• १३ असोज २०८१, आइतबार

बागलुङ कारागारमा पुस्तकालय

blog

बागलुङ समाचारदाता

बागलुङ, साउन १४ गते । जिल्ला कारागार बागलुङमा पुस्तकालय स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा ‘कारागारमा पुस्तकालय’ स्थापना गरिएको हो ।  सो पुस्तकालयको गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उद्घाटन गर्नुभएको हो । उहाँले कैदीबन्दीको ज्ञान, सीपको विकास र मानसिकता स्वस्थ तथा परिवर्तनका लागि पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।  राज्यले कैदीबन्दीलाई दिनुपर्ने सुविधा सामाजिक सङ्घसंस्थाले उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै उहाँले क्षणिक आवेग, क्रोध वा परिस्थितिजन्य घटनाले जेलजीवन बिताएका नागरिकको मनोवृत्तिमा सुधार जरुरी रहेको बताउनुभयो । 

जेलपछिको बाँकी जीवन सम्मानित बनाउन पुस्तकहरू उपयोगी हुने मन्त्री कँडेलको भनाइ थियो । जिल्ला कारागारमा हाल क्षमताभन्दा बढी कैदीबन्दी छन् । पुरुष ५० जनाको क्षमता रहेको कारागारमा १६२ पुरुष, नौ जना महिला र दुई जना नाबालक छन् ।

महिला शाखामा क्षमताअनुरूप नै कैदी बन्दी भए पनि पुरुष शाखामा तीन गुणा बढी कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खाना, बस्न, सुत्न तथा अन्य व्यवस्थापनको समस्या भएको कारागार प्रमुख डिलबहादुर केसी बताउनुहुन्छ । 

सो कारागारको मुख्य समस्याबारे जानकारी भएको उल्लेख गर्दै मन्त्री कँडेलले मन्त्रिपरिषद् बैठकमा समाधानबारे छलफल गर्ने बताउनुभयो । पुस्तकालयको फर्निचर तयार तथा पुस्तक खरिदमा करिब तीन लाख ८५ हजार रुपियाँ खर्च भएको अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।

कैदीबन्दीको मानसिकता परिवर्तन गरी सामाजिकीकरणमा सहयोग पु¥याउने उद्देश्यले पुस्तकालय स्थापना गरेको उहाँले स्पष्ट पार्नुभयो । पुस्तकालयमा जीवन सङ्घर्ष, साहित्य, जेलजीवन, राजनीतिक विचार, सिद्धान्त, व्यावसायिक सीप, उत्प्रेरणा, सकारात्मक सोचसम्बन्धी 

विविध विषयमा लेखिएका ६५८ थान पुस्तक राखिएका छन् ।