विद्यालयको प्राङ्गणमा पुग्दा विद्यार्थी आएर आआफ्ना कक्षाकोठा सफा गरिसकेका थिए । अफिसको चाबी खोलेर सफा गरी सबै सामान यथास्थानमा मिलाएर राखेछन् । पालो बाँडेर विद्यार्थी आफैँले विद्यालयको सरसफाइ गर्ने, घन्टी बजाउने गर्नाले कार्यालय सहयोगीको अभावबोध हुन छाडेको थियो । यो म यहाँ आएदेखि नै बनाएको नियम थियो, जसलाई विद्यार्थीले आज पनि अपनाउँदै आएका छन् । अफिस कोठामा पसेर कुर्चीमा मात्र के बसेकी थिएँ, अगाडिको टेबुलमा रहेको नखोलिएको खाममा नजर पुग्यो । हतार हतार खाम पल्टाएर हेरेँ; जसमा लेखिएको थियो;
प्रापक : शिखा शर्मा
बालोदय प्राथमिक विद्यालय, देउराली–४, पाल्पा, नेपाल
प्रेषक : नीरज परियार, दोहा, कतार
चिटिक्क बान्की मिलाएर लेखिएका उनका अक्षर चिन्न मलाई कत्ति गाह्रो परेन । चिठी हातमा समाउँदा हात थरर काम्यो । पहिलो पटक उनको चिठी आएको थियो, मेरो आफ्नै नाममा । त्यो पनि यस्तो अवस्थामा । उनले कहिल्यै मेरा लागि अलग्गै चिठी लेखेर पठाएनन् । आफ्नी आमालाई लेखेकै चिठीमा सानो भाग वा सानो टुव्रmा हुन्थ्यो मेरो नाममा । चिठी हातमा लिएँ तर खोल्ने हिम्मत आएन । बरु पटक पटक आयो उनको मुस्कुराइरहेको रातो टिसर्ट लगाएर समुद्र किनारमा उभिएको तस्बिर आँखामा । आँखाभरि आँसु आयो, सम्झनाका अनेकौँ तरेली पनि आए तर चिठी खोल्ने हिम्मत आएन । ओहो ! के के अटाउन सक्ने रहेछन् यी आँखामा पनि । यही चिठी त थियो हामीलाई जोड्ने एउटै धागो... ।
“मास्टर बाबु ! ए मास्टर बाबु !”
अचानक आएको तिखो आवाजले मेरो निद्रा भङ्ग गरिदियो । मैले अनुमान गरेँ, उनी मभन्दा अगाडि यस कोठामा बस्ने सरलाई खोजिरहेकी छन्; जसले अघिल्लो हप्ता नै यो गाउँ र विद्यालय छाडेर गइसके । त्यसका बारेमा उनलाई खबर रहेनछ । बाहिरको कल्याङमल्याङ आवाजले फेरि निदाउन सकिनँ । छेउमा रहेको पछ्यौरा ओढेर बाहिर निस्किएँ । घरबेटी आमाले के भनिन् कुन्नि ? मगर भाषा खासै नबुझ्ने हुनाले उनीहरूको कुराको विषय राम्रोसँग बुझिनँ ।
धोती र चोलो लगाएकी, कम्मरमा पहेँलो पटुका बाँधेकी आमै घरबेटी आमासँग कुरा गर्दै थिइन् । बोल्दा उनको नाकमा झुन्डिएको बुलाकी फुरफुर गरेर हल्लिन्थ्यो । एउटा हातमा कापी र अर्कोमा कलम लिएर उभिएकी ती आमाले दुई हात जोडेर नमस्कार गरिन् । नमस्कार गर्दा कापी र कलम एकै ठाउँमा जोडिए । “भरखरकी रहिछन् मास्टरर्नी नानी, यो गाउँमा टिक्लिन् त ?” नजिकै आएर मेरो अनुहार नियाल्दै बोलिन् उनी । म मुस्कुराएँ । उनको अनुहार भने उज्यालो देखिएन । उनले खोजेको उत्तर मेरो मुस्कान थिएन सायद । घरदेखि टाढा यो दुर्गम गाउँमा टिक्न सक्छु कि सक्दिनँ ? यस प्रश्नको उत्तर मसँग पनि थिएन ।
