• ७ जेठ २०८१, सोमबार

कल सेन्टरबाट चिनियाँ र भारतीयसहित छत्तीस पक्राउ

blog

काठमाडौँ, साउन १० गते  ।  प्रहरीले कल सेन्टरमा छापा मारेर चिनियाँ, भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँको तीनकुनेस्थित सेन्टरमा सोमबार स्काई वल्र्ड सर्भिस सेन्टर नामक कल सेन्टरमा प्रहरीले छापा मारी ३६ जनालाई पक्राउ गरेको हो।

चिनियाँ नागरिकले चलाउँदै आएको उक्त कल सेन्टरबाट साइबर अपराध भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले दिउँसो १ बजे कल सेन्टरमा छापा मारेको थियो। छापा मार्न गएको प्रहरी टोलीलाई सुरुमा त्यहाँका केही महिलाले अवरोध सिर्जना गरेका थिए। अवरोध गर्न खोज्नेलाई नियन्त्रणमा लिएपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीले अनुसन्धानका लागि एक चिनियाँ, दुई भारतीय र ३३ जना नेपालीसहित ३६ जनालाई पक्राउ गरेको जानकारी दिएको छ। 

कल सेन्टरबाट अत्याधुनिक सूचना प्रविधिका माध्यम प्र्रयोग गरी व्यक्तिगत गोपनीयता ह्याकिङ गरी डर–धम्की देखाएर मोलमोलाई गर्ने, समाजमा उच्छृङ्खल गतिविधि  गराउनेजस्ता कार्य गर्दै आएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कल सेन्टरका व्यवस्थापन प्रमुख चिनियाँ नागरिक ४३ वर्षीया हु युहुवा, भारतीय नागरिक २६ वर्षीय मनोज सैनी, १९ वर्षीया नेहा गुप्ता रहेका छन्। त्यसबाहेक पाँच जना नेपाली महिलासहित २८ पुरुष छन्। 

कल सेन्टरको कार्यालयबाट प्रहरीले आठ लाख २९ हजार रुपियाँ, ल्यापटप ३६२ थान, डेस्कटप कम्प्युटर ७४८, डिभिआर १ प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ। प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिबाट थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरी टोलीमा काठमाडौँ प्रहरी, नगर प्रहरी, प्रहरी वृत्त गौशाला र बानेश्वरको प्रहरी वृत्तको संयुक्त टोली खटिएको थियो। गत आइतबार पनि बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको थियो।