जीवछ यादव
लहान, वैशाख ५ गते । एक वर्ष बिराएर फल्ने आँपमा यसपटक लागेको मञ्जर (फूल)मा ‘मधुवा’ रोगको प्रकोपका कारण टिकुला झर्ने क्रम जारी रहेकाले आँप उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र, सिरहाले जनाएको छ।
ज्ञान केन्द्रका सूचना अधिकृत सुदीप खनालका अनुसार सिरहामा करिब ९,०२५ हेक्टर क्षेत्रफलमा गरिएको आँप खेतीमा यस वर्ष मञ्जरको अवस्था राम्रो रहेकाले उत्पादन उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको थियो। तर मधुवा रोगको प्रकोपका कारण मञ्जर र टिकुला झरेर हाल करिब १० प्रतिशत मात्र फल बाँकी रहेकाले उत्पादन घट्ने देखिएको छ।
“आँपको राजधानी मानिएको सिरहामा गत वर्ष ५९ हजार ८८६ मेट्रिक टन आँप उत्पादन भएको थियो,” उहाँले भन्नुभयो, “यस वर्ष उत्पादन बढ्ने अपेक्षा प्रकोपका कारण निराशामा परिणत भएको छ।” उहाँका अनुसार आगामी वर्षदेखि मञ्जर लाग्नुअघि नै किसानलाई सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
सुख्खा मौसममा आँप राम्रो सप्रिने भए पनि यस वर्ष मञ्जर लाग्ने समयमै वर्षा र अत्यधिक हावाहुरीका कारण समस्या बढेको कृषि शाखा, लहान नगरपालिकाका प्रमुख प्रकाश साह हलुवाइले बताउनुभयो। किसानले ‘इमिडाक्लोप्रिड’ जस्ता औषधि प्रयोग गरे पनि प्रकोप नियन्त्रण गर्न नसकिएको उहाँको भनाइ छ।
आँप उत्पादनमा संलग्न किसानहरू टिकुला झर्ने समस्याले निराश भएका छन्। लहान नगरपालिका–१८ का हृदय महतोले किसानलाई आवश्यक ज्ञान, सीप र रोग नियन्त्रणसम्बन्धी कार्यक्रम पर्याप्त नल्याइएकोमा गुनासो गर्नुभयो। उहाँले धान खेतीको विकल्पका रूपमा आँप खेतीतर्फ आकर्षित किसानहरूलाई यस्तो प्रकोपबाट जोगाउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
आँपमा लाग्ने रोग–प्रकोप नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र सिरहालाई सक्रिय बनाउन र जिल्लाका १७ वटै पालिकाका कृषि शाखालाई जिम्मेवार बनाउन समन्वय भूमिका खेल्ने जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोले बताउनुभयो।