• ६ पुस २०८१, शनिबार

चेस ओलम्पियाड टोलीको विदाइ

blog

चेस ओलम्पियाड टोलीको विदाइ गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन १० गते । भारतको चेन्नईमा जुलाईको २८ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुने ४४औं चेस ओलम्पियाडमा सहभागिता जनाउन लागेको नेपाली टोलीलाई मंगलबार विदाइ गरिएको छ । टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले विदाइ गर्नुभयो । 

चेस ओलम्पियाडमा नेपालबाट पुरुषतर्फ वर्तमान नेशनल च्याम्पियन पुरुषोत्तम चौलागाईंसहित फिडेमास्टरद्वय रुपेश जैसवाल, क्षितीज भण्डारी, विवेक थिङ र मिलन लामाले प्रतिस्पर्धा गर्नुहुनेछ । यसैगरी महिलातर्फ नेशनल च्याम्पियन सुजना लोहनीसहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ती थिङले भाग लिनुहुनेछ । 

सहभागी खेलाडीमध्ये रुपेशले यसअघि २०१२ र २०१८ मा भएको ओलम्पियाड अनुभव बटुल्नुभएको छ । महिला खेलाडी सुजनासँग २०१६ र २०१६ को ओलम्पियाड खेलेको अनुभव छ । यस्तै क्षितिज भण्डारीले २०१६ तथा विवेकले २०१८ को ओलम्पियाड खेल्नुभएको थियो । अन्य खेलाडीका लागि ओलम्पियाड नयाँ अनुभव हुनेछ । 

नेपाल बुद्धिचाल संघले सोमबार र मंगलबार ओलम्पियाडमा भाग लिने खेलाडीका लागि अभिमुखिकरण कार्यक्रम समेत सञ्चालन गरेको थियो । कार्यक्रममा खेलाडीलाई मनोविज्ञान, मोटिभेशन, खेल्ने शैली र प्राविधिक विषयको जानकारी दिईएको थियो । नेपाली टोली बुधबार चेन्नई प्रस्थान गर्नेछ ।