• ८ जेठ २०८१, मङ्गलबार

जीर्ण भवनभित्र क्याम्पसको पठनपाठन

blog

नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको जीर्ण भवन । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन १६ गते । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको अधिकांश भवन जीर्ण अवस्थामा रहेको छ । करिब ५० बर्षअघि निर्माण गरिएको भवन जीर्ण भएर भत्किने अवस्थामा रहेको क्याम्पस प्रमुख लालमणी आचार्यले जानकारी दिनुभयो । भवन जीर्ण भए पनि त्यही भवनमा पठनपाठनको काम हुँदैआएको छ ।  

“अधिकांश भवनबाट पानी चुहिन्छ” क्याम्पस प्रमुख आचार्यले भन्नुभयो, “कोठाबाट ईट्टा र सिमेन्ट निस्कने गरेको छ ।” क्याम्पस भवन जोखिमपूर्ण रहे पनि जीर्ण भवनबाटै अध्ययन अध्यापन भइरहेको विद्यार्थीको भनाइ छ । सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले जीर्ण रहेको भवन प्रयोग गर्न नमिल्ने जनाएको छ । विभागको प्राविधिक टोलीले क्याम्पसको भवनको परीक्षण पछि प्रयोग गर्न नमिल्ने भन्दै लिखित जानकारी दिएको क्याम्पस प्रमुख आचार्यले जानकारी दिनुभयो । 

क्याम्पसको पठनपाठन भइरहेको भवन प्रयोग गर्न नमिल्ने भएपछि त्यसबारे त्रिभुवन विश्व विद्यालयलगायत सम्वद्ध निकायमा पत्राचार गरी सकिएको क्याम्पसले जनाएको छ । तर हालसम्म भवन भत्काएर नयाँ भवन निर्माण वा अन्य विकल्पका विषयमा कुनै औपचारिक वा अनौपचारिक जानकारी प्राप्त नभएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसमा भारतीय राजदुताबास र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा डिग्री भवन निर्माण गरिएको भए पनि प्रर्याप्त नभएको क्याम्पस प्रशासनको भनाइ छ । 

क्याम्पसमा उच्च शिक्षा अध्ययनका लागि लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट विद्यार्थी आउनेगरेका छन् । ईट्टाका टुक्रा र सिमेन्ट, बालुवा खस्ने भवनमा पठनपाठन र परीक्षाका नियमित गतिविधि भइरहँदा जुनसुकै समयमा पनि दुर्घटना जोखिम रहेको छ । 

क्याम्पसमा बाहिरी जिल्लाका विद्यार्थीको सहजताका लागि निर्माण गरिएको छात्रबास भवन समेत जीर्ण भएको विद्यार्थीले बताएका छन् ।