• १९ असार २०८१, बुधबार

पानीमा भेटियो ‘कोलिफर्म’

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन १५ गते । सदरमुकाम सिमकोटको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म र इकोली भेटिएको छ । सिमकोट बजार र वडा नं. ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा सो जीवाणु भेटिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका ल्याब टेक्निसियन भक्ति फडेराले खानेपानीको ल्याब परीक्षण गर्ने क्रममा कोलिफर्म र इकोली भेटिएको जानकारी दिनुभयो ।

उहाँले सिमकोट खानेपानी योजनाको मुहान, इन्टेक, रिजर्भवायर ट्याङ्की र घर–घरका धाराको पानी परीक्षण गर्ने क्रममा सो जीवाणु देखिएको जानकारी दिनुभयो । यसरी सिमकोटको पानीलाई यसअघि परीक्षण गरिएको थिएन । उहाँले पहिलो पटक परीक्षण गर्दा सो जीवाणु देखिएको बताउनुभयो । त्यसैगरी सिमकोट–६ को मुग्रधाराको पानी परीक्षण गर्दा पनि सो जीवाणु देखिएको थियो । 

यता पानी परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोलीले वडा नं. ३ को लाङ्दु गाउँको खानेपानीको मुहानमा परीक्षण गर्दा नदेखिएको तर व्यक्तिको घरको धारामा भने देखिएको जनाएको छ । सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले मानिसका लागि प्रयोगयोग्य पानी नभएका कारण यसलाई उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्न आग्रह गर्नुभयो । 

उहाँले हाल सिमकोटमा झाडापखाला, टाइफाइड र आउँ जस्ता रोगका बिरामी देखिनुका कारण सो पानी हुन सक्ने बताउनुभयो । उहाँले खानेपानीको मुहान, इन्टेकको संरक्षण नगरी खुला भएको कारण पानी दूषित भएको हुन सक्ने बताउनुभयो ।

उहाँले खानेपानी आपूर्ति गर्दै आएको उपभोक्तासहितलाई मुहान, इन्टेक धाराको संरक्षण कार्यमा ध्यान दिन आग्रह गर्नुभयो ।

सो पानी आठ हजारभन्दा बढी जनसङ्ख्याले प्रयोग गर्दै आएका छन् । शाखाले यसअघि फिक्स टिक मेसिनबाट ठेहे र डाँडाफया गाउँमा पानी परीक्षण गर्दा उक्त जीवाणुु देखिएको भए पनि सो त्यति विश्वासिलो नभएका कारण युनिसेफ नेपालसँग नयाँ मेसिन माग गरेको थियो । युनिसेफको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम (वास)का संयोजक जङ्गबहादुर रोकायाले हाल पानी परीक्षण गर्ने वाकटेक मेसिनसहित जनशक्तिलाई तालिम दिएपछि पानी परीक्षणमा सहज भएको बताउनुभयो । 

उहाँले अब गाउँपालिकाका सबै वडाका बस्तीमा मेसिनसहित जनशक्ति पुगेर परीक्षण गर्ने बताउनुभयो । त्योसँगै गाउँपालिकाको स्वास्थ्य शाखाले अब नयाँ खानेपानी योजना निर्माण गर्दा पानीको अनिवार्य ल्याब परीक्षणपछि मात्र निर्माण गरिने जनाएको छ ।