नेपाली समाजमा पाटे बाघको नाम नसुनेको र बाघले मानिस मारेको खबर नसुनेको पनि कमै होलान्। कतिपय मानिसलाई बाघको नाम सुन्नासाथ आङ सिरिङ्ग भई जिउ फुलेर आउँछ। अझ जो कोहीलाई अब नेपालले बाघ बेच्नुपर्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ । नेपाली समाजमा जो कोहीलाई बाघको पीडा कम गर्न बाघ मार्ने विचार पनि आउन सक्छ। हो बाघलाई मार्नुभन्दा बेच्नु नै उत्तम उपाय हुन्छ भन्ने बलियो मत पनि बजारमा छ तर नेपालमा बाघ बेच्ने प्रचलन किन छैन ? यसतर्फ पनि सोच्नुपर्ने बेला आएको छ।
बाघको वर्तमान अवस्था
विश्वभर नौ प्रजातिका बाघ पाइने अभिलेख भए पनि हाल छ प्रजाति अस्तित्वमा छन्। तीमध्ये पाटे बाघ नेपाल, भारत, बङ्गलादेश र भुटानमा मात्र पाइन्छ। सन् २०१० ताका विश्वभर पाटे बाघको सङ्ख्या तीन हजार २०० को हारहारीमा पुगेकाले सङ्ख्या बढाउन विश्वभरका बाघ पाइने १३ मुलुकले सन् २०१० को नोभेम्बरमा रुसको सेन्ट पिटर्सवर्ग सहरमा विश्व बाघ सम्मेलन सम्पन्न भएको थियो। सो अवसरमा नेपालले पनि सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर (२५०) पु-याउने प्रतिबद्धता विश्वसामु गरेको थियो। सन् २०२२ को बाघ गणनाले नेपालमा ३५५ वटा बाघ रहेको विवरण सार्वजनिक गरिएको छ।
बाघको सङ्ख्या बढाउन सरोकारवाला निकाय, स्थानीय समुदाय, सरकार तथा अन्तर्राष्ट्रिय समुदायको समन्वयात्मक तथा अथक प्रयासका साथ तयार गरिएको कार्यक्रम खासगरी चोरीसिकार नियन्त्रण, वासस्थान विस्तार र सुधार, संरक्षण, शिक्षालगायतका विविध उपाय अपनाइएको छ। यीमध्ये चोरीसिकारी नियन्त्रण कार्यक्रमलाई समुदायस्तरमा विस्तार गरेकाले अभियान पूर्ण रूपमा सफल भएको छ। त्यसैले नेपालमा बाघको सङ्ख्या बढाउन सफलता मिलेको हो तर बाघसित सर्वसाधारण जनताको दैनिक जम्काभेट भई मानव वन्यजन्तु द्वन्द्वमा वृद्धि भई यो प्रतिउत्पादक बन्न सक्ने अवस्था देखिएको छ। यो समस्या समाधान गर्नु आजको प्रमुख चुनौती बनेको छ।
सामान्यतया बाघको भाले र पोथी एकै स्थानमा बस्दैनन्। बाघले विभिन्न किसिमको चिह्नद्वारा आफ्नो क्षेत्र निर्धारण गर्छ। सन् १९७० को अध्ययनअनुसार पोथी बाघका लागि सरदर १५ देखि ४० वर्गकिमि र भालेका लागि २५ देखि ६० वर्गकिमि क्षेत्रफल चाहिन्छ। पोथी बाघले सरदर तीनदेखि चार महिनामा दुईदेखि पाँचवटा बच्चा जन्माउँछ। बाघको आहारा साकाहारी वन्यजन्तु खासगरी हरिण, चितल, बनेल, दुम्सी, वाह्रसिङ्गे, जरायोलगायतका वन्यजन्तु प्रमुख हुन् भने घरपालुवा जनावर गाई, गोरु, भैँसी, भेडा, बाख्रा, कुकुर, आदि बाघको आहारा हो। बाघ र आहारा प्रजातिको वन्यजन्तुको अनुपात नमिलेकाले बाघको समस्या देखा परेको देखिन्छ। बाघको वासस्थानको भार क्षमता अध्ययन गरी कुन वन क्षेत्र वा निकुञ्जमा कति बाघ राख्न उचित हुने सो अध्ययन गरी व्यवस्थापन गर्नु जरुरी छ। नेपालमा बाघलाई आवश्यक न्यूनतम क्षेत्रफल निर्धारण गरी बढी भएको बाघलाई प्राकृतिक वासस्थानबाट निकाल्नु उपयुक्त हुन सक्छ।
