विश्वविख्यात रुसी साहित्यकार लियो टोल्सटोयले एक पटक भनेका रहेछन्, ‘जीवनको सौन्दर्य घाम र छायाबाट बनेको हुन्छ ।’ टोल्सटोयको कथनलाई मनन गर्दा निस्कने सर्वजनीन निष्कर्ष हो– जीवनको क्यान्भास घामछायाबाटै पोतिएका हुन्छन् अनि जीवनलाई सुन्दर तुल्याउने आधारभूत तथ्य पनि सुखदुःख रूपी घामछाया नै हुन् । मानव जीवन साँचो अर्थमा घामछायामय छ ।
हरेक बिहान झलमलिने उदयाचलको आलोक र साँझपख अस्ताचलमा पोखिने अन्धकारमय परिवेशले हरेक मनमस्तिष्कलाई घामछायाको साँचो अनुभूतिमा डुबाइदिन्छ । जगजाहेर नै छ, हाम्रो साझा घर पृथ्वीका दुई गोलाद्र्धमध्ये एउटामा घाम र अर्कोमा छायाको राज छ । सिङ्गो पृथ्वी कहिल्यै पनि घामले एकैचोटि झलमल हुन पाएको छैन । यसले पनि मानव जीवन घामछायायुक्त छ भन्ने तथ्य स्मरण गराउँछ ।
सर्वविदितै छ, लोकसाहित्यको विम्ब–विधानले घामलाई श्रीवृद्धि वा सकारात्मक पक्ष र छायालाई पतन वा नकारात्मक पक्षको रूपमा चित्रण गर्छ । हाँसो–आँसु, मिलन–विछोड, आशा–निराशा, तृष्णा–वितृष्णा, सुवचन–दुर्वचन, प्रेम–घृणा, सम्पन्नता–विपन्नता, आग्रह–पूर्वाग्रह, नाम–गुमनाम, मान–अपमान, जीत–हार, आकर्षण–विकर्षण, राग–विराग, क्षमाशीलता–बदलाभाव– लाग्छ, यी सबै घामछायाका प्रतीकात्मक संस्करण हुन् । सफलता, उपलब्धि, धनार्जन, उपाधि, मान–सम्मानजस्ता श्रीवृद्धिले मनमा खुसीको अरुणोदय गराउँछ । मन प्रफुल्लित हुन्छ । यसका विपरीत जीवनको मोडहरूमा देखापर्ने सास्ती–हैरानी, असफलता एवं ऋणात्मक उपाधिबाट छायाग्रस्त परिवेश तयार हुन्छ, जसबाट मनोलोकमा निराशाको घना बादल मडारिन्छ । जिन्दगीको गणितमा देखापर्ने यी तमाम जोड–घटाउले जीवनको एउटा मूल पक्ष घाम र अर्को मूल पक्ष छाया हो भन्ने तथ्यलाई राम्रैसँग स्मरण गराउँछ ।
समयको सतत् प्रवाहमा घुमीघुमी आउने अनि ओझेल पर्ने याम, बार, औँसी–पुर्ने, हिउँद–वर्षात्, चाडबाड आदिले अव्यक्त रूपमै घामछायाका अनगिन्ती कहानी कथिरहेका छन् । लाग्छ, यिनीहरूले नबोलेरै घामछायाका विम्ब–विधानको बेलिबिस्तार लगाइरहेका छन् । अनि मूकभाषामा घामछायाका उज्याला र अँध्यारा आयामहरूबारे शास्त्रार्थ गरिरहेका छन् ।
मानिस प्रणयशील सामाजिक प्राणी भएकाले प्रणयभाव उसको जीवनधारा हो । मानिसको प्रणशीलतामा थुप्रै चुम्बकीय सम्बन्धहरू अङ्कुराउँछन्–मुर्झाउँछन् । सम्बन्धहरूको क्षितिजमा चोखो मायाप्रेम, रतिरागात्मक भाव, मित्रतापूर्ण सम्बन्ध र अन्य सामीप्यभावका बेहिसाब घामहरू उदाउँछन–अस्ताउँछन् । गतिशील मानवीय सम्बन्धमा प्रणयभावका अनेकन् घामछायाहरू आउँछन्–जान्छन् ।
