• १६ भदौ २०८१, आइतबार

युक्रेनबाट खाद्यान्न निर्यात हुँदै, खाद्य अभाव घट्ने

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन १३ गते । युक्रेनबाट खाद्यान्न आपूर्ति भएपछि विश्वमा खाद्यान्न अभावको समस्या केही हदसम्म समाधान हुने संयुक्त राष्ट्र सङ्घले बताएको छ । खाद्यान्न बोकेको पानीजहाजलाई पहिलो खेप युक्रेनी बन्दगाह (हाल रुसी कब्जा)बाट सुरक्षित रुपमा गन्तव्यतर्फ पठाउन सबै सम्बद्ध पक्षले तयारी थालेका छन् ।

एक हप्ता अघि गत शुक्रबार टर्कीको राजधानी इस्तानबुलमा भएको रुस, युक्रेन, टर्की र संयुक्त राष्ट्र सङ्घसहित चौपक्षीय सहमतिअनुसार युक्रेनी खाद्यान्नको आपूर्ति सहज हुँदैछ ।

संयुक्त राष्ट्र सङ्घका एड प्रमुख मार्टिन ग्रिफिथ्सका अनुसार स्थानीय समयअनुसार शुक्रबार पहिलो खेप निर्यात गर्न तयारी भइरहेको अलजजिराले उल्लेख गरेको छ ।

भण्डारणमा रहेको दुई करोड टन खाद्यान्न जसको मूल्य १० अर्ब अमेरिकी डलर पर्छ, सो खाद्यान्न युक्रेनबाट आपूर्ति हुने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

केही महिनाअघिदेखि रुसले युक्रेनमाथि भीषण आक्रमण गरेपछि दुई पक्षको युद्धका कारण आपूर्ति बन्द भएपछि विश्वमा खाद्यान्न अभाव भएको हो । दक्षिण पूर्वी युक्रेनी भूभागलाई रुसी सेनाले पूर्ण रुपमा कब्जा गरेपछि कालो समुद्रमाथिको युक्रेनी पहुँच अन्त्य भएपछि युक्रेन विश्वका अन्य मुलुकमा खाद्यान्न पठाउन अमसर्थ  थियो ।

रुसी सेनाको नियन्त्रणले युरोप, अफ्रिका र एसियामा खाद्यान्न अभाव भएपछि चरम रुपमा मूल्यवृद्धि भएको छ ।


अन्न उत्पादनमा युक्रेन 

अघिल्लो वर्ष युक्रेनमा उत्पादितमध्ये दुई करोड टन खाद्यान्य विश्व बजारका लागि भण्डारण गरिएको थियो । यस्को मूल्य १० अर्ब अमेरिकी डलर पर्न जान्छ । यो वर्षमा उत्पादन हुने अन्नसहित युक्रेनमा साढे ७ करोड टन भण्डारण हुने देखिन्छ । तर यो वर्ष युद्धको कारणले उत्पादनमा केही कमी आउने बिबिसीले उल्लेख गरेको छ ।

करिब ८.६ करोड टनको हाराहारीमा उत्पादित हुने अन्न यो वर्ष ३० प्रतिशतले कटौती हुने छथाम हाउसका खाद्य सुरक्षा विज्ञ लौरा वेलेस्लेले जानकारी दिनुभयो ।


अन्य देशमा पर्ने प्रभाव

विश्वमा चौथौ खाद्यान्न निर्यात गर्ने देशको रुपमा युक्रेन पर्दछ । युक्रेनले ४२ प्रतिशत सूर्यमुखी तेल, १६ प्रतिशत मकै, १० प्रतिशत जौ र  ९ प्रतिशत गहुँ निर्यात गर्दछ ।

विश्वको सबैभन्दा ठूलो अन्न भण्डारको रुपमा रहेको रुस र युक्रेनले मात्र अफ्रिकाको ४० प्रतिशत गहुँ निर्यात गरेको अफ्रिकन डेभलप्मेन्ट बैंकले बताएको छ ।

तर युद्धका कारण अफ्रिकामा मात्रै ३ करोड टन अन्न अभाव भएको बैंकले जानकारी दिएको छ । फलस्वरुप त्यहाँ ४० प्रतिशतले अन्नमा मूल्यवृद्धि भएको छ । नाइजेरियामा पास्ता र पाउरोटीमा ५० प्रतिशतले मूल्यवृद्धि भएको छ । –उपेश महर्जन (बिबिसी, अलजजिरा)