सिर्जित समस्या
बाघ निकुञ्ज र यस वरपरका समुदायका लागि एक अभिशाप बनेको छ। बाघको सङ्ख्या बढ्नाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारे पनि स्थानीय समुदायले दैनिक रूपमा बाघको चुनौती सामना गरिरहेको छ। हरेक दिनजस्तो मानव–वन्यजन्तु बीचको द्वन्द्वका समाचार सुनिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अभिलेखअनुसार तीन वर्षको अवधिमा १०४ जना मानिस बाघको आक्रमणमा परेको र ६० प्रतिशतको मृत्यु भएको छ भने २८ प्रतिशत घाइते र १२ प्रतिशत सामान्य घाइते भएको तथ्याङ्क छ। आर्थिक वर्ष २०७६/७७ मा बाघ आक्रमणको घटना १७५ थियो भने आ.व. २०७७/७८ मा ३०६ पुगेको छ। चालू आ.वा.मा यो सङ्ख्या ३६० पुगेको छ। यसले विगतमा दुई दिनमा एक घटना हुन्थ्यो भने हाल प्रत्येक दिन एक घटना भएको तथ्यले देखाउँछ।
साथै निकुञ्जनजिकका बासिन्दाले बर्सेनि बढ्दो पशुधन क्षति बेहोर्नु परेको छ। हरेक १५ दिनमा ११ वटा पशुधन क्षति पुगेको तथ्याङ्क छ। यी घटनाले सरकारको राहत तथा क्षतिपूर्ति बजेटमा पनि प्रतिवर्ष चाप बढिरहेको छ। हाल हाम्रो राष्ट्रसामु बाघ व्यवस्थापन एक ठूलो चुनौती बनेको छ। समयमा नै यस चुनौतीको सामना कुनै कुनै उपाय निकाल्नु संरक्षणकर्मीको बाध्यता छ। सामाधान गर्ने उपयाहरू पहिचान गरेर अघि बढ्नुपर्ने अवस्था छ।
वन्यजन्तु राहत निर्देशिका २०६९ अनुसार प्रतिव्यक्ति १० लाख रुपियाँ र शक्त घाइतेलाई उपचार दुई लाखसम्म र सामान्य घाइतेलाई २० हजार रुपियाँसम्मको लगात बिलअनुसार भुक्तानीको व्यवस्था छ। पशुधन क्षतिका लागि प्रजातिअनुसार ३० हजारदेखि १० हजारसम्म प्रतिपशु र अन्न बाली क्षेत्रफल र प्रकृति हेरी अधिकतम १० हजार रुपियाँसम्म क्षति दिने व्यवस्था छ। नेपाल सरकारले आ.व. २०७७/७८ मा कुल आठ हजार ४५५ वन्यजन्तु मानव द्वन्द्व शीर्षकमा राहतस्वरूप वितरण गरेको रकम १४ करोड नौ लाख ९३ हजार खर्च भएको छ र यो क्रम बढ्दो छ।
प्रस्तावित उपाय
दैनिक रूपमा बढ्दो मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने धेरै उपायमध्ये बाघको सङ्ख्या घटाउनु एक हो। प्राकृतिक वासस्थानमा न्यूनतम सङ्ख्या कायम राखी बढी भएका बाघलाई व्यवस्थापन गर्नु आवश्यक छ। यसका लागि तत्काल बिक्री गर्ने उपायबाहेक अन्य विकल्प पनि छन्। त्यसैले विधि विधान मिलाएर बाघको सङ्ख्या घटाउनु नै सबैभन्दा उत्तम विकल्प हुन्छ। यसका लागि आवश्यक गृहकार्य सरोकारवाला निकायले गर्नुपर्छ। तल न्यूनीकरणका केही उपायको चर्चा गरिएको छ :
