• ४ जेठ २०८३, सोमबार

अर्थ/राजनीति

विश्व अर्थतन्त्रमा नवीन आशा

blog

विश्व अर्थतन्त्रमा केही वर्षदेखि कालो बादल नै छाएको छ । युद्ध तनावले लगानी र उत्पादनमा प्रतिकूल असर परेको छ । यसले अर्थतन्त्रलाई नकारात्मक असर पार्नुका साथै रोजगारी खुम्च्याएको छ । केही सीमित बहुदेशीय कम्पनीको आय बढ्नुबाहेक आममानिसको जीवन कठिन बन्दै गएको छ । सात वर्षअघि कोभिड–१९ पछि खलबलिएको विश्व अर्थतन्त्र युक्रेन र गाजा युद्धपछि जटिल चरणमा प्रवेश गरिरहेको थियो । अढाई महिनाअघि अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध थालेपछि विश्व आपूर्ति शृङ्खला गम्भीर सङ्कटमा पर्न गयो । इन्धनको भाउ बढ्दा सम्पूर्ण वस्तु र सेवाको मूल्य अकासियो । प्रत्येक मानिसको गोजीको क्रयशक्ति घटेको छ । आय बढ्न सकेको छैन तर मूल्यवृद्धि उचाइतिर गएपछि विश्वभर र खास गरी एसियाली मुलुकको अर्थतन्त्र खुम्चन पुगेको छ । नेपाल यो असरबाट अलग छैन, बरु गहिरो पीडातिर अग्रसर छ । यो अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यही वैशाख ३० देखि जेठ १ गतेसम्म तीनदिवसीय चीन भ्रमणले अविश्वासका बादल फटाउने बहुआयामिक यत्न गरेको छ । इरान युद्धले निकास पाउने विश्वास बढेको छ । हर्मुज जलमार्गको अवरोध हटेर आपूर्ति प्रणालीमा सुधार हुने विश्वास बढ्दा विश्व अर्थतन्त्रले फेरि त्राण पाउने आशा देखिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग राष्ट्रपति ट्रम्पले गर्नुभएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबिच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी बाहिर आएको छ । विश्वका पहिलो र दोस्रो अर्थतन्त्र अमेरिका र चीन विश्वका दुई महाशक्ति मुलुक हुन् । दुई प्रमुख आर्थिक शक्तिबिच व्यापार, प्रविधि, उड्डयन र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा केन्द्रित शिखर वार्ता भई धेरै व्यापारिक सम्झौता र सहमति भयो । सहकार्यका क्षितिज फराकिलो हुने देखियो । राष्ट्रपति ट्रम्पको चीन भ्रमण ‘धेरै सफल’ भएको प्रतिक्रियाले विश्वमा लगानीकर्तालाई धेरै आश्वस्त पारेको छ । बेइजिङको फरबिडन सिटीनजिकै रहेको चिनियाँ केन्द्रीय नेतृत्वपरिसर झोङ्नानहाईको बगैँचामा चिनियाँ समकक्षी सीसँग सँगै हिँड्दै दुवै शीर्ष नेतृत्वको हँसिलो मुहारको कूटनीतिक महत्व त उच्च हुने नै भयो । सँगसँगै पश्चिम एसियाको तनाव न्यूनीकरण भई विश्व अर्थतन्त्र फेरि नयाँ शिराबाट अगाडि बढ्ने आधार सिर्जना गरेको विश्वास गरिएको छ । 

 नौ वर्षपछि अमेरिकी उच्च नेतृत्व बेङजिङ पुगेको हो । यो भ्रमणले अमेरिका र चीनबिच कृषि, उड्डयन, ऊर्जा र आर्टिफिसियल इन्टेलिजेन्सलगायतका क्षेत्रमा सहकार्य विस्तार हुने देखिएको छ । ट्रम्पको भ्रमणअघि इरानको उच्च प्रमण्डलले चीनको भ्रमण गरेको थियो । त्यसमा अमेरिकासँग सम्झौतामा पुग्न सीको सुझाव गहन कूटनीतिक महत्वको देखिएको हो । दुवै महाशक्ति शीर्ष नेतृत्वबिच मध्यपूर्वको तनावपूर्ण अवस्थादेखि विश्वव्यापी रणनीतिक मतभेदसम्मका विषयमा संवाद भयो । यसले साझा भविष्यका निम्ति सहकार्यको सम्भावना बढेको देखिएको छ । आफ्नो भनाइलाई अति गम्भीर अर्थमा राख्ने चिनियाँ राष्ट्रपति सीले यो भ्रमणलाई ‘माइलस्टोन’ अर्थात् ऐतिहासिक महत्वको भन्नुभयो । यसबाट दुवै मुलुकबिच ‘रचनात्मक रणनीतिक स्थिरतामा आधारित नयाँ सम्बन्ध’ स्थापित भएको विश्व कूटनीतिको विश्लेषण छ । भविष्यमा सम्बन्धलाई थप सन्तुलित र स्थिर बनाउने दिशामा सहकार्य जारी रहने चिनियाँ शीर्ष नेतृत्वको विश्वास छ । उत्तरी छिमेकी चीनसँग अमेरिकाको नयाँ शक्ति सन्तुलनको सुमधुर सम्बन्धले नेपाललाई समेत सकारात्मक प्रभाव पर्न सक्ने छ । भूराजनीतिक दबाबलाई सन्तुलनमा ल्याउन सहज हुने विश्वास छ ।

