• १३ साउन २०८१, आइतबार

लगातारको वर्षापछि चितवनमा बाढीको जोखिम

blog

लगातार पानीको सतह बढ्दै गरेको नारायणी नदीको मंगलबार मध्यान्ह १२ः१५मा लिइएको तस्विर । तस्विर – शान्ता अधिकारी

शान्ता अधिकारी 

चितवन, साउन १७ गते । दुई दिन अघिदेखिको लगातारको वर्षापछि हुन सक्ने नदी कटान र डुबानलाई दृष्टिगत गर्दै चितवन नवलपुर क्षेत्रको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सार्वजनिक अपिल गरेको छ ।

जल तथा मौसमविज्ञान विभाग र भरतपुर महानगरपालिकाले चितवनको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । महानगरको आपतकालीन सम्पर्क व्यक्ति बालकृष्ण थपलियाका अनुसार पछिल्लो दुुई दिन यता परेको अविरला वर्षाबाट हुन सक्ने क्षतिलाई विचार गर्दै सुरक्षित उपाय अवलम्बन गर्न अनुरोध गरिएको छ । उहाँले जल मापन केन्द्रले दिएको जानकारी लाई लक्षित गर्दै महानगरबाट नारायणी, राप्ती नदी किनारका बस्तीहरु र बितेका वर्षहरुमा डुबान हुने क्षेत्रहरुका बासिन्दा र जल उत्पन्न प्रकोपको क्षेत्रमा काम गर्ने सङ्घ संस्था, स्वयंसेवी संस्थाहरुलाई उद्धार र राहतको तयारी गर्न समेत अनुरोध गरिएको बताउनुभयो ।

लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको सतह क्रमशः बढिरहेको जानकारी दिँदै नारायणी नदी जलमापन केन्द्र देवघाटले मङ्गलबार बिहानदेखि नदीको सतह बढ्दै गरेको र करिब खतराको स्थितिमा पुग्ने अवस्थामा रहेको जनाएको छ । 

यसैबीच जिल्ला विपद् व्यवस्थापन समन्वय समितिले समेत सम्बन्धित पालिकाहरुलाई विपद् व्यवस्थापनको तयारीमा जुट्न र नदीतटीय बासिन्दाहरुलाई सचेत रहन अनुरोध गरेको छ ।

मङ्गलबार बिहान ६ः३० बजेसम्म ७.३ मिटर पुगेको नारायणी नदीको सतह झन् वृद्धि भइरहेको छ । सोमबार रातिदेखि लगातार वृद्धि भइरहेको जल सतह अझै बढ्ने भएकाले चितवन नवलपरासी क्षेत्रको नदीतटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरिएको छ ।