हाम्रो साझा घर पृथ्वीका दुई गोलाद्र्धमध्ये एउटामा घाम र अर्कोमा छायाको राज छ । सिङ्गो पृथ्वी कहिल्यै पनि घामले एकैचोटि झलमल हुन पाएको छैन । यसले पनि मानव जीवन घामछायायुक्त छ भन्ने तथ्य स्मरण गराउँछ ।
यसै प्रसङ्गमा पुराना साहित्यकार हृदयचन्द्रसिंह प्रधानले आफ्नी नवविवाहिता श्रीमतीसँग भोग्नुपरेको क्षणिक वियोगबारे खुलेर चर्चा गर्नुभएको छ । सांस्कृतिक रीतअनुसार मधुमासकै बेला उहाँकी श्रीमती माइत जानुपरेछ । त्यसबेला आफूभित्र निराशाको छायाले छाएको भावसंवेगबारे आफ्नो कृति ‘कुरा साँचो हो’ मा प्रधान लेख्नुहुन्छ :
‘(श्रीमती माइत जाँदा) म अँध्यारोमा गुज्रिएको थिएँ । त्यसै ताक... लक्ष्मीपूजाको दिन पनि आइपुग्यो । दीपावलीको दीपज्योतिले मेरो हृदयजगत् कत्ति पनि उज्यालो भएन । उनीसितको वियोगको कारण लक्ष्मीपूजा झन् साह्रै मलाई खट्क्यो’ (२०६३, पृ.२४) ।
यति मात्र होइन, प्रधानले श्रीमतीसित क्षणिक विछोड सहन नसकेर तत्कालीन ‘उद्योग’ मासिक पत्रिकामा ‘लक्ष्मीपूजा’ शीर्षकमा चिठी नै छपाएको उल्लेख गर्नुभएको छ (२०६३, पृ.२४–२५) । उहाँ त साहित्यकार भएकाले जीवनको घामछायाबारे लेख्नुभयो । असङ्ख्य निरक्षरहरूले त घामछायाका यस्ता संवेगहरू कसैले नदेख्ने गरी हृदयमा मात्र लेखे होलान्, जसको यथार्थ लेखाजोखा कुनै श्रेस्तेदारको खातामा पाउन सकिँदैन ।यसबाहेक मानवीय सम्बन्धमा घामछायाका अनन्त दृष्टान्तहरू भेटिन्छन् । कुल–कटुम्ब, आफन्तजन र साथीसङ्गीसँगको सम्बन्धमा जीवनका प्रिय–अप्रिय झाँकीहरू देखपर्छन् । यस्ता सम्बन्धले सकारात्मक मोड लिँदा अनेकन् सुवासिलो पालुवाहरू पलाउँछन् । यससँगै सुवासमय वातावरण बन्छ तर कुनै कारणले ‘केमेस्ट्री’ गडबडिँदा सम्बन्धका रेसा भित्रभित्रै कुहिन पुग्छन् फर्सीझैँ, जसबाट हिजोको सुवासिलो–सुकिलो सम्बन्ध कालान्तरमा दुर्गन्धित वस्तु बन्नपुग्छ । प्रकृतिनिर्मित परिवेशमा मानवनिर्मित सम्बन्धहरूको सङ्घटन र विघटनमा हिसाब सधैँजसो गोलमाल बन्न पुग्छ । अन्ततः वासलात असन्तुलित हुन पुग्छ र सम्बन्धहरू बेरुजुमा टुङ्गिन्छन् । सूक्ष्म रूपमा हेर्ने हो यस्ता जटिल र समस्याग्रस्त मानवीय सम्बन्धमा घामछायाका पर्याप्त झलकहरू भेटिन्छन् ।