महाशक्तिका दुवै शीर्ष नेतृत्वबिच आत्मीय सम्बन्धको बेग्लै आयामको उत्कृष्ट नमुना पनि देखिएको छ । सीले अमेरिकी समकक्षी ट्रम्पलाई ह्वाइट हाउसको रोज गार्डेनका निम्ति चिनियाँ फूलका बिउ पठाउने वाचा गर्नुभयो । यसलाई दुई नेताबिचको व्यक्तिगत सम्बन्धलाई मैत्रीपूर्ण बनाउन गरिएको साङ्केतिक पहलका रूपमा समेत हेरिएको छ । व्यापारिक सम्बन्ध त झनै धेरै व्यापक हुन पुग्यो । चीनले अमेरिकी बोइङ कम्पनीका दुई सय वटा ठुला जेट विमान खरिद गर्ने समझदारी भएको छ । गत वर्ष कर विवादको अस्थायी टालटुल अब स्थायित्वतिर अग्रसर भएको छ । चीनले अमेरिकी तेल र सोयाबिन खरिद गर्ने भएको छ । अघिल्लो वर्षदेखि नै व्यापारिक कर र द्विपक्षीय तनावका कारण चीनले अमेरिकी कृषि उत्पादन खरिद घटाउँदै लगेको थियो । चीनले महँगो भए पनि ब्राजिलतर्फ व्यापार रुचि बढाएको थियो । यो भ्रमणपछि चीन फेरि अमेरिकी कृषिउपजतिर आकर्षित भएको छ । यसले कृषिउपजको विश्व सन्तुलनमा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।

इरानलाई चिनियाँ साथ र सहयोगले यो युद्ध लामो समयसम्म जान सकेको आशङ्का थियो । पश्चिम एसियाको अवस्थाबारे दुवै नेताबिच गहन छलफल भएको ठानिएको छ । ट्रम्पले अमेरिका फर्कनुअघि भन्नुभए झैँ इरानलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा चीनको कुनै योजना नरहेको सीको भनाइ रहेको स्पष्ट पार्नुभयो । विश्व व्यापारका निम्ति महत्वपूर्ण मानिने हर्मुज जलमार्ग खुला राख्नुपर्ने पक्षमा चीनले राखेको प्रस्तावमा अमेरिका सकारात्मक देखिएको छ । विश्व आपूर्तिमा झन्डै एक चौथाइ हिस्सा ओगट्ने यो जलमार्गमा अब अमेरिकी नाकाबन्दीको खुकुलो व्यवस्थापन हुन सक्ने देखिएको छ । भ्रमणपछि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा पश्चिम एसियामा 

‘व्यापक र दिगो युद्धविराम’ को आवश्यकता औँल्याएको छ । हर्मुजका विषयमा भने अन्तर्राष्ट्रिय ढुवानीमार्ग यथाशीघ्र सामान्य अवस्थामा फर्काइनुपर्ने भनिएको छ । यसबाट आपूर्ति शृङ्खलामा सुधार हुने अपेक्षा किन पनि छ भने दुवै महाशक्तिका शीर्ष नेतृत्वको भेटवार्तापछि नै कच्चा तेलको मूल्यमा कमी आउन थालेको छ ।

