• ८ मंसिर २०८१, शनिबार

मिडिया उद्योगका सहयोगी

blog

मिडिया उद्योगले आफ्नो व्यवसाय सुसञ्चालनका लागि अन्य उद्योगहरूसँग पनि सहकार्य गर्नुपर्ने हुन्छ। विज्ञापन, जनसम्पर्क, व्यावसायिक अनुसन्धान, मनोरञ्जन, वितरणलगायतका अनेकौँ क्षेत्रसँगको व्यावसायिक अन्तरसम्बन्धले मिडिया उद्योगलाई सफल बनाउने हो। मिडिया उद्योगको व्यवसायलाई सहयोग पु-याउने हुनाले त्यस्ता क्षेत्रलाई सहयोगी प्रणालीका रूपमा लिइन्छ। सहयोगी प्रणालीले मिडियाको सञ्चालन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् र मिडिया पनि त्यस्ता प्रणालीको स्थापना, सञ्चालन एवं व्यावसायिक गतिविधिमा प्रत्यक्षतः जोडिएका हुन्छन्। यसरी मिडिया र सहयोगी प्रणालीहरू परिपूरकका रूपमा रहेका हुन्छन्। 

मिडियाका सहयोगी प्रणालीमध्ये विज्ञापन उद्योग एक हो। विज्ञापन भन्नाले कुनै वस्तु, सेवा आदिको प्रवद्र्धन गर्ने उद्देश्यले आमसञ्चार माध्यममार्फत वा अन्य कुनै माध्यमको प्रयोग गरेर सन्देश वा सूचना सम्प्रेषण गर्ने कार्य हो। विज्ञापन सन्देशको उत्पादन एवं प्रचार (प्रदर्शन, प्रकाशन वा प्रसारण) एक स्थापित व्यवसाय हो र यो धेरै ठूलो आर्थिक कारोबार हुने उद्योग हो। एक उद्योगका रूपमा यसमा विज्ञापन एजेन्सी, विज्ञापनदाता तथा अन्य पक्षहरू कारोबारी सहकार्य गरिरहेका हुन्छन्। विज्ञापनका लागि उपलब्ध साधन वा माध्यम अनेकौँ छन् जसमध्ये आमसञ्चार माध्यम÷मिडिया उद्योगको ठूलो भूमिका रहेको हुन्छ। मिडिया उद्योग र विज्ञापन उद्योगको सहकार्यबाट दुइटै पक्ष लाभान्वित हुन्छन्। 

विज्ञापन सन्देशको प्रचार विभिन्न तरिकाले गर्न सकिने भए पनि आमसञ्चार माध्यममार्फत हुने विज्ञापन धेरै ठूलो जनसमुदायसम्म पुग्ने हुनाले विज्ञापनदाता विज्ञापनका लागि आमसञ्चार माध्यमको प्रयोग गर्न चाहन्छन्। उनीहरूका विज्ञापन प्रचार गरिदिएबापत आर्थिक आय हुने हुनाले आमसञ्चार माध्यमका सञ्चालकहरू विज्ञापनका लागि आफ्नो मिडियामा स्थान वा समय दिन सदैव तत्पर रहन्छन्। विज्ञापन र मिडिया आजको दिनमा एक–अर्काका परिपूरक बनेका छन्। मिडियाले विज्ञापनका लागि माध्यम बनिदिएको छ। विज्ञापन सामग्रीको उत्पादन र सो विज्ञापन सामग्री प्रकाशन वा प्रसारण गर्नका लागि मिडियासँग स्थान वा समय मिलाउन थुप्रै विज्ञापन एजेन्सी कार्यरत छन्। त्यस्तै, विज्ञापन प्रकाशन वा प्रसारण गरेरै मिडियाले आफ्नो कमाइको मुख्य अंश आर्जन गरिरहेका छन्। 

