• १ जेठ २०८१, मङ्गलबार

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित

blog

काठमाडौँ, साउन ११ गते । प्रतिनिधि सभाले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गरेको छ। राष्ट्रिय सभामा उत्पति भएको विधेयकको दफावार छलफलसमेत सदनमै गरेर विधेयक पारित गरिएको हो। अब विधेयक पारितको सन्देश राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले प्रतिनिधि सभाले गरेको संशोधनलाई स्वीकार गरेमा प्रमाणीकरणको प्रक्रिया प्रारम्भ हुनेछ। 

विधेयकको छलफलमा उठेका प्रश्नमा जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राज्ञिक र साङ्गठानिक हिसाबले विधेयक उपयुक्त रहेको बताउनुभयो। आन्तरिकबाहेक बाह्य विद्यार्थीलाई पनि आकर्षण गर्ने हिसाबले विश्वविद्यालयको आवश्यकता रहेको उहाँले बताउनुभयो। त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्स र अन्यलाई विशिष्टकृत बनाउने उद्देश्यअनुसार विधेयक ल्याइएको पौडेलको भनाइ छ । 

यस्तै बैठकले राष्ट्रिय सभामा उत्पति भएको तथ्याङ्क विधेयकलाई संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत गरेको छ। विधेयकमा अब सांसदहरूले संशोधनको समय पाउने छन्। संशोधनसहितको विधेयक पुनः प्रतिनिधि सभामा लगिनेछ ।  

यसैगरी बैठकले साउन ८ गतेको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि रोकिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकार गरेको हो। गणपूरक सङ्ख्या नपुगेपछि आइतबारको बैठकबाट उक्त कार्यसूची हटाइएको थियो ।