• २७ पुस २०८१, शनिबार

‘सुपरहिट’ गीतको सम्झना

blog

वरिष्ठ गीतकार किरण खरेलले आफ्नो जीवनको अधिकांश समय नेपाली गीत तथा सङ्गीतको क्षेत्रमा बिताउनुभयो । उहाँलाई नेपालको सदावहार गीतकारका रूपमा पनि चिनिन्छ । उहाँले लेख्नुभएका कैयौँ गीत आज पनि जनजिब्रोमा झुन्डिएका छन् । खरेलका गीतहरू नारायणगोपाल, तारादेवीलगायत ख्यातिप्राप्त गायक÷गायिकाले गाउनुभएको छ । यसैगरी उहाँले धेरै नेपाली चलचित्रका लागि पनि गीत लेख्नुभएको छ । 

नेपालमा निजी क्षेत्रबाट बनेको पहिलो कथानक चलचित्र ‘माइतीघर’मा उहाँले चारवटा गीत लेख्नुभएको थियो । यो चलचित्रमा बलिउडका एकै परिवारका प्रसिद्ध गायिकाहरू लता मङ्गेशकर, आशा भोषले, उषा मङ्गेशकर दिदीबहिनीले गाउनुभएको थियो । 

२०२८ सालमा शाही नेपाल चलचित्र संस्थान स्थापना भएपछि निर्माण भएका नेपाली चलचित्रहरू मनको बाँध, कुमारी, सिन्दुर, जीवनरेखालगायत बहुचर्चित चलचित्रमा उहाँले गीत लेख्नुभएको थियो । उहाँले लेख्नुभएका गीतको चारवटा गीतिसङ्ग्रह प्रकाशित छन् । यी सङ्ग्रहहरू ‘के हो तिम्रो नाउँ’ (२०२० साल), ‘मेरी पारू’ (२०२२ साल), ‘मेरी प्रियतमा’ (२०३६ साल) हुन् । गएको महिना पनि ‘ए दुरका सितारा’ प्रकाशित भयो । 

काभ्रेपलाञ्चोकको खरेलथोकमा विक्रम संवत् १९९६ मा जन्मनुभएका गीतकार खरेलको स्कुल पढिरहेको समयमै गायक तथा सङ्गीतकार बटुककृष्ण ज्वालासँग भेट भयो । उहाँहरूबीच मित्रता झाङ्गिँदै गयो । सानैदेखि साहित्य लेखनमा रुचि राख्नुहुने खरेल कविता पनि लेख्नुहुन्थ्यो । खरेलले लेख्नुभएको पहिलो गीत नै २०१४ सालमा सुपरहिट भयो । सङ्गीतकार ज्वालाले कम्पोज गरेर गाएको ‘ए दुरका सितारा’ बोलको गीत श्रोताले अत्यधिक मन पराएपछि खरेल गीत लेखनमा रमाउन थाल्नुभयो । उहाँको ‘चन्चले आँखाले के ग¥यो मलाई’ बोलको गीत पनि मानिसले खुब मन पराए । उक्त गीत ज्वालाले नाच्न मिल्ने गरी कम्पोज गरेपछि तत्कालीन नृत्य कलाकार भीमबहादुर गुरुङले विभिन्न मन्चमा प्रस्तुत पनि गर्नुभएको थियो । २०१६ सालमा तत्कालीन राजा महेन्द्रको आर्थिक सहयोगमा गायक ज्वालाले ती दुईसहित चारवटा गीत भारतको कलकत्ता 

(हाल : कोलकाता)मा गएर रेकर्ड गर्ने अवसर पाउनुभयो । रेडियो नेपालले ती गीत प्रसारण गर्न थालेपछि गायक ज्वाला तथा गीतकार खरेलको प्रसिद्धि बढ्दै गयो । यसपछि अन्य गायक/गायिकाले पनि गीतकार खरेलको गीत गाउन थालेपछि उहाँको लोकप्रियता चुलिँदै गयो । 

कर्णप्रिय आवाजका धनी 

बीसको दशकमा किरण खरेल रेडियो नेपालमा कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो । उहाँ रेडियो नेपालको प्रत्यक्ष प्रसारण होस् वा कुनै पनि स्टेज कार्यक्रममा श्रोता तथा दर्शकलाई प्रभावित गर्ने गरी धाराप्रवाह बोल्ने गर्नुहुन्थ्यो । उहाँको आवाजमा मिठास हुनुका साथै नेपाली भाषामा स्नातकोत्तर गर्नुभएकाले उद्घोषणमा भाषिक शुद्धताको समस्या थिएन । 

