• २ जेठ २०८३, शनिबार

बिरुवाका पनि डाक्टर

blog

प्लान्ट डाक्टर (दायाँ) सँग परामर्श गर्दै पाँचखाल नगरपालिकाका किसान ।

काठमाडौँ, जेठ २ गते । बिहानै गोलभेँडाको बोट बोकेर कृषि मेलास्थलतर्फ हिँड्दै गर्दा पाँचखाल नगरपालिका–४ का कृषक भरत दनुवारको मन भारी थियो । केही सातायता उहाँको गोलभेँडा खेतीमा समस्या देखिएको थियो । बिरुवाका पात सुक्दै जाने, डाँठ कमजोर हुने र फल कुहिन थालेपछि उहाँ चिन्तित बन्नुभएको थियो । 

उहाँले गाउँसहरका एग्रोभेट धाउनुभयो । घरेलु उपचारको विधि पनि अपनाउनुभयो । कम घातक विषादीको पनि प्रयोग गर्नुभयो तर समस्या झन् बढ्दै गयो । “अब त खेती नै सखाप हुने हो कि भन्ने डर लागेको थियो,” उहाँले भन्नुभयो । तर उहाँलाई एउटा कुरा थाहा थिएन, मानिसको जस्तै बिरुवाको पनि उपचार हुन्छ र त्यसका लागि ‘प्लान्ट डाक्टर’ हुन्छन् । 

प्यारो हरियो नेपाल र पाँचखाल नगरपालिकाले आयोजना गरेको दुईदिने कृषि मेलाबारे जानकारी पाएपछि उहाँ गोलभेँडाका बिरुवा नै बोकेर मेलास्थल पुग्नुभयो । त्यहाँ पुगेपछि प्लान्ट डाक्टरले बिरुवाको परीक्षण गरे । समस्या आलुबाट सर्ने रोगका कारण भएको पहिचान भयो ।

रोग नियन्त्रणको उपाय, बाली व्यवस्थापन, विषादीको प्रयोगको मात्रा र खेती प्रणालीबारे सुझाव पाएपछि दनुवारको अनुहारमा राहत देखिन्थ्यो । “पहिलो पटक बिरुवाको पनि यति राम्रोसँग जाँच हुँदो रहेछ भन्ने थाहा पाएँ,” उहाँले मुस्कुराउँदै भन्नुभयो । उहाँ जस्तै भेडेखुर्सानीमा समस्या देखिएर आउनुभएका श्याम भुजेल, माछेखुर्सानीमा समस्या देखिएको सङ्गीता गिरीमा आशा पलाएको छ । सिउँडीफल (ड्रागन फ्रुट) मा समस्या देखिएपछि चिन्तामा पर्नुभएका विष्णुप्रसाद न्यौपानेले प्लान्ट डाक्टरसँगको परामर्शपछि समस्या समाधान हुने आशा पलाएको बताउनुभयो । 

मानिस बिरामी हुँदा अस्पताल पुग्छन् । पशु बिरामी हुँदा पशुचिकित्सक खोजिन्छ । तर बिरुवामा रोग लाग्दा धेरै किसान अझै पनि अनुमानकै भरमा विषादी हाल्ने गर्छन् । यही कारण उत्पादन घट्ने, लागत बढ्ने र किसान निराश बन्ने समस्या बढिरहेको कृषि प्राविधिकहरू बताउँछन् । यस्ता समस्या समाधानका लागि पछिल्लो समय ‘प्लान्ट डाक्टर’ सेवा प्रभावकारी बन्दै गएको छ । प्लान्ट डाक्टरहरूले बिरुवाको रोग पहिचान मात्र गर्दैनन्, किसानलाई बालीचक्र, मौसम अनुसार खेती, माटो व्यवस्थापन, सिँचाइ तथा रोग रोकथामबारे समेत परामर्श दिने गर्छन् । कृषि मेलामा प्लान्ट डाक्टर लामो समयदेखि बाली संरक्षण क्षेत्रमा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत दीपक अधिकारी किसानको भिडबिच व्यस्त देखिनुहुन्थ्यो । कसैले गोलभेँडाको पात बोकेर आएका थिए, कसैले खुर्सानी, काउली र काँक्रोका बोट ।

अधिकारीका अनुसार पछिल्लो समय मौसम परिवर्तन, एउटै बाली लगातार लगाउने प्रवृत्ति र असन्तुलित विषादी प्रयोगका कारण बालीमा नयाँ नयाँ समस्या देखिन थालेका छन् । “अघिल्लो सिजनमा लगाएको बालीपछि फरक प्रकृतिको बाली लगाउनु पर्छ,” उहाँले भन्नुभयो, “मौसम र बालीचक्र मिलाउन नसक्दा रोगको जोखिम बढिरहेको छ ।” उहाँका अनुसार पर्याप्त सिँचाइ, माटोको परीक्षण र समयमै रोग पहिचान गर्न सके उत्पादनमा ठुलो सुधार ल्याउन सकिन्छ ।

मेलामा आएका धेरै किसानका लागि प्लान्ट डाक्टर सेवा नयाँ अनुभव थियो । कतिपय किसानले पहिलो पटक आफ्ना बिरुवाको जाँच गराएका थिए । समस्या सुन्ने, रोग पहिचान गर्ने र समाधानको उपाय विस्तारमा बुझाउने शैलीले किसान उत्साहित देखिन्थे । कृषिमा आधुनिक प्रविधि र वैज्ञानिक परामर्शको पहुँच विस्तार भइरहेका बेला प्लान्ट डाक्टर सेवा किसानका लागि भरोसाको माध्यम बन्न थालेको छ ।    

Author
केशवराज पौडेल

उहाँले गोरखापत्रका लागि राजनीति, कृषि र पशुअधिकारको क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।