• ४ जेठ २०८३, सोमबार

बबई नहर निर्माण अन्तिम चरणमा

blog

गुलरियामा निर्माणाधीन बबई सिँचाइकोे मूल नहर ।तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता

बर्दिया, जेठ ४ गते । बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा निर्माणाधीन बबई सिँचाइ आयोजना अन्तर्गतको नहर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

आयोजनाले गुलरिया नगरपालिकाभित्रको सात हजार हेक्टर कृषि जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । गत वर्षदेखि सुरु गरिएको नहर निर्माण अन्तर्गत वडा नं. १, ३ र ४ मा चार किलोमिटर मूल नहर तथा नौ किलोमिटर शाखा नहर निर्माण भइरहेको छ । आयोजनाका अनुसार हालसम्म गुलरिया खण्डको करिब ७८ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

बबई सिँचाइ आयोजनाले पूर्वी क्षेत्रमा ३४ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ भने गुलरिया क्षेत्रमा काम सम्पन्न भएपछि पश्चिमतर्फ थप ४१ किलोमिटर नहर निर्माण हुने छ । यससँगै आयोजना अन्तर्गत कुल ९१ किलोमिटर नहर सञ्जाल विस्तार हुने बताइएको छ । आयोजनाले बर्दियाका आठ स्थानीय तहमध्ये छ स्थानीय तहमा सिँचाइ सुविधा विस्तार गरिसकेको दाबी गरेको छ । बाँसगढी, बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकामा यसअघि नै नहर निर्माण सम्पन्न भइसकेको छ । गुलरिया क्षेत्रमा भने आगामी वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सिँचाइ आयोजना कार्यालयका प्रमुख गोपाल शर्माले कृषकका खेतसम्म सिँचाइ सुविधा पु¥याउन नहर निर्माणलाई तीव्रता दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना सम्पन्न भएपछि गुलरिया नगरपालिकाको ठुलो क्षेत्रफल खेतीयोग्य जमिन बर्सैभरि सिञ्चित हुने छ ।

गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले सिँचाइ सुविधा विस्तारसँगै कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । हाल अधिकांश किसान आकासे पानीमा निर्भर छन् भने केहीले विद्युत् प्रयोग गरेर खेतबारीमा सिँचाइ गर्दै आएका छन् ।