“लौ मास्टरर्नी नानी ! अब मेरो छोरोलाई चिठी तपाईं नै लेखिदिनुस्,” हातको कापीकलम मतिर तेस्र्याउँदै बोलिन् उनी । मैले चिठी लेख्न सुरु गर्नुभन्दा पहिला पटुकामा बडो जतनले गुटुमुटु पारेर राखेको चिठी निकालेर पढ्न लगाइन् । असाध्यै राम्रा र शुद्ध अक्षरमा आमालाई सम्बोधन गरेर लेखेको चिठीले मलाई आकर्षित ग¥यो । चिठी पढेर आमैका आँखामा हेरेँ, उनी एकटकले मैलाई हेरिरहेकी थिइन् ।
“चिठीमा लेख्नुपर्ने केही विशेष खबर छ कि आमा ?” लेख्न सुरु गर्नुभन्दा पहिले सोधेँ । “केही छैन नानी ! आपूm र आफ्नी आमाले भोगेको अपमान नबिर्सेस्, राम्ररी काम गरेस्, ट्याममा खाएस्, ट्याममा सुतेस् । यस्तै यस्तै लेखिदिनुस् !” उनको आवाज मलिन थियो ।
भरखरै पढेको चिठी र आमैले भनेका कुराका आधारमा चिठी लेखेर आमैलाई सुनाएँ । “कस्तो मेरै मन पढेर लेखिदिनु भो नि नानी ! यस्तो राम्रो चिठी त मास्टर बाबुले पनि लेख्नुन्थेन । अबका दिनमा चिठी लेखाउनेको लाइन लाउने छ तपैँका दैलाँ, बुढीले भनेइथिन् भन्नुहोला !” मलाई गुरुप्रसाद मैनालीको ‘सहिद’ कथाको सम्झना आयो । मुसुक्क मुस्कुराएछु । बुढीले थपिन्, “धरोधर्म मैलै सत्य बोलेइछु, मेरो बाबुले यति राम्रो चिठी कल्लाई लेखायौ ? भनेर सोध्ने छ ।” आमै चिठीको खाम पटुकामा गाँठो पार्दै ओझेल परिन् ।
नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ भाषा तथा जीवनको पहिलो जागिरसँग समायोजित हुने कोसिस गरिरहेकी थिएँ म । घरबाट टाढा हुनुपर्दाको पीडालाई भुलाउन चौतारी, खुला चौर, खेतबारी, वनजङ्गल डुलेर फुर्सदको समय बिताइरहेकी थिएँ । पहिलो चिठी लेखेको एकडेढ महिनापछि एक दिन आमै दिउँसै स्कुलमा आइन् । बडा चम्किला आँखा र ओठभरि मुस्कान छर्दै नमस्कार गरिन् । हातमा चिठीको खाम थियो, केही नबोली मतिर सोझ्याइन्; मैले चिठी पढ्न सुरु गरेँ । चौरमा खेलिरहेका केटाकेटी सबै चिठी सुन्न झुम्मिए । सबैले सुन्ने गरी पढेर सुनाएँ । चिठीको अन्तिममा उनले लेखेका थिए, यति सुन्दर चिठी लेखिदिने तपाईं जो हुनुहुन्छ धेरै धेरै धन्यवाद ! मेरी आमाको मनका भावनालाई यो परदेशी छोराका सामु पु¥याइदिनुभएकोमा म तपाईंप्रति ऋणी छु ।
एवं रीतले आमाका छोराको चिठी आउने र मैले पढेर प्रत्युत्तर लेखिदिने क्रम चलिरह्यो । म अलि कमै बोल्ने स्वभावकी भएर पनि होला, आमैको परिवारका बारेमा खासै केही कुरा सोधेकी थिइनँ । खै ! कुन कुराले तानेर हो, स्कुल छुट्टी भएपछि एक दिन डेरामा फर्कनुको सट्टा आमैको घरतिर डोरिएँ । मलाई आँगनमा देखेर कोखिलाको गाग्रो हत्तपत्त पिँडीमा राखेर नमस्कार गरिन् । मैले सोचेभन्दा फरासिली र आधुनिक विचारकी पाएँ आमैलाई । छोरो सानै हुँदा लोग्नेको मृत्यु भएपछि ज्यालामजदुरी गरेर छोरोलाई हुर्काएर बिए पास गराएकी आमामा व्यवहारले ल्याएको परिपक्वता गज्जबको थियो । छोरालाई पढाएर गाउँमै मास्टर बनाउने धोको पूरा हुन नसकेकोमा दुःखी थिइन् आमै । दलित केटोलाई मास्टरका रूपमा स्वीकार नगर्ने समाजलाई बेला बेला मुखभरिको जवाफ दिएको प्रसङ्ग सुनाइन् आमैले । समाजको