• ४ जेठ २०८३, सोमबार

बिहारमा गोरखापत्रकर्मी भण्डारी सम्मानित

blog

सम्मानित हुँदै पत्रकार कोकिला भण्डारी ।

कोकिला भण्डारी
धनकुटा, जेठ ४ गते ।
धनकुटामा रहेर विगत १२ वर्षदेखि राष्ट्रिय दैनिक गोरखापत्रमा कार्यरत पत्रकार कोकिला भण्डारी भारतको बिहार राज्यमा सम्मानित हुनुभएको छ ।

नेशनलिस्ट्स युनियन अफ जर्नलिस्ट्स (एनयूजेआई) बिहार, सुपौल इकाइद्वारा सुपौल जिल्लाअन्तर्गत सरायगढ–भपटियाही प्रखण्ड मुख्यालयमा आयोजित “जिल्ला पत्रकार सम्मेलन–२०२६” को अवसरमा उहाँलाई पत्रकारितामा पु¥याएको उत्कृष्ट योगदान तथा प्रशंसनीय भूमिकाको कदर गर्दै सम्मान गरिएको हो ।

सम्मेलनमा एनयूजेआई बिहारका सचिव कुमार अमर, अध्यक्ष राकेश प्रवीर तथा कार्यक्रम संयोजक अमिर कुमार झाले दोसल्ला ओढाएर, फूलको बुके प्रदान गर्दै सम्मानपत्र र ल्यापटप ब्यागसहित पत्रकार भण्डारीलाई सम्मान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा पत्रकार भण्डारीसँगै हिमालय टेलिभिजनका कोशी ब्युरो प्रमुख ध्रुव भट्टराई, विराटनगर रानी क्षेत्रका पत्रकार पवन साह, मोरङ उद्योग व्यापार संघकी महिला संयोजक साधना झा, आभा फाउण्डेशन नेपालकी अध्यक्ष आभा अनुपमा, पत्रकार तथा सामाजिक कार्यकर्ता वरुण मिश्रा र उहाँकी धर्मपत्नी माला मिश्रालगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै पत्रकार भण्डारीले पत्रकारिता केवल समाचार लेख्ने पेशा मात्र नभई समाजमा चेतना जगाउने, लोकतन्त्रलाई सुदृढ बनाउने र जनविश्वास कायम राख्ने महत्त्वपूर्ण आधार भएको बताउनुभयो ।

उहाँले कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको स्वरूप परिवर्तन भइरहेका बेला निष्पक्ष, जिम्मेवार र जनपक्षीय पत्रकारिताको आवश्यकता अझ बढेको धारणा राख्नुभयो ।

नेपाल र बिहारबिच भाषा, संस्कृति र आत्मीयसम्बन्ध रहेको उल्लेख गर्दै भण्डारीले यस्ता पत्रकार सम्मेलन तथा अन्तरक्रियाले दुवै देशका सञ्चारकर्मीबिच अनुभव आदानप्रदान र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा विधायक अनिरुद्ध प्रसाद यादव, जिल्ला अधिकारी (डीएम) सावन कुमार, प्रहरी उपरीक्षक (एसपी) शरथ आर.एस., पत्रकार तथा सामाजिक कार्यकर्ता वरुण मिश्रा र उहाँकी धर्मपत्नी माला मिश्रा लगायतको नेतृत्वमा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल र भारतका सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । कार्यक्रममा भण्डारीले आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै उपस्थित सबै महानुभावहरूको सफल, समुन्नत र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।