यो भ्रमणलाई विश्व अर्थतन्त्र र कूटनीतिसित जोडेर विश्व सञ्चारले गरेको सम्पादकीय विश्लेषण महत्वपूर्ण छ । न्युयोर्क टाइम्सले ट्रम्पको यस भ्रमणलाई अमेरिकी शक्ति पूर्वतर्फ रुचिपूर्वक स्थानान्तरण भइरहेको सङ्केतका रूपमा व्याख्या गरेको छ । आन्तरिक समस्या र इरान युद्धका कारण कमजोर ट्रम्पलाई वर्तमान परिस्थितिमा अमेरिकाभन्दा चीनको सहयोग बढी आवश्यक देखिएको  विश्लेषण छ । ट्रम्पले बोइङ विमान, सोयाबिन र कृषि उत्पादन बिक्री गर्ने व्यापारिक सम्झौताका लागि चिनियाँ नेतृत्वसँगको वार्ता फलदायी भएकाले उत्पादन र बजारमा सुधार हुने अपेक्षा गर्नुभएको छ । अमेरिकी शीर्ष नेतृत्वको भ्रमणलगत्तै रुसी शीर्ष नेतृत्व चीन पुग्ने समयतालिका सार्वजनिक भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुईदिने भ्रमण कार्यक्रम भोलि र पर्सि (मे १९–२०) तय भएको छ । युक्रेनसँग युद्ध लडिरहेको रुस अमेरिकी नाकाबन्दीमा छ । युक्रेनलाई पश्चिमा शक्तिले सहयोग गरिरहेकोमा असन्तुष्टसमेत छ । यो अवस्थामा रुसी राष्ट्रपतिको तात्तातो चीन भ्रमणले विश्वशान्तिमा सकारात्मक पहल हुने विश्वास बढेको छ । विश्वशान्ति नै अर्थतन्त्र सुधारको आधार हो । न्युयोर्क टाइम्सले भने झैँ विश्व शक्ति बिस्तारै पूर्व अर्थात् चीनतिर रूपान्तरण भइरहेको अनुमान गर्न कठिन छैन । चिनियाँ समकक्षीलाई यसै वर्ष वासिङ्टनमा स्वागत गर्ने आमन्त्रणको अझ बढी कूटनीतिक महत्व छ ।

यो भ्रमणको चिनियाँ विश्लेषण अझ महत्वपूर्ण छ । चीनको आधिकारिक धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले सम्पादकीयमा दुई महाशक्ति अब प्रतिद्वन्द्वी नभएर साझेदारीको दिशामा अग्रसर भएको दृष्टिकोण प्रस्तुत गरेको छ । यस भ्रमणलाई रचनात्मक रणनीतिक स्थिरता र आपसी सहअस्तित्वको नयाँ मोडका रूपमा विश्लेषण गरेको छ । ग्लोबल टाइम्सले विश्वव्यापी अर्थतन्त्रलाई गति दिन ट्रम्पले एक चीन नीति र ताइवान मामिलामा चीनको संवेदनशीलतालाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । अमेरिकाले एक चीन नीति कायम राखे पनि ताइवानसँग गरेको कार्यव्यवहारप्रति चीन असन्तुष्ट छ । कतिपय अमेरिकी मिडियाले यो भ्रमणलाई बाध्यता र कमजोरीका रूपमा समेत हेरेका छन् तर  चिनियाँ मिडियाले यसलाई बेइजिङको बढ्दो वैश्विक प्रभाव र रणनीतिक जितका रूपमा चित्रण गरेको छ ।

हङकङबाट प्रकाशित हुने चर्चित अखबार साउथ चाइना मर्निङ पोस्टले विस्तृत विश्लेषण गरेको छ । यो भ्रमणलाई लिएर व्यापारिक स्वार्थ र भूराजनीतिक टकराबको सन्तुलनबारेको दृष्टिकोण प्रस्तुत गरेको छ । ट्रम्पले एलन मस्कलगायत ठुला प्रविधि कम्पनीका प्रमुखसहितको यो भ्रमण अमेरिकी नीति व्यापारमा आधारित रहेको भन्नुभएको छ । पश्चिम एसियामा कति चाँडो शान्तिको अनुभूत हुन्छ ? त्यसमै विश्व अर्थतन्त्रले फेरि लगानी बढाई आय, उत्पादन र रोजगारी विस्तारमा सहयोग पुग्न सक्ने सो अखबारको सम्पादकीय विश्लेषण छ । दुई महाशक्तिबिच विकसित सम्बन्धले कुनै बेला चीन र अमेरिकाबिचको सम्बन्धमा ‘चाइमेरिका’ नै भन्ने गरेको पदावली फेरि सम्झाएको छ । सन् १९९० को दशकपछि अमेरिकी अर्थतन्त्र खुला रूपमा चीनसँग व्यापारिक साझेदारी हुन गयो । त्यसअघि नै माओको निधनपछि चीनले तेङ सियाहोपिङको खुलापन नीतिमा चीनले आर्थिक प्रगतिमा अग्रता लिन थालिसकेको थियो । हेनरी किसिन्जरले सूत्रपात गरेको अमेरिकाचीन सम्बन्ध चाँडै गहन भएको थियो ।

