• ५ वैशाख २०८३, शनिबार

पुतलीबजारमा सुँगुर ओसारपसारमा प्रतिबन्ध

blog

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ५ गते ।
पुतलीबजार नगरपालिकाले सुँगुर, बंगुर तथा जंगली बँदेलको ओसारपसारमा प्रतिबन्ध लगाएको छ।

पुतलीबजार नगरपालिका–१४, लामागेमा रहेको एक बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ नामक अति संक्रामक तथा उच्च मृत्युदर भएको रोग पुष्टि भएसँगै ओसारपसारमा रोक लगाइएको हो।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि पुतलीबजार नगरपालिकाबाट सुँगुर तथा बंगुर प्रजातिका जीव र तिनसँग सम्बन्धित सामग्री अन्यत्र ओसारपसार गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त रोग घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेलमा तीव्र रूपमा फैलिने जोखिम भएकाले छोटो समयमै महामारीको रूप लिन सक्ने सम्भावना छ।

उहाँले सबै सरोकारवाला निकाय, कृषक, व्यवसायी तथा सर्वसाधारणलाई प्रतिबन्धको पूर्ण पालना गरी रोग नियन्त्रण तथा रोकथाममा सहयोग गर्न अनुरोध गर्नुभएको छ।