विज्ञापन नहुने हो भने मिडियाको यति धेरै विकास हुन सक्ने थिएन। विज्ञापन उद्योगले आमसञ्चार माध्यमका लागि आर्थिक आयस्रोत जुटाइदिएकाले मिडिया उद्योगका लागि यो अपरिहार्य बनेको छ। उता, मिडिया र विज्ञापनदाताबीच सेतु बनेर विज्ञापन उद्योगले पनि ठूलो आर्थिक कारोबार गरिरहेको छ। अनि विज्ञापनदाता पनि यसबाट लाभान्वित भएकै छन्। कुनै उद्योगीले आफ्नो उत्पादन बजारमा ल्याएर मात्र पुग्दैन, त्यसका बारेमा जनतालाई जानकारी पनि दिनैपर्छ। नत्र यस्तो उत्पादन बजारमा छ भन्ने थाहा नपाई उनीहरूले किनून् कसरी ! अनि, विज्ञापनमूलक सन्देश जनसमुदायसम्म पुग्नका लागि पनि कुनै न कुनै माध्यम चाहिनेमा त्यसको अवसर मिडियाले प्रदान गरेका छन्। 

विज्ञापनका कारण मिडियाका पाठक, श्रोता, दर्शकलाई पनि फाइदा भइरहेको छ। कतिपय अत्यावश्यक सूचना विज्ञापन सन्देशका रूपमा दिइने भएकाले तिनले जनतालाई आवश्यक सूचना प्रदान गरिरहेका हुन्छन्। विज्ञापनका कारणले नै रेडियो तथा टेलिभिजन सेवा निःशुल्क सुन्न तथा हेर्न पाइएको हो। अधिकतर रेडियो र टेलिभिजनले श्रोता वा दर्शकबाट कत्ति पनि रकम पाउँदैनन्, तिनीहरूको आम्दानीको स्रोत विज्ञापन प्रसारण गर्न समय उपलब्ध गराउनु नै हो। विज्ञापन नभएको भए पत्रपत्रिका पनि अहिले जति सस्तोमा पाइने थिएन । 

विज्ञापनका कारण न्युज मिडियामा सम्पादकीय स्वतन्त्रतामा असर पर्ने र समाचार तथा अन्य सूचना सामग्रीमा तथ्यमाथि खेलबाड गरिने आदि कारणलाई देखाउँदै यसको आलोचना गरिन्छ। समाजमा विज्ञापनले उपभोक्तावादी सोचलाई प्रवद्र्धन गर्छ भनी चिन्ता प्रकट गरिएकोसमेत देखिन्छ। त्यस्ता विज्ञापनलाई बेरोकतोक प्रचार गरेको कारणले मिडियालाई पनि आलोचना गरिन्छ। 

शुल्क लिएर कुनै व्यक्ति, व्यावसायिक कम्पनी वा अन्य संस्थाको छवि निर्माणका लागि योजना बनाई कार्यान्वयसमेत गर्ने पेसालाई जनसम्पर्क (पब्लिक रिलेसन्स) र त्यससम्बन्धी कारोबारको समष्टि स्वरूपलाई जनसम्पर्क उद्योग भनिन्छ। जनसम्पर्ककर्मीले आफ्ना सेवाग्राहीको सकारात्मक छवि निर्माणका लागि मिडियामार्फत उनीहरूबारे सकारात्मक कोणबाट लेखिएका समाचार तथा अन्य सूचना सामग्री सम्प्रेषण गराउन योजनाबद्ध प्रयत्न गर्छन्। चाहे कारोबारी व्यक्ति वा कम्पनीका जनसम्पर्क परामर्शदाता होऊन् वा राजनीतिक नेता वा पार्टीका जनसम्पर्क सल्लाहकार होऊन्, सबैथरी जनसम्पर्ककर्मीका लागि मिडिया अपरिहार्य छ। वास्तवमा जनसम्पर्क उद्योगको व्यवसायका लागि मिडिया नभई हुँदैन। 

