• ३ चैत २०८२, मङ्गलबार

बिल विजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

blog

प्रहरीले नियन्त्रणमा लिएको भारतीय ट्रक । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली 
विराटनगर, चैत ३ गते ।
बिल विजक भन्दा बढी सामान ढुवानी गरी कम मूल्याङ्कन गरेको आशङ्कामा प्रहरीले एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले राजस्व छलेको आशङ्कामा भारतबाट सामान ढुवानी गरी त्याउँदै गरेको ट्रकलाई केही दिनअघि नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ट्रकलाई प्रहरीले थप अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । 
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार विशेष सूचनाका आधारमा उक्त सामान बरामद गरिएको हो ।

विराटनगर महानगरपालिका वडा नं.१८ स्थित आइसिपी सडक खण्डबाट ट्रक नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गर्दा बिल विजकमा उल्लेख भएभन्दा बढी सामान भेटिएको थियो । उक्त ट्रकमा मोटर पार्टस र सोफा सेटहरू बिल विजकमा उल्लेख भएभन्दा बढी परिमाणमा रहेको र सामानको न्यून मूल्याङ्कन समेत गरी भन्सार छल्न खोजिएको पाइएको डिएसपी लामिछानेले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रक र लोड भएको सामान ४५ लाख ६३ हजार ६१८ रुपियाँ बराबरको रहेको जनाएको छ । रीतपूर्वक बरामद गरिएको उक्त सामानसहितको ट्रकलाई आवश्यक कानूनी कारबाहीका लागि सोमबार राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरी पठाइएको मोरङ प्रहरीले जनाएको छ ।