• ४ जेठ २०८३, सोमबार

सिरानचोक कागतीको हब बन्दै

blog

गोरखाको सिरानचोकमा गरिएको कागती खेती ।

सुलीकोट समाचारदाता 

सुलीकोट, जेठ ४ गते  । गोरखाको सिरानचोक गाउँपालिका अन्तर्गत रहेको सिरानचोक अहिले कागती उत्पादनको मुख्य केन्द्रका रूपमा परिचित हुन थालेको छ । यहाँका किसानले पराम्परागत खेती छाडेर व्यावसायिक रूपमा कागती खेती गर्न थालेपछि सिङ्गो वडा नै कागतीको हबका रूपमा विकसित हुन थालेको छ । 

सो क्षेत्रमा हावापानी, मलिलो माटो र बजारको सहज पहुँचका कारण वडाभित्र उत्पादन भएका कागतीको माग दिनप्रतिदिन बढ्दै गएको छ । स्थानीय कागती किसान काजीबाबु घिमिरेले ४० रोपनी जग्गा क्षेत्रफलमा घरआँगनदेखि बारीका कान्लासम्म कागतीका बिरुवा रोप्नुभएको छ । 

उहाँ जस्तै अहिले वडाभित्रका धेरै किसान कागती बिक्रीबाट राम्रो आम्दानी गर्न थालेपछि युवापुस्तासमेत कृषि कर्मतिर आकर्षित हुन थालेका छन् । सिरानचोक–४ का वडाध्यक्ष भरत हमालले भन्नुभयो, “एक मौसममा एक लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्ने किसान छन् । यसरी कागतीबाट राम्रो आम्दानी हुन थालेपछि गाउँको आर्थिक अवस्थामा सुधार हुन थालेको छ ।”

विशेष गरी उक्त क्षेत्रको कागती विषादीरहित र ताजा कागतीको माग बजारमा बढी भएकाले उत्पादनको सहज बजार पाइरहेको अर्का कागती किसान खेमराज पोखरेलको भनाइ छ । स्थानीय बजारसंगै गोरखा सदरमुकाम, पोखरा र काठमाडौँसम्म यहाँको कागती पुग्ने गरेको बताइएको छ । 

सिरानचोक गाउँपालिकाले कागतीको पकेट क्षेत्र भएकाले कागती खेती प्रवर्धनका लागि किसानलाई तालिम, बिरुवा वितरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले बताउनुभयो । कृषि विकास कार्यालय गोरखाले बगैँचा सुदृढीकरणका लागि वडाभित्रका पाँच जना कागती किसानलाई ७५ हजार रुपियाँका दरले सहयोग अनुदान वितरण गरेको कृषिविज्ञ सुमन भट्टराईले जानकारी दिनुभयो । 

कृषिमा आधुनिकीकरण र व्यवसायीकरण बढ्दै जाँदा सिरानचोकमा कागती खेतीले नयाँ सम्भावना देखाएको स्थानीय किसानले बताएका छन् । यहाँका कागती किसान खेमराज पोखरेलका अनुसार केही वर्ष अघिसम्म वैदेशिक रोजगारीमा जाने सोच बनाएका धेरै युवा अहिले आफ्नै गाउँमा कागती खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् । खेतीप्रति बढ्दो आकर्षणले बाँझो जमिनसमेत हराभरा बनेको छ । 

कागती उत्पादनबाट प्रत्येक घरले गरेको आम्दानी हेर्दा एक वडाबाट एक वर्षमा झन्डै एक करोड रुपियाँ आम्दानी गर्ने गरेको गाउँपालिकाले दाबी गरेको छ । कागती उत्पादनबाट गाउँको पहिचानसंँगै किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन थालेपछि सिरानचोकलाई गोरखाकै नमुना कृषि क्षेत्रका रूपमा हेरिन थालेको छ ।