मिडियाका लागि जनसम्पर्क क्षेत्रको उपयोगिता पनि कम छैन। खासगरी न्युज मिडियाका सन्दर्भमा कुरा गर्नुपर्दा, सबै ठाउँमा संवाददाताहरू राख्न वा खटाउन सम्भव हुँदैन, तर समाचार भने जनचासोका सबै क्षेत्र वा सबै व्यक्ति, कम्पनी वा संस्थाबारे जनचासोअनुसार नलेखी हुँदैन। यस्तो अवस्थामा जनसम्पर्ककर्मीले सहजै सूचना उपलब्ध गराउँछन्। धेरै देशमा जनसम्पर्क संस्थाले आफ्ना सेवाग्राही व्यक्ति वा संस्था (क्लाएन्ट)का लागि लेखिदिने प्रेस विज्ञप्ति, आयोजना गरिदिने पत्रकार सम्मेलन र संयोजन गरिदिने स्थलगत भ्रमण आदिले पत्रकारका सूचना आवश्यकतालाई सम्बोधन गर्छन्। पत्रपत्रिकामा छापिने तथा रेडियो–टेलिभिजनमा प्रसारित हुने धेरै समाचारका स्रोत कुनै जनसम्पर्क संस्था हुनु वर्तमानकालको पत्रकारिताको आम प्रचलन भइसकेको छ। 

संसारभरको पत्रकारिता अभ्यासलाई हेर्ने हो भने समाचार एवं अन्य सूचना सामग्रीको स्रोतका रूपमा जनसम्पर्क क्षेत्रले पत्रकारितालाई ठूलो टेवा दिइरहेको छ। जनसम्पर्क क्षेत्रको विकासले मिडियालाई पनि सूचनाका नयाँ स्रोतहरू मिलेका छन् भने जनसम्पर्ककर्तालाई सन्देश प्रवाहका लागि आवश्यक पर्ने माध्यम बनिदिएर मिडियाले उनीहरूलाई सहयोग गरिरहेका छन्। यसरी मिडिया उद्योग र जनसम्पर्क उद्योग एक–अर्काका सहयोगीका रूपमा फस्टाएका छन्। गीत–सङ्गीतको रेकर्डिङ, उत्पादन तथा वितरण व्यवसाय पनि उद्योगकै स्वरूपमा विकास भइसकेको छ। सङ्गीत उद्योगमा रेकर्डिङ स्टुडियो, उत्पादक, वितरक, कलाकार आदिको ठूलो सञ्जाल छ। धेरै जनाले साङ्गीतिक क्षेत्रमा रोजगारीको अवसर प्राप्त गरिरहेका छन्। सङ्गीत उद्योग र मिडिया उद्योगबीच परस्पर फाइदाजनक निकट सम्बन्ध रहेको छ। सङ्गीत उद्योगका कारण मिडियाले सूचना सामग्री पाइरहेका छन्। खासगरी प्रसारण माध्यमलाई आफ्ना कार्यक्रममा साङ्गीतिक सामग्री नभई हुँदैन। छापा माध्यममा पनि मानव अभिरुचिका समाचार भनिने सामग्रीमा सङ्गीत उद्योगले पनि प्रशस्त कभरेज पाइरहेको हुन्छ। चर्चित, लोकप्रिय तथा सफल गायक–गायिका, सङ्गीतकार तथा गीतकारबारे सर्वसाधारणको निकै अभिरुचि हुने हुनाले तिनको समाचारीय मूल्य हुनु स्वाभाविकै हो। अनि सङ्गीत उद्योगलाई पनि आफ्ना उत्पादनको प्रवद्र्धनका लागि मिडिया अपरिहार्य छन्। वास्तवमा जसै मिडियाको उद्योगको विकास भएको हुन्छ, त्यससँगै सङ्गीत उद्योगको पनि विकास भएको देखिन्छ। 

आजको विश्वमा मनोरञ्जन उद्योग तथा प्रदर्शनमूलक व्यवसाय (सोबिज) तीव्र गतिमा फस्टाइरहेका उद्योग हुन्। यिनको विकास मिडियाकै कारणले भएको मानिन्छ। मिडियालाई पनि उक्त क्षेत्रहरूले प्रशस्त ‘मसला’ प्रदान गरिरहेको हामी देख्छौँ। मनोरञ्जन क्षेत्रमा हुने गतिविधिप्रति जनमानसमा निकै अभिरुचि रहेको हुन्छ। लोकप्रिय गायक गायिका, अभिनेता अभिनेत्री, मोडल, खेलाडी आदि जस्ता सेलेब्रिटीका सार्वजनिक र निजी जीवनप्रति आम जनताले खुब चासो राखेका हुन्छन्। यस्ता चासोअनुरूपका सामग्री दिएर मिडियाले एकातिर आफ्नो अन्तर्वस्तु आपूर्ति गरिरहेका हुन्छन् भने अर्कोतिर ती सेलेब्रिटीको लोकप्रियतालाई थप प्रवद्र्धन पनि गरिरहेका हुन्छन्। 

