लीलाधर वली
घोराही, वैशाख २७ गते । लमही नगरपालिका–८ सतबरियाका किसान पछिल्लो समय हाइब्रिड मकैको बिउ उत्पादनतर्फ आकर्षित भएका छन् । बेमौसमी समयमा हाइब्रिड मकैको बिउ उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि सतबरिया, बिचकागाउँलगायत क्षेत्रमा किसानले व्यावसायिक रूपमा मकैको बिउ उत्पादन गर्दै आएका छन् ।
लमही नगरपालिका–८ बिचगाउँ निवासी किसान हरिराम चौधरीले दुई बिघा जग्गामा हाइब्रिड मकैको बिउ उत्पादन गर्दै आउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि हिउँदमा बाँझो रहने जग्गामा मकै खेती सुरु गर्नुभएका चौधरीले पछिल्ला दुई वर्षदेखि हाइब्रिड ‘रामपुर कम्पोजिट’ मकैको बिउ उत्पादन गर्दै आउनुभएको हो ।
मकैको बिउ उत्पादनबाट राम्रो आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । गत वर्ष दुई बिघा जग्गाबाट ३३ क्विन्टलभन्दा बढी बिउ मकै उत्पादन गर्नुभएका चौधरीले प्रतिक्विन्टल १४ हजार पाँच सय रुपियाँका दरले बिक्री गरी चार लाख ८० हजार रुपियाँ आम्दानी गर्नुभएको थियो । यसअघि सोही जग्गामा साधारण मकै खेती गर्दा दुई लाख ५० हजार रुपियाँसम्म आम्दानी हुने गरेकामा अहिले बिउ उत्पादनबाट झन्डै दोब्बर आम्दानी हुन थालेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार हिउँदमा उत्पादन गरिएको मकैको कोसा र दाना गुणस्तरीय हुने भएकाले बिक्रीमा समस्या नहुने र मूल्य पनि राम्रो पाइने गरेको छ । “हिउँदमा मकै खेतीसँगै हाइब्रिड मकैको बिउ उत्पादन गर्न सके राम्रो फाइदा लिन सकिन्छ,” चौधरीले भन्नुभयो ।
हरिराम चौधरीजस्तै सोही क्षेत्रका अर्का किसान किस्मत चौधरीले पनि हाइब्रिड मकैको बिउ उत्पादन गर्दै आउनुभएको छ । २०७४ सालदेखि हिउँदे मकै खेती सुरु गर्नुभएका उहाँले पछिल्ला दुई वर्षदेखि ‘रामपुर कम्पोजिट’ मकैको बिउ उत्पादनमा जोड दिनुभएको हो ।
साधारण मकैखेतीभन्दा बिउ उत्पादनबाट बढी आम्दानी हुने उहाँको अनुभव छ । दश कट्ठा जग्गामा साधारण मकै खेती गर्दा ४० देखि ५० हजार रुपियाँसम्म आम्दानी हुने गरे पनि बिउ उत्पादनमा लागेपछि ८० हजार रुपियाँसम्म आम्दानी हुन थालेको उहाँले बताउनुभयो ।
हाइब्रिड मकैको बिउ उत्पादन गर्दा सियान सिड सर्भिस सेन्टरलगायत संस्थाले गाउँमै खरिद गर्ने भएकाले बिक्रीमा समस्या नभएको किसानहरू बताउँछन् ।
सियान सिड सर्भिस सेन्टरका बाली प्रजनक विशाल पोख्रेलका अनुसार लमही नगरपालिका–८ को सतबरिया र बिचकागाउँ क्षेत्रमा किसानले बिउ उत्पादनका लागि हाइब्रिड मकै खेती गर्दै आएका छन् । किसानहरूले उन्नत वर्णशंकर, रामपुर कम्पोजिट, अरुण–२ लगायतका मकैका बिउ उत्पादन गरिरहेका छन् । करिब २३ देखि २५ हेक्टर क्षेत्रफलमा किसानले बिउ उत्पादनका लागि मकै खेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।
बिउबाहेकको मकै किसानहरूले सतबरियास्थित दाना उद्योग तथा स्थानीय व्यापारीलाई बिक्री गर्ने गरेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमहीका प्रमुख कोमल शाहीले बताउनुभयो ।
कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत देउखुरी क्षेत्रमा ५९५ हेक्टरमा हिउँदे र एक हजार ५४६ हेक्टरमा बसन्ते मकै खेती भइरहेको छ । किसानलाई बेमौसमी मकै खेती तथा यान्त्रिकीकरणमा जोड दिन कार्यालयले विभिन्न कार्यक्रममार्फत प्राविधिक सहयोग, बिउ तथा आवश्यक सामग्री उपलब्ध गराउँदै आएको प्रमुख शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिउ, यान्त्रिकीकरण र प्राविधिक सहयोगका कारण किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित भएका छन् । कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत देउखुरीका लमहीसहित राप्ती, गढवा र राजपुर गाउँपालिकाका करिब ७९९ किसान मकै खेतीमा आबद्ध छन् ।