काठमाडौं, साउन १२ गते । राष्ट्रियसभा बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो । गृहमन्त्री खाणले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती)ले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेश गर्नुभएको छ ।
बैठकमा उहाँले सो प्रतिवेदन पेश गर्दै समयमै सहज र सरलरूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको विषय प्रतिवेदनमा उल्लेख गरिएको जानकारी गराउनुभयो । नदीजन्य निर्माण सामग्री दस्तुर लिएर मात्र उपलब्ध गराउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
ठेक्का व्यवस्थापनमा रहेका कमी–कमजोरीका कारण पनि आयोजना निर्माणमा ढिलाइ भएको भन्दै सभापति रावलले बहुवर्षीय ठेक्कामा सहमति लिने, सहजीकरण गर्नुपर्ने र सबैमा इबिडिङ लागू गर्नुपर्नेमा जोड दिनुभयो । निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्ने कुरामा ध्यान दिइनुपर्ने, निर्धारित समयभन्दा अघि आयोजना सम्पन्न गर्ने कम्पनीलाई प्रोत्साहन र ढिलाइ गर्नेलाई जरिवाना गर्ने व्यवस्था व्यावहारिकरुपमै कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि दक्ष र अनुभवी जनशक्ति खटाउनुपर्नेबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनामा कार्यरत जनशक्तिलाई बीच–बीचमा तालिम दिइनुपर्ने विशेष कारणबाहेक आयोजना सम्पन्न नहुँदासम्म आयोजना प्रमुखको सरुवा गर्न नहुने र आयोजना प्रमुखसँग कार्यसम्पादनका लागि करार गर्ने व्यवस्थालाई कार्यान्वयन गरिनुपर्नेमा पनि सभापति रावलले जोड दिनुभयो ।