• ८ मंसिर २०८१, शनिबार

दीन–दुःखीको भरोसा बनेको अस्पताल

blog

नेपाली जनतालाई अस्पताल हेर्ने मौका राणा प्रधानमन्त्री वीरशमशेरले दिए। वीरशमशेरले वि.सं. १९४७ साउन १३ वीर अस्पताल स्थापना गरेका थिए। अस्पतालले आउँदो साता आफ्नो १३२औँ जन्मोत्सव मनाउँदैछ। केही शय्याबाट सुरु भएको अस्पतालमा अहिले ३५० भन्दा बढी  शय्या रहेका छन्। यो हेर्दा अस्पतालले ठूलो फड्को मारेको पाइन्छ। राणाहरूका लागि सिंहदरबार वैद्यखाना पनि वीर अस्पतालभन्दा जेठो होला। अस्पतालको परिभाषा र इतिहासमा रोगीको सेवामा समर्पित भएका हिसाबले वीर अस्पताल नै जेठो ठहरिन्छ। किनकि अस्पताल गरिब नेपाली जनताका लागि प्राण रक्षकका रूपमा खडा भएको थियो। जबकी आजको परिस्थितिमा अस्पताल सङ्ख्याको वृद्धि भएयता पनि उपचार पद्धति महँगो भएकाले गर्दा गरिब सर्वहारा र दुःखले पीडित नेपाली वीर अस्पतालमै आउने गर्छन्। अस्पतालले स्तरीय र आधुनिक चिकित्सा पद्धतिअनुसारको सेवा दिने भएकाले स्वदेशदेखि विदेशसम्मका जनता वीर अस्पतालको नाम लिएर राजधानी आउनेक्रम अहिले पनि धेरै छ। एक दिनमा मात्रै बिरामीसहित साथी लिएर सरदर दस हजारको हाराहारीमा सेवाग्राही आउने गर्छन्। छिमेकी भारत छेउछाउको बिरामीदेखि यहाँ उपचारमा आएका बिरामीको चापबाटै स्पष्ट थाहा हुन्छ। दक्ष चिकित्सक मात्र होइन प्राविधिकको सेवाभावकै कारण पनि अस्पतालप्रति आकर्षण बढ्दो छ। गाउँका पुराना बूढापाकाले पनि वीर अस्पतालको नाम लिन्छन्। हो, आजको बढ्दो सहरीकरण, सहरमुखी जनघनत्व र जनसङ्ख्या वृद्धिको चाप हेरेर अस्पताल सक्दो सेवा दिइरहेको छ। 

एक बङ्गाली डा. गोपालचन्द्र घोषको नेतृत्वमा शुभारम्भ भएको अस्पतालमा हाल चिकित्सकसहित लगभग चार हजारको सङ्ख्यामा कर्मचारी छन्। अस्पतालले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सेवा दिइरहेको छ। चुस्त प्रशासन बनाउनेदेखि लिएर बिरामीको सेवामा अझै प्रक्रियागत सुधार भइरहेको छ। अस्पताल २०५९ मङ्सिर १२ गतेबाट विकास समितिलाई 

अध्यादेशमार्फत खारेज गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा परिणत भएको छ। 

भारतको अखिल भारतीय आर्यु विज्ञान संस्थानजस्तै गरी सञ्चालन गर्ने प्रावधानअनुसार जीव विज्ञानमा स्नातक गरेको दक्ष जनशक्तिलाई स्नातकोत्तर अध्ययनसमेत गराउन थालिएको छ । अस्पताललाई जनमुखी र पारदर्शी रूपमा अघि लैजाने उद्देश्यले यस्तो अध्ययन थालिएको हो। अस्पताल सेवा विस्तारलाई ध्यानमा राखी गहन शल्यक्रिया जस्ताको विकास र पूर्वाधारका साथ ठूलो गुरु योजनाको तयारीमा जुटेको देखिन्छ। जनरल, सर्जरीमा न्युरो सर्जरी युरोसर्जरी, प्लाष्टिक सर्जरी, कार्डियो सर्जरी मुटुको शल्यक्रिया जो घाउ पाकेका र मुख खुँडे भएका बिरामीको लागि र साथै अर्थोपेडिक (हड्डीसम्बन्धी) सर्जरी सुरु भएको छ। हाल मिर्गौला प्रत्यारोपण सर्जरी ग्यास्ट्रो सर्जरी (आन्द्रा भुडीको शल्यक्रिया) पनि चलेको छ। अतः मेडिकल तर्फ मुटु रोग मिर्गौलासम्बन्धी (हेमोडाइलेसिस) मिर्गौलाको आन्तरिक सफाइ प्राविधिक र मेसिनबाट समेत सुरु भएको छ। टी.बी. लगायत कलेजो, पित्तासय जस्तो रोगको पनि उपचार मात्र होइन शल्यक्रिया पनि भइरहेको छ। अतः रेडियोलोजी एक्सरे, भिडियो एक्सरे, सिटीस्केन एएमआरआई जस्ता विविध मानवीय सेवा पनि सञ्चालित छन्।

