• १५ असार २०८१, शनिबार

ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती

blog

पहिरोले लेकम जोड्ने ऐरीछाना–धनथला सडक खण्डको यातायात सेवा बन्द, यात्रुलाई सास्ती । तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, साउन ११ गते । निरन्तरको वर्षाका कारण दार्चुलाका ग्रामीण सडक अवरुद्ध भएका छन् । ग्रामीण सडकमा पहिरो खसेर, भासिएर तथा भत्किएर अवरुद्ध भएपछि स्थानीयहरु सास्ती भोग्न बाध्य भएका हुन् । महाकाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खसेर दैनिक यातायात सेवा प्रभावित हुनेगरेको छ । ग्रामीण सडकमा यातायातका साधनहरु चल्नै छाडेको यातायात व्यवसायी गणेश धामीले जानकारी दिनुभयो । 

लेकम जोड्ने ऐरीछाना धनथला सडक र गोकुलेश्वर–रिठाचौपाता–लाली सडकमा बाढी र पहिरोका कारण यातायात सेवा ठप्प भएको छ । स्थानीय एबम् ट्याक्टर व्यवसायी रामसिंह खत्रीले भन्नुभयो, “गाडी गुडाउन सकिने अवस्था नभएपछि निर्माण र खाद्यान्न सामग्री ढुवानी गर्न सकिएको छैन् । यातायात सेवा ठप्प भएपछि यात्रुलाई आवत जावतमा समस्या हुनेगरेको छ ।” 

दार्चुलाको दोस्रो मुख्य सडकमार्ग खलंगा–दल्लेख–खार–देथला–गोकुलेश्वर सडकको मालबेला क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएपछि जोखिम मोलेर आवतजावत गर्नुपरेको स्थानीयको भनाइ छ । वर्षाको समयमा गाडी पाउनु त सपना मात्रै हो, नौगाडका स्थानीय सन्तोष ठगुन्नाले भन्नुभयो, “ठाउँ ठाउँमा पहिरो खसेर पैदल हिड्न जोखिमपूर्ण छ ।”

जोखिम मोलेर गाडी चलाए पनि गन्तव्यसम्म नपुग्ने अवस्था भएको सवारीचालक भरत ठगुन्नाले बताउनुभयो । गाउँ जाने सडक बन्द भएपछि अहिले गाडी घरमा थन्काइएको उहाँको भनाइ छ । साउन लागेसँगै दार्चुलाका अधिकांश ग्रामीण सडकहरु बन्द छन् । पछिल्ला दिन गाउँसम्म यातायात नपुग्दा खाद्यान्न बोक्नुपर्ने र यात्रुलाई पनि यात्रा गर्न समस्या भइरहेको लेकम गाउँपालिका –५ का भरत बोहराले बताउनुभयो । 

नौगाड गाउँपालिकाको मुख्य सडक, मार्मा हुँदै अपि हिमालको मकरीगाड जोड्ने सडक, समेत वर्षाका कारण अवरुद्ध भएको छ । ग्रामीण सडक अवरुद्ध हुँदा लेकम, मार्मा, अपि हिमाल, नौगाड, व्यास र दुहु गाउँपालिकाका स्थानीयलाई सास्ती खेप्नुपरेको छ ।

दार्चुलामा महाकाली राजमार्ग बाहेक सबैजसो ग्रामीण सडक कच्ची छन् । पहिरो नखसेको ठाउँमा समेत कच्ची सडकहरू हिलाम्य भएर सवारीसाधन सञ्चालनमा समस्या भएको चालक केशव ठगुन्नाले बताउनुभयो । बिरामीलाई गाउँबाट बजारसम्म स्टेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता सिर्जना भएको लेकमका स्थानीय दिपक बिष्टले बताउनुभयो । 

पहिरोमा मजदुरको मृत्यु

दार्चुलाको सीमावर्ती भारतीय पिथौरागढ जिल्लाको धारचुला तहसिल अन्तर्गतको रणनीतिक महत्वको धारचुला–मानसरोवर सडकखण्डमा मजदुरी गर्ने एक नेपाली मजदुरको पहिरोमा पुरिएर मृत्यु भएको छ । सो सडकखण्डको लामारी झरना नजिक क्षेत्रमा पहिरो परी मंगलबार नेपाली मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा डडेल्धुरा आलिताल गाउँपालिका– ५ का ४५ वर्षीय नरबहादुर रोक्कामगर हुन् । उहाँसँगै मजदुरी गरिरहेका दुहु गाउँपालिका –२ का ३८ वर्षीय पदमसिं कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते कुँवरको भारतको पिथौढागढ  अस्पतालमा उपचार भइरहेको उहाँसँगै काम गर्ने मजदुर तिरविर घर्तीले बताउनुभयो । 

बालिका मृत फेला 

दार्चुलाको महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा बेपत्ता हुनु भएकी बालिका मृत अवस्थामा फेला पर्नुभएको छ । घाँस काटेर घर फर्कनेक्रममा खोलाले बगाउँदा बेपत्ता हुनु भएका महाकाली नगरपालिका –३ का १४ वर्षीया कविता बडाल बगेको ठाउँबाट करिब एक किलोमिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले जानकारी दिनुभयो ।