पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव हुनुहुन्छ। उहाँकै नेतृत्व र पहलकदमीमा गोविन्द निरञ्जन वैद्य, रामविलास जोसी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ पाँच जनाको उपस्थितिमा २००६ साल वैशाख १० गते भारतको कोलकाता सहरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। त्यति बेला नेपालमा जहानियाँ राणाशासनको चरम दमन थियो। राजनीतिक पार्टीमाथि कडा प्रतिबन्ध लगाइएको थियो। नेपालमै बसेर राजनीतिक दल खोल्न नपाइने भएको २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस पार्टी पनि भारतमै गठन गरिएको थियो र २००५ सालमै राष्ट्रिय नेपाली कांग्रेस पारलाई समेत मिलाएर विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस पार्टीको स्थापना पनि भारतमै गरिएको थियो।
यता नेपालमा १९९७ सालको माघ १० देखि १६ गतेभित्र राणाशासनको घोर विरोध गरेकै आरोपमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठसहित चार जना युवालाई फाँसी दिएर हत्या गरेका कारण एकातिर नेपाली जनताको बीचमा भयावहको स्थिति थियो भने अर्कोतिर १०० वर्ष पार गरिसकेको जहानियाँ राणाशासनका विरुद्ध विद्रोहको लहर चलिरहेको थियो। त्यही बेला नेपालमा उपयुक्त वातावरण नभएका कारण छुट्टाछुट्टै दर्शन, सिद्धान्त, राजनीति र उद्देश्य बोकेका कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना विदेशी भूमि भारतमा गर्नुपरेको थियो
पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका धरोहर, कर्मठ, निर्भीक, निडर र क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो। उहाँले कठोर अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना मात्र गर्नु भएन उहाँले नेपाली समाजको रूपान्तरण गर्न र महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने सुन्दर सपना साकार पार्ने उद्देश्य आफ्ना बैरीहरूका सामु शिर नझुकाएर कठोर जीवन बिताउनुभयो। तत्कालीन सरकारहरूको घोर दमन र जर्जर आर्थिक अवस्थाको कुनै परवाह नगरी आफ्नो क्रान्तिकारी सिद्धान्त, दर्शन र व्यवहारलाई सबैका सामु आदर्श सावित गराउनुभयो। उहाँले जनताको भविष्य र देशको भविष्य तथा महान् नेपाली क्रान्तिको भविष्यबाहेक कुनै सपना देख्नुभएन।
नेपाली क्रान्ति र जनताको हितखातिर पुष्पलालले कठोर जीवन बिताउनुभयो। उहाँले कहिले पनि आफ्नो निम्ति, आफ्नो परिवारको निम्ति, आफ्ना आफन्तजनको सुखसुविधाप्रति कहिल्यै पनि सोच्नुभएन। उहाँले आफ्नो सम्पूर्ण जीवन नेपाली क्रान्ति, नेपाल राष्ट्र र नेपाली जनताको हितमा समर्पण गर्नुभयो। यी विषयको साक्षी ७३ वर्षीय नेपाली कम्युनिस्ट आन्दोलन बर्खरार छ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले सैनिक ‘कु’ गरेर प्रजातान्त्रिक बहुदलीय व्यवस्थालाई अपदस्त गरी निरङ्कुश, निर्दलीय र तानाशाही पञ्चायती व्यवस्थाको स्थापना गरेपश्चात राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइयो। कांग्रेस–कम्युनिस्ट पार्टीका कैयौँ नेताकार्यकर्ता गिरफ्तार गरेर पञ्चायती जेलमा कोचियो भने कांग्रेस–कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता पुनः भारत प्रवासमा निर्वासित हुन बाध्य भए। यता नेपालमा भने कांग्रेस–कम्युनिस्टले आ–आफ्ना पार्टीलाई भूमिगत शैलीमा ढालेर पार्टी राजनीतिलाई अगाडि बढाउने नीति लिए। पुष्पलाल पनि भारतमा निर्वासित हुन बाध्य हुनुभयो। २०१७ सालमा नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनले तुलसीलाल अमात्यको नेतृत्वमा केन्द्रीय समिति निर्माण ग-यो। उक्त नेतृत्वले सही नेतृत्व प्रदान गर्न सकेन। २०२०–२०२२ सालतिरबाट नेपाल कम्युनिस्ट आन्दोलन फुटेर टुक्रा–टुक्रा हुन पुग्यो। २०२५ सालमा कमरेड पुष्पलालले भारतको गोरखपुरमा नेपाल कम्युनिस्ट पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुभयो। एकातिर उहाँले नेपाली क्रान्तिको क्रान्तिकारी कार्यक्रम ‘नयाँ जनवादी क्रान्ति’को कार्यक्रम पारित गरेर वर्गसङ्घर्षको कडीलाई नेपाली क्रान्तिको प्रमुख आधार बनाउनुभयो भने अर्कोतिर उहाँले विभाजित नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने प्रयास गर्नुभयो।