दाँतसम्बन्धी सर्जरीलगायत उपचारका लागि धेरै अघिदेखि दाँत विभाग पनि गठन भएको देखिन्छ। अतः आँखा, कान, नाक, घाँटी सर्जरी देखि अन्य सेवा पनि सञ्चालन छन् भने आकस्मिक सेवा (इमरजेन्सी जो) २४ घण्टा चालू छ। गुणस्तरीय यन्त्रबाट रेडियो थेरापी सेवा पनि अस्पतालले दिँदै आएको छ। अस्पतालका सेवामा सरुवा रोगको उपचारको जिम्मा भने टेकु अस्पताललाई दिइएको छ। प्रसूति रोगको उपचार धेरै अघिदेखि थापाथली र आँखाको शल्यक्रिया पनि त्रिपुरेश्वरमा सारिएको छ। अस्पतालले प्याथोलोजी विभाग गठन गरेर सेवा दिइरहेको छ। 

स्वास्थ्य सेवामा बृहत् खालका प्रणाली छन्। आधुनिक मेडिकल पद्धति, आयुर्वेदको आधारमा पुरानो पद्धति र होमियोप्यथिक सेवाबाट पनि उपचार भइरहेको छ। योगादि प्रणाली (शारीरिक कसरत) जस्तो हरेक बाह्यदेखि आन्तरिक अर्घाणुका लागि चलिआएका पुरातन पद्धति जुन हाम्रा आर्य सभ्यताका उदययता ऋषिमुनिबाट सुरु भएको यो पद्धति मानव कल्याणकै लागि आजसम्म जीवन्त राख्न सकेका छौँ। त्यसबाट पनि धेरैले नयाँ जीवन पाएका छन् तर व्यापक गतिशील भने हुन सकेको छैन। पश्चिम प्रभावमा आज विश्वलाई पाश्चात्य मुलुकको पैसा र सहयोगी राष्ट्रको बफादारी बन्नलाई नयाँ प्रणालीको आधुनिक चिकित्सा पद्धतिप्रति मान्छेको ध्यान खिच्ने काम भइरहेको छ। सबैलाई नयाँ वस्तु र पद्धतिको शिक्षाले विश्वमै हलचल ल्याएको छ। समग्रमा भन्दा आयुर्वेदीय प्रणालीको माग आज जर्मनदेखि फ्रान्स, चीनलगायत विश्वका मिश्र विकासवादी मुलुकमा बढेको छ। तैपनि यसको विस्तार हामीले त्यति गर्न सकेका छैनौँ। छिमेकी राष्ट्र भारतमा ठूला–ठूला आयुर्वेदीय प्रणालीका दबाइखाना वा विश्वविद्यालय देखिन्छन् तर हाम्रा भने एक मात्र हिन्दुराष्ट्रको महेन्द्र संस्कृत विश्व विद्यालयले न त्यस्तो प्राविधिक योगको व्यवस्था गर्न सकेको छ न त आयुर्वेदीय प्रणालीको विधिवत पढाइ नै सञ्चालन गर्छ। एक मात्र नरदेवी आयुर्वेदीय चिकित्सालय पनि संस्कृत विश्वविद्यालय मातहत छ। न त त्रिभुवन विश्वविद्यालयअन्तर्गत नै । यस्तो प्रक्रियाबाट कहिले होला समग्रमा राष्ट्रको विकास र स्वास्थ्यमा सुधार ? सवा दुई करोड नेपालीले सहज र सर्वसुलभ उपचार कहिले पाउलान् ? 

वीर अस्पतालले बिरामीको चाप बढे पनि दुःखका साथ सक्दो सेवा दिएको छ। कम्तीमा प्रत्येक क्षेत्रमा वा सात प्रदेशमा वीरजस्ता अस्पताल खुलाउन सके धेरै जनताको उद्धार मात्र हुने थिएन रोगले ग्रसित भएर अस्पतालको मुख नदेख्नेहरूका लागि खुसीको विषय हुने थियो। 

नयाँ वा पुरानो जुन पद्धतिबाट भए पनि सेवा दिन सके जनताले आरामदायी जीवन जिउने थिए। सर्वसुलभ र कम खर्चमा बाँचेका आशालाई सेवा दिनेगरी अस्पताल खोल्ने सरकारी नीतिको सर्वत्र अपेक्षा गरिएको छ । यसतर्फ सरकारको ध्यान छिट्टै जाओस्। हत्या, हिंसा, भ्रष्टाचार नातावाद, कृपावाद र गलत विचारवादलाई यहीँ अन्त्य गरेर जनताको सेवामा दलहरू तल्लीन हुन अब धेरै ढिला भइसकेको छ। राजनीतिक परिवर्तनसँगै फेरिने स्वास्थ्य नीतिको सिकार भएको छन् भएका अस्पताल पनि। दुःखी पीडितलाई उपचारको विषय त धेरै टाढा भइसकेको छ। दलहरूले अब त सोच्ने कि ? जुनजुन पार्टी सरकारमा आए उही उही पार्टीका मान्छेलाई भर्ती गर्ने मनोविज्ञानको सिकार अस्पताल पनि भएका छन्। पार्टीवादका ठूलावडा मान्छेलगायत आफन्तको निःशुल्क उपचार गराउन चाहन्छन् तर सिटामोल नपाएर ज्यान गुमाउन बाध्य दुर्गमका जनताप्रति खासै चासो देखाएको पाइँदैन। के संविधानमा लेखेर मात्रै जनताले सेवा पाउने हुन् र ?

वीर अस्पताल स्थापना गर्ने वीरशमशेरको नाममा राज्यबाट पुरस्कारको स्थापना हुनु जरुरी छ। दुर्गम भेगमा गएर दुःखीको सेवा गर्ने कुनै एक चिकित्सकलाई त्यस्तो पुरस्कार दिने व्यवस्था गरे गरिबको भलो हुने थियो कि ?