लक्ष्मी चौधरी
जनकपुरधाम, चैत २३ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा प्रदेश राजधानी जनकपुरधाममा फुटपाथ तथा ऐतिहासिक स्थलमा भएको अतिक्रमण हटाउने अभियान तीव्र रूपमा अघि बढिरहेको छ ।
मधेशका गृह, सञ्चार तथा कानुनमन्त्री महतोको नेतृत्वमा दुई साता अघि सुरु भएको प्रदेश राजधानी जनकपुरधाम उपमहानरगपालिकालाई व्यवस्थित बनाउने अभियान निरन्तर जारी रहेका छ । सो अभियान अन्तर्गत मन्त्री महतोको नेतृत्वमा सोमबार कदम चोक क्षेत्रमा अतिक्रमण हटाउने कार्य जारी छ ।
राजधानीको अव्यवस्थित सहरी स्वरूप सुधार गर्ने उद्देश्यसहित सुरु गरिएको अभियान अन्तर्गत मुख्य बजार क्षेत्र र व्यस्त चोकहरूमा फुटपाथ अतिक्रमण हटाउने, सडक खाली गराउने तथा सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्ने कार्य अन्तर्गत रामानन्द चौक, जानकी मन्दिर, गंगासागर, पेठिया बजार, भानुचौक र रेल्वे स्टेशनलगायतका क्षेत्रमा फुटपाथ खाली गराउनुका साथै सडकमा अतिक्रमण गरेर बनाइएका संरचनाहरू भत्काइएको थियो ।
यसका साथै सडक सुरक्षालाई ध्यानमा राख्दै डिभाइडर पोल जडान, अनियन्त्रित पार्किङ हटाउने र सार्वजनिक सवारीलाई तोकिएको स्थानमा सञ्चालन गर्ने व्यवस्था लागू गरिएको छ, जसले विशेष गरी ई–रिक्सा, बस र माइक्रोबस सञ्चालनमा सुधार ल्याएको देखिएको छ ।
अभियानको प्रभाव सर्वसाधारणदेखि व्यवसायी र सवारी क्षेत्रसम्म देखिएको छ । स्थानीय व्यापारीहरूले सहर सफा र व्यवस्थित बन्दै गएकोमा सन्तुष्टि व्यक्त गरेका छन् भने सवारी सहचालकहरूका अनुसार यात्रु चढाउने–ओराल्ने कार्य अहिले सहज भएको छ ।
अभियातलाई निरन्तरता दिँदै मन्त्री महतोले राजधानीलाई थप व्यवस्थित बनाउन अभियानलाई अझ प्रभावकारी बनाइने बताउँदै अटेर गर्नेहरूलाई कानुनी कारबाही र जरिवानासम्मको व्यवस्था गरिने स्पष्ट बताउनुभयो ।
प्रदेश सरकारले थालेको यो पहल निरन्तर र प्रभावकारी रूपमा अघि बढ्न सके जनकपुरधामले निकट भविष्यमा सफा र व्यवस्थित राजधानीको पहिचान स्थापित गर्ने अपेक्षा स्थानीयले समेत गरेका छन् ।
विस्थापन नभएर व्यवस्थापनको माग
अभियान अन्तर्गत गंगासागर डिल क्षेत्रका फुटपाथ खाली गराइएपछि त्यहाँका साना व्यापारीहरूले आफूहरूलाई सुरक्षित र व्यवस्थित स्थान उपलब्ध गराउन माग गरेका छन् ।
विगत तीन दशकभन्दा बढी समयदेखि जनकपुरधाम बजार क्षेत्रमा चुराको व्यापार गर्दै आएकी नुतनदेवी कर्णले आफूहरूलाई बारम्बार स्थान परिवर्तन गरिँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई निश्चित स्थानमा व्यवस्थापन गरियोस् । कहिले कता, कहिले कता सारिँदा धेरै कठिनाइ हुन्छ । गंगासागर आउनुअघि म राजदेवी मन्दिर अगाडि व्यापार गर्थेँ, त्यहाँबाट हटाएपछि यहाँ आयौँ ।”
उहाँले थप्दै व्यापारीहरूलाई विस्थापन गर्ने होइन, व्यवस्थित रूपमा उचित स्थानमा राख्ने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । “हामीलाई हटाउने मात्र होइन, व्यवस्थित गर्ने पहल हुनुपर्छ,” उहाँको भनाइ छ ।
फुटपाथ खाली गराउने अभियानले सहरलाई व्यवस्थित बनाउने प्रयास भइरहेको भए पनि दीर्घकालीन रूपमा साना व्यवसायीहरूको व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ । यता जनकपुरधामका प्रमुख मनोजकुमार साहले फुटपाथ व्यापारीलाई विस्थापन नभएर व्यवस्थापन गर्ने आन्तरिक रुपमा तयारी भइरहेको जानकारी दिनुभयो ।