• ८ मंसिर २०८१, शनिबार

पर्यटकको पर्खाइमा चिडिया ताल

blog

प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको चिडिया ताल । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), साउन ८ गते  । कैलालीको घोडाघोडी नगरपालिका – २ साँडेपानीमा रहेको चिडिया ताल उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ३०० मिटर उत्तरमा रहेको चिडिया ताल चिडिया सामुदायिक वनक्षेत्रमा अवस्थित छ । तालको वरपर अन्य साना ठूला गरी १२ वटा ताल  छन् । 

हरियाली वनभित्र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताल सौन्दर्य सँगसँगै त्यहाँ बन्यजन्तु चराचुरुङ्गीको बासोवास छ । जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण ताल वरपर पर्यटक आकर्षणका लागि पैदलमार्ग, ड्याम निर्माण कार्य भए तापनि पर्यटकको आगमन भने खासै हुन नसेकको स्थानीयको भनाइ छ ।

घोडाघोडी नगरपालिका २ साँडेपानीका रणबहादुर भण्डाराले राजमार्गदेखि नजिकै भएर पनि चिडिया तालको प्रसारप्रसार हुन नसकेको बताउनुभयो । चिडिया अर्थात् चराहरुका लागि महत्वपूर्ण मानिने सो ताल चरा अवलोकनका साथै हरियाली वातावरणवीच तालको रमणीय दृश्य अवलोकनले मन लोभ्याउँछ । तर प्रचारप्रसार हुननसक्नु दुःखद रहेको गुनासो भण्डाराले पोख्नुभयो । 

उहाँले भन्नुभयो ‘कृत्रिम ठाउँलाई प्राकृत बनाएर प्रचारप्रसार गरी पर्यटन विकास भएका छन् हाम्रो ठाउँमा यति सुन्दर ठाउँको प्रचारप्रसार हुन सकेको छैन । यसको प्रचारप्रसार भएर पर्यटकीय क्षेत्रको रुपमा विकास हुन सके स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने थियो, व्यवसाय चल्ने थियो ।’

स्थानीय जशुदेवी विष्टले पहिला खासै कोही नआउने तालमा ताल वरपर पैदलमार्ग बनेपछि फाट्टफुट्ट मानिस घुम्न आएको बताउनुभयो । चिडिया ताल सामुदायिक वन उपझोक्ता समूहका अध्यक्ष चक्रबहादुर विष्टले सामुदायिक वन क्षेत्रमा रहेको सो ताल पर्यटकीय विकासका लागि सम्भाव्यता बोकेको भए पनि २०७६ साल अगाडिसम्म कुनै काम हुन नसकेको बताउनुभयो । 

अध्यक्ष विष्टले सङ्घीय संरचनामा देश गएपछि २०७६ सालबाट चिडिया तालको संरक्षण र पर्यटन प्रवर्धनमा काम हुँदैआएको जनाउनुभयो । सो तालमा हालसम्म स्थानीय सरकार, राष्ट्रपति चुरे संरक्षण, कर्णाली जलाधार, सुदूरपश्चिम प्रदेश वन तथा पर्यटन मन्त्रालय, राष्ट्रिय ताल संरक्षण समिति, डिभिजन वन कार्यालय लगायतको सहयोगमा काम भएको छ । 

अध्यक्ष विष्टले हालसम्म करिब एक करोड लगानीमा तालको वरपर ड्याम निर्माण, तट्बन्ध, आउटलेट गेट निर्माणका साथै ईन्टरलक व्यवस्थासहितको पैदलमार्ग निर्माणको काम भएको बताउनुभयो । पर्यटकका लागि घुम्न, दृश्यावलोकन गर्न, वनभोजका लागि निकै रमणीय ठाउँ भए पनि उचित प्रचारप्रसार नहुँदा पर्यटकको आकर्षण बन्न नसकेको गुनासो अध्यक्ष विष्टले गर्नुभयो ।

 शान्त हरियाली बातावरणमा वर्षौ पहिलादेखि चराचुरुङ्गीको प्रचुर मात्रामा बसोवास रहने भएकाले उक्त तालको नाम चिडिया ताल नामकरण भएको स्थानीयको भनाइ छ । चराविद् हिरुलाल डगौराले बिभिन्न चराहरुको बसोबास रहेको उक्त तालमा विशेष गरेर हरिहाँसका लागि अण्डा कोरल्न र बच्चा हुर्काउन उपर्युक्त क्षेत्रको रुपमा रहेको बताउनुभयो ।

डगौराले उक्त क्षेत्रमा बर्षैभरी चिस्यान रहने सीमसार क्षेत्र रहेकाले चराहरुको बसोबास सँगसँगै कछुवा, माछा, अजिङ्गर लगायत जलचर प्रणालीको बसोवास रहेको बताउनुभयो । प्रकृतिसँग रमाउनेका लागि यो ताल क्षेत्र निक्कै महत्वपूर्ण रहेको डगौराले बताउनुभयो । तालमा डुङ्गा सयर गर्दै तालमा रहेका जलचर प्रणालीको अवलोकन गर्नुका साथै चरा अवलोकन गर्न सकिन्छ ।

१२७ हेक्टर बन क्षेत्रभित्र करिब ३० बिघा क्षेत्रफलमा फैलिएको चिडिया ताल तीन वर्ष पहिले घोडाघोडी नगरपालिकाले ४ वर्षका लागि माछापालनमा ताल ठेक्कामा दिएको छ ।  घोडाघोडी नगरपालिकाका निवर्तमान नगरप्रमुख ममताप्रसाद चौधरीले  तालको  महत्वबारेमा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको बताउनुभयो । उक्त क्षेत्रलाई हात्ती प्रजनन केन्द्रका लागि सम्भाव्यता अध्ययन गरिएको उहाँले बताउनुभयो ।   

विश्व रामसार क्षेत्र घोडाघोडी ताल नजिकै रहेको चिडिया ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न  सरोकारवाला सबैले सहयोग गर्नुपर्ने स्थानीयले बताएका छन् ।