अपमान र गरिबीबाट मुक्ति पाउनका लागि परदेश भासिएछ छोरो । आमैले भन्दै थिइन्, “बुझ्नुभो मास्टरर्नी नानी ? यी गाउँका कुनै पनि घर बाँकी थिएन मैले मजदुरी गर्न, कति दुःख गरेर यिनकै सेवा गरेर बिताएँ आफ्नो जवानी तर यिनले मेरो छोरोलाई मास्टर हुन दिएनन् । अहिले मेरो छोराले विदेश बसेर टन्न पैसा कमाएको छ । अहिले तिनै मान्छे लुरुक्क परेर मेरो आँगनमा रिन माग्न आउँछन् । मैले पनि माग्ने जति सबैलाई रिन दिएकी छु नानी ! बैगुनीलाई गुनले मार्नू भन्छन् । सानो जात भनेर हेला गर्ने पनि गरिप हुँदासम्म रैछ नानी । धनको बिटो देखेपछि सबै समान हुँदो रैछ । मलाई पनि यो बुढेसकालमा एउटा भाको छोरालाई बिदेसाँ पठाउन त काँ मन थ्यो र ?” आमैका आँखा भरिए, मेरो मन । डेरामा आएपछि पनि धेरैबेर तिनै आमाछोराका बारेमा सोचिरहेँ ।
एक दिन चिठी लेखाउन आउँदा आमैले भनिन्, “मास्टर्नी नानी ! अब बाबुलाई छिटै घर आइज भनेर लेखिदिनु है ! अब त यसको बिहे गरिदिनु प¥यो, बुहारी ल्यायो भने मलाई पनि साथी हुन्छ; अब त बुढेसकाल लायो, केही भइहाल्यो भने मुखमा पानी हालिदिने मान्छे पनि हुन्न कि भन्ने पिर लाउँछ बाबै ।” यत्रो गाउँ, गरिबी र अपमानका विरुद्ध एक्लै लडेकी जुझारु मान्छेलाई यस्तो कमजोर कहिल्यै देखेकी थिइनँ मैले । खोरमा पालेका बाख्रा देखाउँदै भन्थिन्, “यी खसी मैले छोराको बिहेमा भोज खुवाउनलाई पालेकी हुँ नानी ! हेर्दै जानुहोला, हिजो म गरिप हुँदा अछुत भनेर मेरो हातको पानी पनि नखानेले कसरी मासुका चौटा लुस्न आउँछन्, यी गाउँलेलाई राम्ररी चिनेकी छु मैले ।” उनका यस्ता हक्की कुरा सुनेर म प्रभावित हुन्थेँ ।
“कस्ती बुहारी खोज्नु भा’छ आमा छोराका लागि ?” हाँसीहाँसी सोधेँ मैले । पढेलेखेकी राम्री मेरो छोरोलाई सुहाउने खालकी ! “ठ्याक्कै नानी जस्तै,” मेरा आँखामा आँखा जुधाएर बोलिन् उनी, “ठ्याक्कै म जस्तै त म मात्रै छु आमा ! कि मैलाई बुहारी बनाउनुहुन्छ त ?” भन्दिनँ भन्दाभन्दै पनि मुखबाट निस्किहाल्यो । “बनाउथेँ नि नानी, तपैँलाई बुहारी बनाउन पाए कसले बनाउँथेन र ! क्यार्नु, जे गर्नु यो जातपात बनाउनेले बनाए ! पाप त तिनलाई लायो होला ! मान्छे मान्छेमा भिन्नता गर्नेलाई ।”
चिठी लेखेर आमालाई सुनाएँ, पहिले झैँ भनिन्, “नानी मेरो मनै लेख्नुहुन्छ सुने पनि नसुने पनि मनकै कुरो त हो नि !” मक्ख पारिन् मलाई । चिठी पट्याएर खाममा हालिसकेपछि फेरि खोलेँ, खै के सोचेर हो, टुङ्ग्याइसकेको चिठीको तल लेखिदिएँ, “धेरै भयो छोरो तँलाई देख्न नपाएको, चिठीमा एउटा फोटो हालेर पठा न बाबु ! देख्न मन लायो ।” आमैलाई सुनाइनँ चिठीमा के थपेँ भनेर, आमैले पनि सोधिनन् । पहिले झैँ केही समयपछि जवाफ आयो, चिठीभित्र रातो टिसर्ट र जिन्स पाइन्ट लगाएको घाँटीमा क्यामेरा झुन्ड्याएर समुद्रको किनारमा उभिएको गोरो अनुहार भएको केटाको मुस्कुराएको तस्बिर