• ७ मंसिर २०८१, शुक्रबार

झरीमा रुझ्दै कुहिरोमा लुक्दै हिलेमा लाखे नाच

blog

कविराज घिमिरे

हिले, साउन १७ गते । धनकुटाको हिलेबजारमा आजदेखि नेवाः समुदायको परम्परागत जात्रा लाखेजात्रा सुरु भएको छ । झरी र कुहिरोको कुनै प्रवाह नै नगरी हिलेमा लाखेनाच सुरु गरिएको हो । हरेक वर्ष निकालिने लाखेनाच यस वर्ष पनि आज मङ्गलबारबाट झीगु नेवाः समाज, हिलेले निकालेका हुन् । 

अन्यत्र गठेमङ्गलबाटै सुरु भए पनि हिलेमा नागपञ्चमीबाट लाखेनाच सुरु गरिएको हो । वर्षाको हिलो तथा कुहिरोको समेत प्रवाह नगरी जात्रा सुरु गरिएको छ । स्थानीय युवा संस्कृति र परम्पराअनुसार लाखे जात्रा सुरु गरिएको झीगु नेवाः समाज, धनकुटाका अध्यक्ष डिजेस शाक्यले बताउनुभयो । 

लाखे नाच अर्थात् विभिन्न नाम दिइएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यङ्ग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन छ ।

यो समुदायमा एक वर्षभित्र दिवंगत आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको भेषमा सिँगारी बजार परिक्रमा गर्ने गरिन्छ । उनीहरूलाई श्रद्धालुहरूले दूध, फलफूल, चिउरा, रोटी, दहीलगायत अन्न र द्रव्य दान गर्ने चलन चलिआएको छ । 

यसरी बजार परिक्रममा गर्नाले वर्षभर मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ । लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा सम्पन्न हुन्छ ।