माथि उल्लेख गरिएका क्षेत्रका साथै मिडिया उद्योगसँग अन्तर्सम्बन्धित अन्य क्षेत्रहरू पनि छन्। समाचार एजेन्सी वा वायर सर्भिस र फिचर सिन्डिकेटको अस्तित्व मिडियासँगै जोडिएको छ। विशेषतः न्युज मिडियामार्फत सम्प्रेषण हुने सूचना सामग्री वा अन्तर्वस्तुको ठूलो हिस्सा समाचार एजेन्सी वा वायर सर्भिस र फिचर सिन्डिकेटले नै पूर्ति गर्छन्। मिडिया उद्योगका सहयोगी प्रणालीका थप उदाहरणका रूपमा वितरण प्रणालीलाई पनि लिन सकिन्छ। पत्रपत्रिका वितरणका लागि छुट्टै सञ्जाल तयार भई थुप्रै मानिसले रोजगारी पाएका छन् भने विद्युतीय मिडियाका परिप्रेक्ष्यमा पनि वितरण प्रणालीको ठूलो सञ्जाल विकास भइसकेको छ। वितरण प्रणाली प्रभावकारी भएन भने मिडिया उद्योगको पहुँच र व्यवसायमा प्रतिकूल असर पर्छ भने राम्रो वितरण प्रणालीले व्यावसायिक सफलतामा प्रत्यक्ष प्रभाव पार्छ। मिडिया अनुसन्धान एजेन्सी पनि मिडियाका सहयोगी प्रणाली नै हुन्। खासगरी प्रसारण माध्यमका परिप्रेक्ष्यमा ‘रेटिङ’को महŒव बढ्दै जाँदा अनुसन्धान एजेन्सीको भूमिका वृद्धि हुँदै गइरहेको छ। छापा माध्यमका परिप्रेक्ष्यमा पनि वितरण सम्परीक्षणबारे अनुसन्धानलाई व्यावसायिकताको अभिन्न पाटो मानिन्छ। सबै प्रकारका मिडियामा अन्तर्वस्तु, प्रापक समूह, स्वामित्व, बजार, विज्ञापन, साजसज्जा तथा अन्य अनेकौँ आयाममा अनुसन्धानको आवश्यकता पर्छ। व्यावसायिक अनुसन्धान संस्थाले मिडियाको आवश्यकताअनुसार अनुसन्धान गरी भरपर्दो तथ्याङ्क उपलब्ध गराउँछन्। 

कुन–कुन क्षेत्र वा उद्योगलाई प्राथमिक मान्ने र अरू कुन–कुनलाई चाहिँ सहयोगी प्रणाली मान्ने भन्ने कुरा वास्तवमा सापेक्ष मान्यता हो। यसबारे विभिन्न व्यवसाय वा क्षेत्रसँग सम्बन्धित व्यवसायी तथा अध्येताको दृष्टिकोणमा विविधता हुन्छ। जस्तै मिडिया उद्योगका व्यवसायी तथा अध्येताहरूले विज्ञापनलाई मिडिया उद्योगको सहयोगी प्रणालीका रूपमा बुझ्छन् भने विज्ञापन व्यवसायी तथा अध्येताहरूको दृष्टिकोणअनुसार विज्ञापन आफैँमा एक स्वतन्त्र उद्योग हो। विज्ञापन व्यवसायीका लागि विज्ञापन उद्योग प्राथमिक हो भने मिडियाचाहिँ त्यसको सहयोगी। यस पृष्ठभूमिमा यहाँ ख्याल राख्नुपर्ने कुरा के छ भने विज्ञापन, जनसम्पर्क, सङ्गीत उद्योगलगायतका जुन क्षेत्रलाई यहाँ मिडियाका सहयोगी प्रणाली भनिएको छ, त्यो मिडिया उद्योगको सापेक्ष दृष्टिकोणमा मात्र हो।