थियो । तस्बिर निकालेर आमैलाई दिएँ, चिठी पढुन्जेल उनको ध्यान चिठीमा भन्दा छोराकै फोटोमा केन्द्रित थियो । चिठीको अन्तिममा लेखेका थिए, “मेरो तस्बिर किन माग्नुभयो त्यो त म जान्दिनँ तर पनि तपाईंलाई धन्यवाद ! यति राम्रो चिठी लेख्ने मान्छे कस्ती देखिनुहुन्छ भन्नेसम्म पनि मलाई थाहा छैन, सम्भव हुन्छ र तपाईंलाई अप्ठ्यारो हुन्न भने मलाई आफ्नो पनि एक प्रति फोटो पठाइदिनुहोला । म आफ्नो मनले बनाएको चित्रसँग तपाईंको तस्बिर दाँज्न चाहन्छु । आफ्नो चोरी पक्डिएकोमा मलाई लाज लाग्यो । यसरी हामी आमाका चिठीका केही अंश चोरेर कुरा गर्न थाल्यौँ । अब आमाको चिठीबाट बिस्तारै हाम्रो कुराकानी सानो अलग्गै पानामा स¥यो । उनी आफ्नी आमाको सपना पूरा गर्न नसकेकोमा दुःख पोख्थे चिठीमा । भन्थे, “विदेश बसेर पुग्यो अब, नेपालमै आएर आयोग लडेर शिक्षक बन्छु । प्रमाणपत्र छ, उमेर छ, अब पुग्यो परदेशी जीवन बाँचेर ।” यस्तै यस्तै गम्भीर र व्यावहारिक कुरा हुन थालेको थियो– हाम्रो चिठीमा ।
म यस गाउँमा घुलमिल भएर बस्न सकेकोमा औधी खुसी थिए उनी । बेला बेला अनौठा कुरा लेख्थे चिठीमा । भन्थे, “श्रीमान्श्रीमती एउटै विद्यालयमा पढाउनु कस्तो राम्रो हुन्छ होला है !” म उनका कुराको सङ्केत बुझेर पनि नबुझेको जस्तो गरिदिन्थेँ । एवं रीतले हाम्रो चिठी आदानप्रदान चलिरहेको थियो । म उनलाई सम्बोधन गरेर अनेकौँ चिठी लेख्न थालेकी थिएँ तर खामको बाहिर उनको ठेगाना लेख्ने हिम्मत कहिल्यै आएन । बरु ती चिठीलाई मन परेका किताबका पानामा थन्क्याएर राख्न थालेँ । सोचेँ– यी चिठी मैले लेखेकी हुँ, आफैँलाई सम्बोधन गरेर । समय फेरियो, ऋतु फेरियो, यो गाउँले मलाई स्विका¥यो; जसरी स्विकारेँ मैले गाउँलाई ।
विद्यालयमा बर्से बिदा भयो, एक महिना लामो बिदामा म पनि घर जाने भएँ । म जानुभन्दा अगाडि चिठी लेखाउन डेरामै आइन् आमा । अलि मलिन अनुहार बनाउँदै बोलिन्, “यो दसैँमा आमाको हातबाट टीका लगाउन आएस् । मैले आफ्ना लागि बुहारी खोजिसकेकी छु, अलि धम्कीकै भाषामा लेखिदिनु नानी । तेरी आमालाई खुसी देख्न चाहन्छस् भने छिटो आइज अब, कति भाग्छस् आफ्नै गाउँसित आफ्नी आमासित ।” आमैका चिठीसँगै सानो कागजको चिर्कटोमा एक महिनाका लागि घर जान लागेकाले आमाका लागि अर्को चिठी लेखिदिन ढिला हुनेसमेत जानकारी दिएँ । एक महिना लामो बर्खे बिदापछि गाउँ फर्कंदा गाउँको परिवेश अर्कै भएछ । खेतबारीको चटारो सकेर गाउँले आरामको सास फेरिरहेको थियो । डेरामा झोला बिसाएर छरिएका सामान मिलाउँदै थिएँ । घरबेटी आमै निन्याउरो मुख लगाएर कोठामा पसिन् । मगर भाषामै सन्चो बिसन्चो, घरको खबर तथा आमाबुवा सबैलाई सोधिन् । मगर भाषामा जवाफ दिन सिपालु भइसकेको भए पनि मैले आमैलाई नेपालीमै जवाफ दिएँ । परिवार तथा गाउँका बारेमा सोधेँ । खेतीपातीको कुरा गरेँ । आमै केही नबोली सामान छरपस्ट भएको मेरो बिस्तराको छेउमा टुक्रुक्क बसिन् । एक पटक उनका आँखामा गहिरिएर हेरेँ । इनार झैँ गहिरा आँखामा आँसु टिल्पिलाइरहेको देखेँ ।
