• १३ साउन २०८१, आइतबार

प्युठान जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो

blog

सलिम मिया

बिजुवार, साउन १५ गते । प्युठानमा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। घटनास्थलमै एक र उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो।

दुर्घटनाका घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४ का ५४ वर्षीया कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय पटवारी कुहारको बुटवलस्थित एडवनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो । 

घाइते हुनेमा रुपन्देही मायादेवी - ७ का ४२ वर्षीय विनोद कुहार,  सिद्धार्थ - ४ का  ४० वर्षीया उर्मिला कुहार, १५ वर्षीय चन्दन कुहार, मायादेवी - ३ का ४० वर्षीया आशा थारु,  ३ का ६३ वर्षीय रुदल चौधरी, ५० वर्षीय मागरी थारु, ६१ वर्षीय प्रल्हाद थारु, सिद्धार्थ - ६ का ७० वर्षीय धुब्रनारायण काबी, सिद्धार्थ - ६ का ६० वर्षीया उर्मिला बर्मा छन् ।

यस्तै, मायादेवी - ३ का ५५ वर्षीय किसदी थारु,  सिद्धार्थ -६ का ६० वर्षीया पुष्पा माली,  ५२ वर्षीय सरोज माली,  मायादेवी - ७ का अन्दाजी ७३ वर्षीय कल्वारी कुहार, ७५ वर्षीय प्राग कुहार,  ६ वर्षीया सङ्गीता कुहार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो।  घाइतेको अहिले बुटवल र भैरहवास्थित अस्पतालमा उपचार भइरहेको छ ।

सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाबाट आफन्तजन मिलेर जीप रिजर्भ गरेर १७ जना स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए । स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु ३ च ३५३ नम्बरको जीप शनिबार स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा दुर्घटनामा परेको थियो।

ब्रेक फेल भएर जीप दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो।