• ७ जेठ २०८१, सोमबार

एसिड हान्ने भन्दै भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १० गते । सामाजिक सञ्जालमा एसिड हान्ने भन्दै भिडियो अपलोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको साबिक देउराउली गाविस-४ घर भई हाल नवलपरासीको (बर्दाघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाल  छन् । 

प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सहयोगमा व्यूरोबाट खटेको प्रहरीको टोलीले साउन ९ गते कावसोती नवलपरासीबाट भुसाललाई पक्राउ गरेको हो ।भुसालले बाटोमा हिडिरहेकी एक महिलासँग भएको पैसा, मोबाइल, गहना नदिएमा एसिड हान्दिन्छु भन्दै अमानवीय व्यवहार गरेका थिए । भुसाल ‘बदमास केटा नामक यू ट्यूव च्यानल’ का सञ्चालक हुन् । 

भुसालले बाटोमा हिडिरहेकी एक महिलालाई “साथमा भएको पैसा, मोबाइल र गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु” भनेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एसिड जस्तो अति सम्वेदनसिल पदार्थ प्रयोग गर्छु भन्दै समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाएर अपलोड गरेको आरोपमा प्रहरीले भुसाललाई पक्राउ गरेको हो । भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भएको छ । 

प्रहरीले जिल्ला अदालत काठमाडौँबाट मंगलबार सात दिनको म्याद थप लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी (उप–निर्देशक) पशुपतिकुमार रायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।