विश्व बजारमा बाघ बिक्री गर्ने : पारिस्थितिक प्रणालीमा आवश्यक बाघको सङ्ख्या निर्धारण गरी बढी भएको बाघको सङ्ख्या घटाउन बेच्ने प्रमुख उपाय हो तर नेपाल साइटिस महासन्धिको पक्ष राष्ट्र भएकाले बिक्री गर्न प्रतिबन्ध छ। यो अवस्थामा बाघको व्यापार सोचेजस्तो सहज छैन। यसका लागि नेपाल सरकारले महìवपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।
प्राणी उद्यान प्रदर्शनीमा राख्ने :नेपालमा जावलाखेलस्थित केन्द्रीय चिडियाखानाबाहेक नयाँं स्थानहरू राष्ट्रिय प्राणी उद्यान सूर्यविनायक, भक्तपुर, पोखरा प्राणी उद्यान कास्की, भानुभक्त प्राणी उद्यान तनहुँ, वनवाटिका उद्यान तिलोत्तमा रुपन्देही, तालतलैया इटहरी, सुनसरी, हेटौँडा, झापा, नेपालगञ्जलगायतका प्रमुख सहरमा मझौला स्तरका प्राणी उद्यान स्थापना गर्ने पहल भइरहेको छ। सङ्घीय सरकारले प्रत्येक प्रदेशमा एक/एकवटा प्राणी उद्यानको नीति लिएको छ। यस नीतिअन्तर्गत बाघ संरक्षण गर्न प्राणी उद्यानहरूमा प्रदर्शनीमा राख्न सकिन्छ। यसबाहेक विदेशी प्राणी उद्यानमा जनावर साटासाट कार्यक्रममार्फत पनि सङ्ख्या घटाउन सहयोग पुग्छ। यी प्राणी उद्यानमा कार्यविधि बनाई बाघ व्यवस्थापन गर्न सकिन्छ।
बाघ उद्यान स्थापना गर्ने : देशभित्र बाघको मात्र दैनिक गतिविधि अवलोकन गर्न सक्ने किसिमको बाघ उद्यान निर्माण गरी व्यवस्थापन गर्न सकिन्छ। बाघलाई प्राकृतिक वासस्थानबाट निकाली बाघ उद्यानमा राख्ने गर्नुपर्छ । यस पक्षलाई ध्यानमा राखी निश्चित सङ्ख्या खासगरी चितवन र बर्दिया वा बाँके निकुञ्जबाट एक पटकलाई ठूलो
सङ्ख्यामा बाघ सङ्कलन योजना तयार गर्नुपर्छ। यसबाहेक मानव–बाघ द्वन्द्वजस्ता समस्याग्रस्त बाघलाई सङ्कलन गरी प्रदर्शनीमा राख्न सकिन्छ। यस योजनाले नेपालीमा बढ्दो मनोरञ्जन प्रवृत्तिलाई सम्बोधन भई आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ। अर्कातर्फ उद्यानले स्थानीय रोजगारी सिर्जना भई अर्थतन्त्रमा टेवा पुग्छ। प्राणी उद्यान प्रवेश शुल्कले बाघ संरक्षण तथा बाघ उद्यान व्यवस्थापनमा प्रभावकारी आम्दानी स्रोत बन्छ। यस उद्यानले वंशाणु संरक्षण, वन्यजन्तु प्राविधिक उत्पादन तथा संरक्षण शिक्षा, प्रजनन केन्द्रजस्ता गतिविधि एकीकृत रूपमा सञ्चालन गर्न सकिन्छ। यस बाघ उद्यानमा उत्पादित दोस्रो पुस्ताको बाघ बिक्री गर्न सकिन्छ। दोस्रो पुस्ताको बाघ बिक्रीका लागि साइटिसको प्रावधान बाधक बन्दैनन्। बिक्रीबाट प्राप्त रकमलाई बाघ संरक्षणमा लगानी गर्ने सुश्चितता गर्नु आवश्यक छ।
मानव वन्यजन्तु द्वन्द्वको धेरै कारकमध्ये बाघ प्रजाति एक हो। समुदायको सहकार्यमा चोरीसिकारी पूर्ण रूपमा नियन्त्रणका कारण बाघको सङ्ख्या बढेको हो। बाघको वासस्थान, सङ्ख्या, उमेरलगायतका अन्य पक्षको अध्ययन गरी प्रत्येक वर्ष निश्चित सङ्ख्यामा बाघलाई प्राकृतिक वासस्थानबाट निकाल्नु उचित हुने देखिन्छ। वन्यजन्तु संरक्षणको क्षेत्रमा विगत ५० वर्षभन्दा बढी समयमा गरेको लगानीलाई समीक्षा गर्ने समय भएको छ।