• १३ साउन २०८१, आइतबार

भोर्ले झरनामा रमाउनेहरू पर्यटकहरु बढ्दै

blog

भोर्ले झरना

चरीकोट, साउन १७ गते । दोलखाको उत्तरी क्षेत्रको बिगु गाउँपालिका–४ लादुकमा रहेको प्राकृतिक भोर्ले झरनामा रमाउनेहरू पर्यटकहरु बढ्न थालेका छन् ।

चट्टानयुक्त पहाडको फेदमा बनाइएको सडकमा चुचुरोबाट खसेको यो झरना र तलको प्रवाहित नदीको सौन्दर्यमा सजिलै रमाउन सकिने भएकाले पर्यटकीय चहलपहलमा वृद्धि हुन थालेको बताइएको छ ।

 सिँगटी–लामाबगर सडक खण्ड अन्तर्गतको सडकमा खसेको यो झरनाको पानी २० मिटर बगेर तामाकोसी नदीमा मिसिएको छ । सडकमा गुड्ने सयौँ सवारी साधन झरनाको पानीले धेरथोर भिजेर जान्छन् । कतिपय यात्रु भने घण्टौँसम्म गाडी रोकेर झरनाको चिसो पानीले स्पर्श गराउँदै शीतलता र आनन्द लिने गरेको देखिन्छ । 

झरनासँगको सामिप्यमा मित्रताको साइनो गाँसेर फोटो खिच्दै, टिकटक बनाउँछन् । कतिपय त यही झरना अवलोकन गर्ने मुख्य उद्देश्यले टाढा टाढाबाट पनि आउने गरेका छन् । उनीहरू झरनाको  अनुपम र मनोरम सौन्दर्य देखेर लठ्ठै हुन्छन् । पछिल्ला दिनहरूमा सुन्दरताले भरिपूर्ण यो भोर्ले झरनामा पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ ।

शुक्रबार, शनिबार सहित बिदाको दिन बाह्य तथा आन्तरिक पर्यटकको भीडले झरना क्षेत्रको सडक जाम नै हुने गर्दछ । उखरमाउलो गर्मीलाई छल्न थकान र उत्सुकता सहित झरनामा पुगेका पर्यटकहरू चिसो पानीकोे शीतलता र मज्जा लिँदै थकान मेट्छन् ।  प्रकृतिको काखमा लुटपुटिँदै, याद तथा अनुभव सँगाल्दै अर्को पटक फेिर फर्कीआउने प्रण पनि गर्छन् ।

केही दिन अघि त्यही वाचा सहित झरनामा रमाएर चरीकोट घर फर्किनु भएका हीरालाल विश्वकर्माले झरना देशकै नमुना र अत्यन्त रमाइलो लागेको सुनाउँदै भन्नुभयो, तल तामाकोसी नदी, माथि भीरबाट सडकमै झरेको पानीको फोहोराले सवारी साधनमा रहेका कतिपय यात्रुलाई डर पनि लाग्छ तर त्यही यात्रु गाडीबाट ओर्लेर झरनाको पानीमा जब खेल्न थाल्छ तब उसले आनन्द अनुभव गर्छ ।

यस्तो प्रकारको झरना कमै मात्र हुने भएकाले एक पटक त्यहाँ पुग्न अनुरोध गर्दै लामाबगर लप्चीका कर्मा शेर्पाले झरनाको चिसो पानी छोएर जाँदा शरीरमा स्फूर्ति पैदा हुने बताउनु भयो । उत्तरी क्षेत्रको मुख्य बजार सिँगटी नजिकै रहेको भोर्ले झरनामा पुग्न २० मिनेट लाग्छ । सिँगटीबाट तीन किलोमिटर दुरीमा अवस्थित सो झरना चरिकोट देखि ३९ किलोमिटर दुरीको सडक हुँदै पुगिन्छ । झरनामा नियमित पर्यटक आउने वातावरणका लागि प्रचारप्रसारलाई व्यापक पारिएको वडाध्यक्ष रामचन्द्र खड्काले बताउनुभयो । 

Author

बाबुराम शर्मा