• ४ जेठ २०८३, सोमबार

खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयमा खुसीयाली

blog

खगालगाउँ पुगेको बोलेरो जीपसहितको टोलीलाई स्थानीयले स्वागत गर्दै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, जेठ ४ गते ।
उत्तरी नाम्खा गाउँपालिका–३ को वडा केन्द्र खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयवासीले खुसीयाली मनाएका छन् । केही दिनअघि निर्माण सम्पन्न भएको सडकमा परीक्षणका रूपमा बोलेरो जिप सफलतापूर्वक पुगेपछि खगालगाउँवासीले खुसी साटासाट गरेका हुन् ।

नाम्खा गाउँपालिकाका छ वडाका केन्द्रमध्ये हालसम्म सडक सञ्जाल नजोडिएको वडा नम्बर ३ को केन्द्र खगालगाउँमा पहिलो पटक बोलेरो जिप पुगेपछि स्थानीयले जिप तथा यात्रुलाई खादा लगाएर स्वागत गरेका थिए । वडा अध्यक्ष ग्याम्जो लामाले जीपसहितको टोलीलाई स्वागत गर्दै पुजा समेत गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले सडक परीक्षण सफल भएपछि औपचारिक रूपमा उद्घाटन गर्नुभएको जनाइएको छ । वडा केन्द्रसम्म सडक पुग्नुअघि स्थानीयलाई करिब एक घण्टा पैदल उकालो हिँडेर खगालगाउँ पुग्नुपर्ने बाध्यता थियो ।

अब गाउँमै सडक जोडिएपछि स्थानीयलाई सहज भएको खगालगाउँ स्वास्थ्य चौकीका इन्चार्ज गोर्ख भण्डारीले बताउनुभयो । उहाँका अनुसार सडक पुगेपछि आकस्मिक स्वास्थ्य सेवा लिन तथा बिरामीलाई सदरमुकाम सिमकोटसम्म लैजान सहज हुनेछ ।

वडा अध्यक्ष लामाको पहलमा वडा केन्द्रसम्म सडक विस्तार भए पनि आवश्यक बजेट तथा योजना पर्याप्त नभए पनि गाउँपालिकाको जेसिबी र पूर्वाधार विकास कार्यालयको इन्धन सहयोगमा सडक निर्माण सम्पन्न गरिएको हो । यससँगै नाम्खा गाउँपालिकाका सबै वडा केन्द्र सडक सञ्जालमा जोडिएका छन् ।