सन् १९९० सम्म आइपुग्दा अमेरिकी उत्पादन उपभोक्ताका निम्ति अति महँगो हुन थालिसकेको थियो । त्यसले चिनियाँ वस्तुले अमेरिकी बजार पाएपछि अमेरिकी उपभोक्ताले राहत पाए । चीनप्रति अमेरिकी व्यापारिक सम्बन्धको अति निर्भरताले चाइमेरिका भन्ने शब्दावली नै प्रयोग हुन थाल्यो । सन् २००६ मा बेलायती इतिहासकार नियल फर्गुसन र जर्मन अर्थशास्त्री मोरिट्ज सुलारिकले यो व्यापारिक सम्बन्धलाई चाइमेरिका भन्ने गर्नुभएको थियो । व्यापारिक पृष्ठभूमिबाट अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्पले पहिलो कार्यकालमै अमेरिका पहिलो भन्ने नीति ल्याउँदै चीनप्रतिको निर्भरता कम गर्न थाल्नुभएको थियो । दोस्रो कार्यकालको आरम्भिक महिना त दुई महाशक्तिबिच कर विवाद र तनावमै बित्यो । गत वर्ष दक्षिण कोरियामा दुई शीर्ष नेतृत्वबिच अस्थायी सहमति भयो । त्यहीँ अमेरिकी राष्ट्रपतिको चीन भ्रमण तय भयो । इरान युद्धका कारण एक महिनापछि सरेर पनि सम्पन्न भएको यो भ्रमणले विश्व अर्थतन्त्रमा लगानी बढाउन सहयोग पुग्न सक्ने विश्वास बढेको छ ।

अमेरिका र चीनबिच सम्बन्ध राम्रो हुँदा विश्व अर्थतन्त्रले लगानी, आय र उत्पादन बढाउन सकेको विगतले देखाउँछ । चाइमेरिका शब्दसम्मको त्यो खुलापनले अमेरिकी उपभोक्ताले धेरै लाभ लिन सके पनि व्यापार भने असन्तुलित हुन गयो । अमेरिकामा वस्तु तथा सेवाको उत्पादन लागत उच्च हुँदा धेरै अमेरिकी कम्पनी चीनतिर आकर्षित भए । संसारभरका लगानीकर्ता चीनमा आकर्षित भएको त्यो समयले विश्व अर्थतन्त्रलाई सकारात्मक योगदान दिई रोजगारी बढाएको थियो । तुलनात्मक रूपमा विश्वशान्ति अनुभूत गरिएको थियो । अमेरिकी उपभोक्ता मात्र होइन, संसारभर चिनियाँ कम मूल्यका वस्तुले विश्वभर बजार सन्तुलन ल्याउन सक्यो । यताका तीन दशकमा नेपाली उपभोक्ताले पनि कपडा, विद्युतीय सरसमानलगायत सस्तोमा पाउन थालेका छन् । यसले धेरै देशका आन्तरिक उद्यममा ठुलो प्रतिकूल दुष्प्रभाव परे पनि उपभोक्ताले भने सस्तो चिनियाँ सरसमान पाउँदा खुसी नै छन् । श्रम बजार विश्वव्यापी भई आर्थिक उदारीकरण चरम दिशामा अग्रसर भयो । त्यसको लाभ नेपाली श्रमिकले लिँदै आएका छन् ।

खुलापनको सबैभन्दा बढी फाइदा चीनलाई नै भएको पाइन्छ । चीनको अर्थतन्त्र निर्यातमा आधारित भई उच्च आर्थिक वृद्धितिर अग्रसर हुन सक्यो । अमेरिकासँगको व्यापारिक तनावपछि विश्व व्यवस्थामा धेरै फेरबदल आयो । चिनियाँ वस्तुको अमेरिकी पहुँच सहज रहेन । युक्रेन युद्ध र वर्तमान पश्चिम एसिया तनावमा अप्रत्यक्ष चिनियाँ सहयोग छ भन्ने अमेरिकी बुझाइमा ट्रम्पको चीन भ्रमणले विराम लगाएको विश्लेषणको बेग्लै महत्व छ । पश्चिम एसियामा शान्ति हुने वातावरण बन्न सक्दा आपूर्ति शृङ्खला सहज हुने छ । कच्चा तेलको मूल्यमा अझै कमी आउने छ । इन्धनसँगै बिटुमिन, प्लास्टिकलगायतको मूल्य वृद्धिले धेरै मुलुक तनावमा छन् । नेपाल अछुतो छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त एक वर्षका निम्ति सुन नकिन्न र तेलको कम प्रयोग गरी तरकारी पकाउनसमेत देशवासीलाई आग्रह गर्नुभएको छ । डलर अभावले भारतीय मुद्रा अवमूल्यन हुँदा नेपाली रुपियाँसमेत अमेरिकी डलरसँगै धेरै कमजोर भएको छ । यसबाट आयातमा आधारित हाम्रो अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पारिरहेको छ । अब विश्व अर्थतन्त्रमा आउन सक्ने सकारात्मक रूपान्तरणलाई नेपाल र नेपालीको हितमा अधिकतम सदुपयोग गर्न सक्ने दिशामा अग्रसर हुनु वाञ्छनीय छ । 

  

Author
जुनारबाबु बस्नेत

उहाँ गोरखापत्र दैनिकको प्रधानसम्पादक हुनुहुन्छ ।