राजनेताहरू घामछायाको पर्याय हुन् । राजनेताको रङ्गमञ्चको रूपमा रहेका सत्ता र शक्ति पनि घामछायाकै पर्याय हुन् । सत्ता र शक्तिमा रहने असीम तिर्सना हुँदाहुँदै पनि सबै राजनेता सधैँभरि सत्तासीन हुन सक्दैनन् । ईश्वीको बीसौँ शताब्दीका विश्वचर्चित केही नेताको कुरा गर्र्दा जर्मनीका हिटलर, फिलिपिन्सका मार्कोस, इन्डोनेसियाका सुकार्नो, युगाण्डाका इदी इमिनको नाम आउँछ । यी शक्तिशाली शासकहरूका सत्ता र शक्ति पनि एक दिन क्षीण भएरै गए । सधैँभरि त उनीहरू पनि सत्ता र शक्तिमा रहन पाएनन् । उनीहरूका घाम अस्तायो । छाया सुरु भयो । अरूका घाम उदाए । राजनीतिक वृत्तमा घामछायाका अनन्त लहर चलिरहेको छ र चलिरहनेछ ।
पद र प्रतिष्ठा पनि घामछाया नै हो । उच्च ओहोदामा रहेर सुख र सुविधामा राइँदाइँ गरिरहँदा उन्माद उत्पन्न हुन्छ जसले सम्बन्धित व्यक्तिमा घमण्ड बढाइदिन्छ । पद र प्रतिष्ठा घमण्डको शिखरमा पुग्ने कतिपय अबुझ जीवन सधैँभरि उत्सवमय वातावरणमा बित्छ भन्ठान्छन् । पद र प्रतिष्ठा क्षणिक हुन् भन्ने बुझ्दैनन् । पद र प्रतिष्ठाको घमण्डमा फुलेल भइरहनेहरूले आफ्ना सम्बन्धको जालो र व्यक्तित्वको आयतन समुद्रजस्तै विस्तीर्ण भएको ठान्छन् ।
यस्तो बेलामा सबैलाई फुच्चे देख्छन् । अरूलाई लिलिपुटका लघुमानव ठान्छन् । आफूलाई शक्तिकेन्द्र ठान्छन् तर दुनियाँ एकनासले चल्दैन । हरेक यात्राको अन्त्य हुन्छ । पर्वतको शिखरमा पुग्नेहरू एकदिन लुुरुलुरु फेदीतिर झरेभैmँ जब पदबाट खुस्कन्छन्, तब उनीहरूले आपैmँलाई दयनीय अवस्थामा पाउँछन् । आखिर जीवन घामछाया न हो ।
जीवन र जगत्लाई रैथाने आँखाबाट नियाल्नेहरूमा अमेरिकी आदिवासी समुदायको नाम अग्रपङ्क्तिमा आउँछ । घामछायायुक्त जीवन भोगाइबारे उनीहरूका कथन मननयोग्य हुन्छन् । जीवन–अन्वेषी तिनै अमेरिकी आदिवासी समुदायबीच एउटा कथन बहुचर्चित छ–‘दिन र रात सँगै रहन सक्दैनन् ।’ सहज र सामान्यजस्तो लाग्ने यस अभिव्यक्तिले इङ्गित गर्न खोजेको मर्म गहिरो छ । मानव जीवनमा सुख हाजिर हुँदा दु:ख अनुपस्थित रहन्छ र दुःख हाजिर हुँदा सुख अनुपस्थित रहन्छ । सुख र दुःखबीच चलिरहने लुकामारी नै जीवनको खेल हो, जीवनको रीत हो र यो नै जीवनको वास्तविकता हो । कथनको चुरो यही हो ।
हुन पनि जीवन कहाँ एकनास छ र ? कहिले घाम त कहिले छाया । कहिले सुख त कहिले दुःख । कहिले खुसीयुक्त हाँसोको लहर त कहिले कष्टयुक्त सुस्केरा । आलोपालो आइरहने यी घामछायायुक्त परिस्थितिको गठजोड नै हाम्रो जिन्दगी रहेछ । यसै सन्दर्भमा विश्वचर्चित दार्शनिक तथा साहित्यकार अल्बर्ट कामुको भनाइ सान्दर्भिक हुन आउँछ, ‘छाया बिनाको घाम हुँदैन । रातलार्ई चिन्न पनि छाया आवश्यक छ ।’