• ७ जेठ २०८१, सोमबार

लोकगायिका सुनारको हत्या आरोपमा श्रेष्ठ जेल चलान

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ९ गते ।
लोकगायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएपछि श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशमा श्रेष्ठलाई पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइएको छ ।

जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार असार ११ गते बिहान दिलमाया सुनार नेपालटारस्थित डेरामा मृत अवस्थामा फेला पर्नुभएको थियो ।

श्रेष्ठले दिएको बयानका अनुसार त्यस राति श्रेष्ठ सुनारको कोठामा गएको र बिहान उठ्दा गायिका झ्यालको भेन्टिलेसनमा पासो लगाएर झुन्डिएको देखेको बताएका थिए । सुनालाई झुण्डिएको अवस्थामा देखेपछि सल फुकाउँदा शरीर चिसो भएकाले आफूले छाडेर भागेको श्रेष्ठले प्रहरीलाई बताएका थिए ।

श्रेष्ठले गायिकाको सल महाराजगञ्जस्थित झाडीमा फालेको अनुसन्धानबाट खुलेको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको शव परीक्षण रिपोर्टमा गायिकाको मृत्युको कारण ‘झुन्डिएर’ आएको छ । श्रेष्ठमाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रवक्ता मैनालीले बताउनुभयो ।