• १३ साउन २०८१, आइतबार

पर्यटकीय विकासका लागि बुद्धभूमिको बुड्ढी तालमा डुङ्गा सञ्चालन

blog

नारद कोहार

तौलिहवा, साउन १७ गते । कपिलबस्तुको बुद्धभुमि नगरपालिका ४ स्थित पर्यटकीय विकासका लागि बुड्ढी तालमा डुङ्गा सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण, तथा शहरी विकास मन्त्रालयको सहयोगमा बुद्धुभूमि नगर पालिकाको गौरवको आयोजनाको रुपमा सो डुङ्गा सञ्चालन गरिएको हो । 

पर्यटन ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रीना नेपाल र नगर प्रमुख केशव कुमार श्रेष्ठले संयुक्त रुपमा रिबन काटेपछि डुङ्गा सयर गरी उद्घाटन गरिएको थियो । मन्त्रालयले बुड्ढी तालको पर्यटकीय विकासका लागि कुल २६ लाख ९६ हजार लगानी गरेको मन्त्रालयका इन्जिनियर रोशनप्रसाद ताम्राकारले बताउनुभयो । जस मध्ये ८ लाख लागतको दुई वटा मोटरले चल्ने र दुई वटा पाईडिलले चल्ने गरी कुल चार वटा डुङ्गा सञ्चालन गरिएको हो ।

तालसहित बुद्धभूमि नगरपालिकाको पर्यटकीय विकासका लागि यो महत्वपूर्ण काम भएको राज्यमन्त्री नेपालले बताउनुभयो । उहाँले प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि समेत बुड्ढी तालको विकासका लागि ६० लाख बजेट विनियोजन गरेको बताउनुभयो । तालको पर्यटकीय विकासका लागि सबैले हातेमालो गर्नुपर्ने राज्यमन्त्री नेपालले बताउनुभयो ।

सो अवसरमा नगर प्रमुख श्रेष्ठले बुड्ढी ताललाई नगरले गौरवको आयोजनामा राखेर कार्य अघि बढाएको बताउनुभयो । तालको डिपिआर तयार गरी एक अर्ब भन्दा बढी लगानी गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘ हामीले बुढ्ढी ताललाई सुन्दर र रमणीय बनाएर पर्यटकलाई आकर्षण गर्ने गरी काम अघि बढाउने छौँ ।’ 

सो अवसरमा पर्यटन डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख मुक्तिप्रसाद पाण्डेयले ८० बिघामा फैलिएको चार वटा पोखरी भएको बुड्ढी तालमा डुङ्गा सञ्चालन भएपछि यसको आकर्षण झन् बढेको बताउनुभयो । ताललाई अझ व्यवस्थित र रमणीय बनाउनु पर्ने उहाँको भनाइ छ । तालको समग्र विकास र आयआर्जनका लागि नगरपालिकाले बुड्ढी गाउँबासीको जिम्मामा तालको व्यवस्थापन गर्न दिएको छ । तालमा स्थानीयबासीले माछापालन, कुखुरा र हास पालन र खसी बोकाहरुसमेत पालेर आयआर्जन गरिरहेका छन् ।

बुद्धभूमि नगरपालिकाको बुड्ढी तालमा डुङ्गा उद्घाटन गरिँर्दै । तस्विरः नारद कोहार । तौलिहवा