• ६ पुस २०८१, शनिबार

भलिबल संघमा केन्द्रीय निर्वाचनको तयारी

blog

काठमाडौं, साउन १० गते । नेपाल भलिबल संघ केन्द्रीय निर्वाचनको तयारीमा जुटेको छ । नयाँ नेतृत्व चयनका लागि संघको हालै भक्तपुरमा सम्पन्न कार्यसमिति बैठकले भदौ २२ गते केन्द्रीय निर्वाचन गर्ने निर्णय गरेको हो । 

केन्द्रीय निर्वाचनका लागि संघमा आवद्ध ७७ जिल्ला र ६ प्रदेशको निर्वाचन समेत सम्पन्न भईसकेको नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले जानकारी दिनुभयो । यसअघि असार १५ गतेका लागि तोकिएको बागमतीको निर्वाचन भने  विवादका कारण रोकिएको थियो । 

संघले विवाद छानबिन गर्न उपाध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा श्रीधर शर्मा र भीम ओली सदस्य रहेका तीन सदस्यीय छानविन समिति पनि गठन गरेको छ । सोही समितिको प्रतिवेदनका आधारमा बागमतीको नयाँ निर्वाचन हुने बताईएको छ । 

चार बर्षे कार्यकाल सकिएको दुई बर्षपछि हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि अहिले उपाध्यक्ष निरोज मास्केले उम्मेदवारी दिने घोषणा गरेर तयारी समेत सुरु गर्नुभएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग), कोरोना भाइरस र खेलकुदको नयाँ ऐनका कारण संघको निर्वाचन समयमा हुन नसकेको हो ।