• २३ चैत २०८२, सोमबार

परासीमा पानी प्रशोधन युनिट जडान कार्य सुरु

blog

पानी प्रशोधन युनिट निर्माणको पूजा गरेर शिलान्यास गर्दे प्रदेश सभा सदस्य बैजनाथ कलवार । तस्बिरः बिकास अधिकारी

बिकास अधिकारी

पश्चिम नवलपरासी, चैत २३ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा वितरित खानेपानी शुद्धिकरणका लागी पानी प्रशोधन युनिट–प्रेसर फिल्टर) जडान कार्य सुरु भएको छ । हाल सम्म सामान्य शुद्धिकरणको विधि अपनाएर आधारभुत स्तरको खानेपानी वितरण हुँदै आएकोमा अब प्रशोधन सहितको पानी वितरणका लागी फिल्टर जडान कार्य सुरु गरिएको हो । 

लुम्बिनी प्रदेश सरकारको ९५ लाखको लागतमा देव इन्जिनियरिङ् प्रा.ली काठमाण्डौले फिल्टर प्लान्ट निर्माणको काम गरिरहेको खानेपानी तथा सरसफाइ कार्यालय परासीका प्रमुख दिनेश प्रसाद शाहले जानकारी दिनुभयो ।

परासीमा रहेका दुई वटा ओभरहेड ट्याङ्कीमा सङ्कलित पानी शुद्धिकरणका लागी दुईवटा स्थानमा प्रशोधन युनिट निर्माण हुँदै छ । शाहका अनुसार उक्त युनिटले प्रतिसेकेन्ड दश लिटर पानी शुद्धिकरण गर्ने क्षमता राख्दछ ।

प्रशोधन युनिट निर्माणको शिलान्यास गर्दे प्रदेश सभा सदस्य बैजनाथ कलवारले सिधै उपभोग गर्न मिल्ने शुद्ध पिउने पानीको पहुँच अभिवृद्धिका लागी फिल्टर जडान गर्न थालिएको बताउनुभयो । निर्धक्क भएर उपभोक्ताले पानी प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले आफ्नो क्षेत्र विकास योजना अन्तर्गत बजेट विनियोजन गरेर फिल्टर जडान कार्य सुरु गरिएको कलवारले बताउनुभयो ।  

पानी वितरण भएर मात्र नहुने बताउँदै कलवारले अहिले सोझै उपभोक्ताले पिउन सक्ने पानी वितरण गर्ने योजना अनुरूप फिल्टर जडान भइरहेको बताउनुभयो । परासी खानेपानी संस्था मार्फत रामग्राम– १ मा रहेको २ लाख २५ हजार लिटर र रामग्राम–६ मा रहेको ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की मार्फत ८ वटा वडाका २ हजार बढि उपभोक्तालाई खानेपानी वितरण हदै आएको छ ।