काठमाडौँ, जेठ ४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनीतिक गठबन्धन सुरु भएको छ । एक वर्ष अघिसम्म पार्टी सदस्यतै नवीकरण नगरी राजनीतिक रूपमा किनारा लगाउने रणनीतिमा पर्नुभएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार भने नेकपा (एमाले) को औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनाइनुभयो । यो दृश्यलाई एमालेभित्र विकसित भइरहेको नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनीतिको सङ्केतका रूपमा हेरिएको छ ।
३३ औँ मदन आश्रित स्मृति दिवसका अवसरमा एमालेले बल्खुस्थित मदन नगरमा आयोजना गरेको विशेष सभामा भण्डारी प्रमुख अतिथि हुनुभयो । कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने अधिकांश शीर्ष नेताको उपस्थिति थियो । उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र गोकर्ण विष्ट, महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायत पदाधिकारी एउटै मञ्चमा देखिनु आफैँमा राजनीतिक सन्देश बोकेको दृश्य थियो ।
एक वर्षपछि प्रमुख अतिथि
गत वर्ष एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयलाई सामान्य प्रशासनिक प्रक्रिया मात्र नभई राजनीतिक रणनीतिका रूपमा हेरिएको थियो । पूर्वराष्ट्रपति भइसकेपछि सक्रिय राजनीतिमा फर्कन सक्ने सम्भावना र ११ औँ महाधिवेशनमा नेतृत्व दाबी गर्न सक्ने अनुमानबिच अध्यक्ष केपी ओली पक्षले भण्डारीको सदस्यता रोक्ने बाटो रोजेको थियो । विशेषतः अध्यक्ष ओलीका विश्वास पात्र मानिने विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले त्यसबेला भण्डारीको भूमिकाप्रति दुरी बनाउनुभएको थियो ।
तर अहिले तिनै नेताहरू सार्वजनिक रूपमा भण्डारीसँग एउटै मञ्चमा उभिनु एमालेभित्र ‘पूर्ण बहिष्कार’ को नीति असफल भएको सङ्केतका रूपमा बुझिएको राजनीतिक विश्लेषक रामप्रसाद अधिकारीले उल्लेख गर्नुभयो । उहाँ एमालेभित्र हाल दुई तहमा दबाब बढिरहेको विश्लेषण गर्नुहुन्छ । पहिलो, मदन भण्डारीको विरासतसँग जोडिएको भावनात्मक आधार र दोस्रो, ओलीपछिको नेतृत्वबारे कार्यकर्तामाझ सुरु भएको बहस । यी दुवै कारणले भण्डारीलाई पूर्ण रूपमा अलग राखिरहन नेतृत्वलाई कठिन बन्दै गएको उहाँले बताउनुभयो ।
स्मृति दिवसका अवसरमा भण्डारीले सार्वजनिक गरेको सन्देश पनि केवल श्रद्धाञ्जलीमा सीमित थिएन । उहाँले जननेता मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई पुनः जोडदार रूपमा स्मरण गर्दै एमालेले जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र सङ्गठनात्मक एकतालाई अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्नुभयो ।
“चुनौतीहरूको सामना गर्न सुदृढ साङ्गठनिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य छ,” भन्ने उहाँको अभिव्यक्तिलाई धेरैले वर्तमान नेतृत्वप्रति अप्रत्यक्ष सन्देशका रूपमा पनि बुझिएको छ ।
एमालेभित्र हाल अध्यक्ष ओलीको विकल्पबारे खुलेर बहस हुन थालेको छ । पार्टीभित्र उत्तराधिकारीको स्पष्ट रेखाङ्कन नहुँदा भण्डारीको नाम पुनः चर्चामा आउन थालेको हो । विशेषतः जनाधार, मदन भण्डारीको राजनीतिक विरासत र सहानुभूतिका कारण उहाँ कार्यकर्ताको एउटा हिस्सामा अझै प्रभावशाली मानिनुहुन्छ । यस्तो अवस्थामा भण्डारीलाई निरन्तर अलग राख्दा उल्टै पार्टीभित्र ध्रुवीकरण बढ्ने निष्कर्षमा नेतृत्व पुगेको हुन सक्ने अनुमान गरिएको छ । मदन आश्रित स्मृति सभाको मञ्च केवल स्मृति सभाको औपचारिकता थिएन, त्यो एमालेभित्रको आगामी राजनीतिक दिशाको सङ्केत पनि थियो । भण्डारीलाई प्रमुख अतिथि बनाइनु केवल सम्मानको विषय नभई पार्टीभित्र उहाँको राजनीतिक उपस्थितिलाई पुनः वैधता दिने प्रयासका रूपमा बुझिएको छ ।
जबज प्रेरणाको स्रोत : ओली
भण्डारीको स्मरण गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई युगद्रष्टा सहयोद्धा भएको बताउनुभएको छ । मदन आश्रित स्मृति दिवसका अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) आज पनि जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई निरन्तर अघि बढाउन प्रेरणाको स्रोत बनेको उल्लेख गर्नुभएको छ ।
उहाँले ३३ वर्षअघि दासढुङ्गामा भएको रहस्यमय घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनु परेको स्मरण गर्दै समय बित्दै जाँदा उहाँहरूको अभाव झन् गहिरिँदै गएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले मदन भण्डारीले आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएको उल्लेख गर्दै जबजले परिवर्तनको मार्गचित्र तयार गरेको धारणा व्यक्त गर्नुभएको छ । यसैबिच मदन आश्रित स्मृति प्रतिष्ठानले कागेश्वरी मनोहरामा जनताको बहुदलीय जनवाद र युवा विषयक विचार गोष्ठीको आयोजना ग¥यो । प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा जबजले नै युवाको प्रतिनिधित्व गर्ने बताउनुभयो ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनताबाट टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय बेहोर्नु परेको बताउनुभयो । एमाले जनतामुखीभन्दा सत्तामुखी बन्दा कमजोर बनेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो, “जबजको नीति कार्यान्वयनमा समस्या भयो । जनताभन्दा सत्तासँग नजिक हुने परिपाटी विकास भयो । यसलाई नसच्याउँदासम्म पार्टी बलियो हुँदैन ।”
एमालेले एक साताअघि नै देशभर सर्कुलर जारी गर्दै विचार गोष्ठी आयोजना गर्न, सञ्चार माध्यममा जबजबारे परिसंवाद गर्न निर्देशन दिएको थियो ।