा बस्तीका लागि ख्योङजोङ्ग प्राविमा पनि मतदान केन्द्र थप गर्न माग गरिएको जनाइएको छ ।

निमित्त जिल्ला निर्वाचन अधिकृत श्यामबहादुर रानाले सिफारिस समितिको बैठकले हालका चारवटा मतदान स्थल सुरक्षित नभएको र मतदानका लागि अपायक पर्ने निष्कर्ष निकाल्दै तिनीहरूलाई हटाइ नयाँ स्थानमा मतदान स्थल बनाउनका लागि आयोगसमक्ष सिफारिस गरेको बताउनुभयो । यता, दुईवटा  मतदान स्थलको भने नाम परिवर्तन गर्ने निर्णयसमेत बैठकले गरेको छ । यसअघि दुुई पटक समितिको बैठक बसे पनि दलहरूबीच सहमति हुन नसक्दा निर्णय हुन सकेको थिएन । 

नयाँ मतदान स्थल कायम गर्न आयोगमा सिफारिस गरिएका गाउँपालिका र वडाबाट आवश्यक विवरण साउन १९ गतेभित्र सिफारिस गरी पठाउनुपर्नेछ । त्यसपछि दसवटैको विवरण निर्वाचन आयोगलाई कार्यालयले पठाउने बताइएको छ । बैठकमा राजनीतिक दल, जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।