• १३ असोज २०८१, आइतबार

कटानको जोखिमले १६ परिवार विस्थापित

blog

अविनाश चौधरी

धनगढी, साउन ९ गते । कैलालीको कैलारी गाउँपालिका –३ स्थित मोहना नदी पारिको बस्ती शिवरत्नपुरका १६ परिवार विस्थापित भएका छन् । बस्तीतर्फ मोहना नदीको कटानका कारण जोखिममा परेपछि ती परिवार सुरक्षित स्थानतर्फ सरेका हुन । 

सो गाउँको सुरक्षाका लागि गत जेठमा २० लाख रुपियाँ लागतमा भौतिक र जैविक तटबन्ध निर्माण गरिएको थियो । तर असारमा आएको बाढीले तटबन्ध नै बगाएपछि उच्च जोखिममा रहेका परिवार विस्थापित भएका हुन् । 

विस्थापित भएकाको विचल्ली परेको छ । विस्थापितहरु अस्थायी टहरा बनाएर बसेका छन् । नदी कटानका कारण विस्थापित भएका परिवारले थुप्रै समस्या भोगिरहेको सो गाउँका स्थानीय सन्तराम चौधरीले बताउनुभयो । ‘यस्तो बर्खामा विस्थापित भएका परिवारको विचल्ली छ’ उहाँले भन्नुभयो । 

चौधरीका अनुसार सुरक्षाका लागि बनाइएको तटबन्ध बगेपछि ९५ घरधुरी रहेको शिवरत्नपुर गाउँ नै कटानको जोखिममा छ । कटान गर्दै नदी बस्तीतर्फ सोझिएको छ । ‘उच्च जोखिममा रहेका परिवार विस्थापित भएर टहरामा बस्दै आएका छन्’, स्थानीय कमल चौधरीले भन्नुभयो ।  

विस्थापितसहित शिवरत्नपुर गाउँवासीले आफूहरुको सुरक्षित र उचित स्थानमा बसोबासको व्यवस्था मिलाउन माग गरेका छन् । हरेक वर्ष डुवान, कटानको समस्या भोग्दैआएको सो गाउँवासी यस पटक कटानको उच्च जोखिममा परेपछि जीउज्यानको सुरक्षाका लागि विस्थापित भएको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताउनुभयो । 

विस्थापितले टहरा निर्माण गरेर अस्थायी बसोबासका लागि गाउँपालिकाले त्रिपालको व्यवस्था गरेको छ । ‘बर्खा जारी रहेकाले कटान नियन्त्रणका लागि तत्कालै तटबन्ध निर्माण गर्न सकिने अवस्था छैन’, अध्यक्ष चौधरीले भन्नुभयो । 

यसैबीच, विस्थापित परिवारको सुदूरपश्चिम प्रदेश संसदीय समितिले सोमबार अनुगमन गरेको छ । समितिका सभापति नेपालु चौधरीको नेतृत्वमा विधायन तथा प्रदेश मामिला समितिले विस्थापितको अनुगमन गरेको हो । 

अनुगमन टोलीमा समितिका विधायन तथा प्रदेश मामिला समितिका सदस्यहरु मालामति राना थारु, पूर्णा जोशी, शान्ति नेपाली, लालबहादुर धामी सहभागी रहनु भएको थियो । यस्तै, प्रदेश सभा सदस्य वीरमान चौधरी, कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीसहित, निवर्तमान जनप्रतिनिधि, सुरक्षाकर्मी पनि टोलीसंगै शिवरत्नपुर पुग्नुभएको थियो ।