रेडियोमा उद्घोषण गर्दा होस् वा गीतिकथा वाचन गर्दा उहाँको आवाज सुनेर लठ्ठै पर्नेहरू त्यतिबेला थुप्रै थिए । नेपालमा टेलिभिजन सुरु नभएको तथा एक मात्र रेडियो भएको समयमा उहाँको आवाजबाट प्रभावित भएर पत्र लेख्ने श्रोता धेरै थिए । पछि तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा प्रवेश गर्नुभएपछि उहाँको पद नै प्रमुख लेखन तथा उद्घोषण अधिकृत थियो । संस्थानले निर्माण गरेका कैयौँ वृत्तचित्रको पृष्ठभूमिमा उहाँले उद्घोषण गर्नुभयो । विशेषगरी तत्कालीन राजा वीरेन्द्रको विभिन्न मुलुकको भ्रमणमा सरिक भई वृत्तचित्र निर्माण कार्यमा उहाँ संलग्न हुनुभयो । यो वृत्तचित्र त्यो बेला विभिन्न सिनेमा हलमा सिनेमा हेर्नुअघि देखाइन्थ्यो । 

ज्वालासँगको मित्रता 

गीतकार खरेलका अत्यन्त प्रिय मित्र बटुककृष्ण ज्वालाको २०२५ साल माघ २३ गतेका दिन ३० वर्षको कलिलो उमेरमै निधन भएको थियो । उहाँ बिरामी भएर अन्तिम अवस्थामा पुगिसकेपछि काठमाडौँको शोभा भगवती अगाडिको विष्णुमती घाटमा लगिएको थियो । घाटमा अन्तिम श्वास फेरिरहेका बेला गीतकार खरेल पनि मित्रको स्वास्थ्य अवस्थाबारे बुझ्न जानुभएको थियो । त्यतिखेर ज्वालाकी आमा प्रभावतीले बेहोस अवस्थामा रहनुभएका आफ्नो छोरालाई बाबु किरण आउनुभयो भनी सुनाउनुभएको थियो रे । खरेलले त्यहाँ गायक ज्वालालाई चम्चाले पानी खुवाई दिनुभएको थियो । पानी मुखमा परेपछि ज्वालाको प्राण पखेरु उडेको थियो । किरण खरेल धुरुधुरु रुनुभएको त्यो कारुणिक क्षण अहिले पनि विष्णुमती घाटमा त्यतिखेर उपस्थित भएकाहरूले भावुक भएर सम्झन्छन् । यति मात्र होइन, गायक ज्वाला व्यक्तिगत कारणले अवसादमा परेपछि उहाँलाई फेरि पुरानै अवस्थामा फर्काउन गीतकार खरेलले कैयौँ प्रयास गर्नुभएको थियो । यसैक्रममा ज्वालाको बिहेसमेत उहाँले गराइदिनुभयो तर विवाहपछि पनि ज्वालाको अवस्थामा खासै सुधार आउन सकेन र कलिलो उमेरमै निधन भयो । 

छ दशकपछि रिमिक्स 

गीतकार खरेल हिजोआज सार्वजनिक कार्यक्रममा त्यति जानुहुन्न । झट्ट हेर्दा उहाँको व्यक्तित्व अझै फुर्तिलो देखिन्छ । क्यान्सरजस्तो कडा रोगलाई पनि उहाँले जित्नुभएको छ तर जीवनका अधिकांश समय माइकमा बोलेर बिताउनुभएका खरेललाई धेरै बोल्न भने समस्या हुने गरेको छ । आठ दशक पार गरिससक्नुभएका खरेल असार २५ गते लाजिम्पाटस्थित एउटा रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा भने देखिनुभयो ।

कार्यक्रममा गीतकार खरेलले २०१४ सालमा चर्चित भइसकेको ‘ए दुरका सितारा’ गीतको रिमिक्स भर्सन र म्युजिक भिडियो सार्वजनिक गर्नुभयो । यो गीतसँग खरेलको भावनात्मक सम्बन्ध जोडिएको कुरो माथि पनि उल्लेख गरियो । त्यसैले होला, गीतकार खरेल कार्यक्रममा भावुक हुनुभयो । गायक तथा सङ्गीतकार ज्वालाका भान्जा शशी गुरुङले यो गीत पुनः रेकर्ड गर्नुभएको हो । अहिले पनि विभिन्न गायक तथा सङ्गीतकार गीतकार खरेलको नयाँबानेश्वरस्थित निवासमा नयाँ गीत माग्न जाने गरेका छन् । खरेलले आफ्नो जीवनमा नेपाली साङ्गीतिक क्षेत्रको उतारचढावको प्रत्यक्ष अनुभव गर्नुभएको छ । उहाँले हासिल गर्नुभएको यी अनुभव पछिल्ला पुस्ताका लागि उपयोगी हुनेमा कुनै शङ्का छैन ।