यसका अतिरिक्त पुष्पलालले निरङ्कुश, निर्दलीय तथा अधिनायकवादी पञ्चायती व्यवस्थालाई अन्त्य गरेर बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनः स्थापनाका निम्ति नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीबीच सहकार्यको नीति अगाडि सार्नुभयो। एकातिर कांग्रेस घोर कम्युनिस्ट विरोधी भएकाले उसले कम्युनिस्टसित मिलेर पञ्चायती व्यवस्थालाई फाल्न तयार भएन अर्कोतिर कम्युनिस्टसँग भएको सङ्कीर्ण विचारका कारणले गर्दा पुष्पलालको जीवनकालभरि उहाँले अगाडि सारेको राष्ट्रिय सहमतिको नीति कार्यान्वयन हुन सकेन। देशभित्र तानाशाही पञ्चायती व्यवस्थाको चरम दमनका कारण कमरेड पुष्पलाल नेपाल फर्कन सक्नुभएन भने भारत निर्वासनमा बसेका बेला चरम आर्थिक अभावका कारण समयमै औषधि, उपचार गर्न नपाएर ५४ वर्षकै उमेरमा अल्पायुमै २०३५ साल साउन ७ गते भारतको राजधानी नयाँ दिल्लीमा उहाँको दुखद निधन भयो।
एकातिर नेपाली कम्युनिस्ट आन्दोलनभित्र पुष्पलालको देशभक्त क्रान्तिकारी योद्धाको आदर्शमयी विरासतको बलिदानको गौरवपूर्ण गाथा छ भने आज अर्कोतिर पुष्पलाल शिष्य र चेलाचपेटा फरक–फरक नाम दिएर संसदीय व्यवस्थामा रमाइरहेका छन्। नक्कली कम्युनिस्ट बनेर कम्युनिस्ट पार्टीको झन्डा हल्लाउँदै सरकारमा जाने, राष्ट्रको सम्पत्ति लुट्ने, जनतालाई भोटबैङ्क बनाउने, चरम भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्ने र राष्ट्रको सम्पत्ति आफ्नो नाममा बनाउनेजस्ता काममा लिप्त छन्। पुष्पलालले देखाएको बाटो यही हो र ? आफूहरूलाई पुष्पलालका सच्चा चेलाहरू भनाउन लाज मानिरहेका मात्रै छैनन् कि पुष्पलाललाई भजाएर उहाँकै नाममा ब्याज खाएर मोटाइरहेका छन्। र, भन्दैछन्, “हामी मात्रै कमरेड पुष्पलालका असली चेला हौँ, हामी कमरेड पुष्पलालका क्रान्तिकारी आदर्शलाई कहिल्यै परित्याग गर्नेछैनौँ।”
यिनै नामधारी कम्युनिस्टले आज लाजै नमानेर पुष्पलालको शालिकसामु उभिएर एक गुच्छा फूलका थुङ्गा चढाएर गोहीका आँसु चुहाउँदै छन्। र भन्नेछन्, “हामी कमरेड पुष्पलालका नेपाली क्रान्तिका सपना साकार पार्छौं–पार्छौं।” एकातिर यस्तो स्थिति छ भने अर्कोतिर नेपाली कम्युनिस्ट आन्दोलनले ७३ वर्ष पार गरिसक्दासम्म पनि नेपाली क्रान्ति सम्पन्न भएको छैन, र लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा छ। एकातिर एमाले, माके, एस समाजवादी जस्ता घोर दक्षिणपन्थी संशोधनवादी, नवसंशोधनवादी छन् र उनीहरूले आफूलाई कम्युनिस्ट भएको भनाइरहेका छन्।
यसको ठीकविपरीत नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत करीब दर्जनका हाराहारीमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी छन्। उनीहरूले नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै जनताको जनवादी राज्य व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा पुग्ने तयारीका साथ अगाडि बढिरहेका छन्
आज नेपाली कम्युनिस्ट आन्दोलनभित्रको क्रान्तिकारी धारा तुलनात्मक रूपले कमजोर अवस्थामा छ र रक्षात्मक अवस्थामा छ। आज क्रान्तिका वस्तुगत पक्ष परिपक्व भइसकेको भए पनि क्रान्तिकारीको आत्मगत अवस्था कमजोर नै छ।
क्रान्तिकारी धारका कम्युनिस्टहरू महान् नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने रणनीतिक तथा कार्यनीतिक योजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नु नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली दिएको ठहर्नेछ।