“हि ले लाङ्घालक मै ?” आमाको उदासीको कारण र गाउँको खबर बुझ्न सोधेँ ।
बोल्न खोज्दा थर्थराइरहेको उनको आवाज सुनेर म डराइरहेकी थिएँ । सम्भावित नराम्रो खबरको भयले मुटु काँपिरहेको थियो ।
“आज चार दिन भो नानी लास ल्याएर जलाको । अनुहार निलै थ्यो, जिउ बेस्सरी सुन्याथ्यो । पैसाको लोभमा आफ्नै साथीले विष ख्वाएर मारेको हल्ला पो छ नानी गाउँमा त । क्यार्नु परदेशको ठाउँ आफ्नै आँखाले देखेको हैन, जसले जे भने नि पत्याउनै प¥यो ।” पूरा हो कि अधुरो हो आमैको कुरा बुझ्नै सकिन मैले ।
“कसको कुरा गर्दै हुनुहुन्छ आमा ?” थरथर काँपेका हातले आमैका हात समातेर सोधेँ । “अरू कसको हुनु र नानी ! त्यही नीरज, साइँलीको छोरो ।
दसैँमा आउँछु भनेर चिठी पठाथ्यो रे, कम्ती खुसी भाथिन् त्यो साइँली बरा ! चिठी अघि अघि लास पछि पछि भएछ ।”
आमैले के के बोलिन्, राम्ररी सुन्न सकिनँ । अचानक रिँगटा लाग्ला जस्तो भयो, वाकवाकी आउला जस्तो भयो । ढोकाबाट निस्कँदै गर्दा आमैको आवाज सुनेँ, “नानी ! एक पटक साइँलीलाई भेट्न जाने कि ? मास्टरनी नानी कहिले आउनुहुन्छ ? भनेर सोधेको सोध्यै थिन् ।”
कोठाबाट त निस्केँ तर कहाँ जाने आफैँलाई थाहा भएन । उसकै चिठीका शब्दहरू कानभरि आवाज बनेर गुन्जियो । यही आवाजबाट लखेटिँदै गाउँदेखि धेरै माथि वनमा पुगेछु । स्कुलमा जागिरे भएर यो गाउँमा आएदेखिका हरेक घटना, उनले चिठीमा लेखेका हरेक शब्द एक एक गरेर दोहोरिएर आए मस्तिष्कमा क्यामेराको रिल झैँ ।
बेस्सरी रुन मन लाग्यो, कति बल गर्दा पनि डाँको छोडेर रुन सकिनँ । अहो ! रुन नसक्नु त झनै पीडाको कुरा पो रहेछ । मन अँध्यारो भयो, छातीभरि बादल बोकेर बर्सन नसकेको आकाश झैँ । कसरी कोठामा आइपुगेँ, कसरी रात बिताएँ, कसरी तयार भएर विद्यालय पुगेँ; आफैँलाई होस भएन । अफिसको टेबुलमा उनको नामको चिठी भेटेँ । चिठी खोलेर पढ्ने हिम्मत आएन । आयो त केवल आँखामा उनको मुस्कुराइरहेको तस्बिर । चिठी ब्यागमा राखेँ, एकै सासमा अफिसको ढोका ड्याम्म लगाएँ, विद्यालयलाई बायाँ पारेर ओरालो झर्दा विद्यार्थीले बोलाएको आवाज कानमा नपरेको होइन तर फर्किएर तिनलाई जवाफ दिन सकिनँ । दौडँदै कोठामा आइपुगेँ । छरपस्ट भएका लुगा र किताब छिटो छिटो झोलामा कोचेँ । डेराबाट निस्कनुभन्दा पहिले आमैका नाउँमा एउटा चिठी र केही पैसा सिरानीमुनि राखिदिएँ । घरमा कोही नभएको मौका छोपेर जङ्गलको बाटो एक्लै ओरालो लागेँ । दृढ विश्वासका साथ आफैँलाई भनेँ, अब पुग्यो यो ठाउँमा बस्न । अब कहिल्यै फर्केर आउने छैन यो गाउँमा । यो गाउँलाई म मुटुमा लिएर हिँडेँ या म आफैँ यो गाउँमा छुटेर हिँडेँ अन्योलमा छु अझै । नखोलिएको खामभित्र उनले लेखेको चिठीको विषय जस्तै ।