• १३ साउन २०८१, आइतबार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

blog

तस्बिर : प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुख गोविन्द परियारको फेसबुक पेजबाट

मकवानपुर, साउन ६  गते । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले संविधानमा उल्लेखित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सरकार दृढ छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमले जनतालाई आर्थिक समृद्धितर्फ डोर्‍याउँछ ।”

प्रधानमन्त्री देउवाले सञ्चारकर्मीले पनि देश र जनताप्रति उत्तरदायी बहन गर्दै सत्य र निष्ठ समाचारलाई जनतासामु सम्प्रेषण गर्ने बानीब्यहोरालाई आत्मसात् गर्नसके मात्र प्रजातन्त्रको सुदृढीकरणमा बल मिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको प्रजातन्त्र र राष्ट्रियताको संवर्द्धन गर्न नेपाल प्रेस युनियनको भूमिका अपरिहार्य हुन्छ ।” प्रधानमन्त्री देउवाले नागरिकता सुलभ ढङ्गबाट उपलब्ध गराउन सरकारले अहिले प्रतिनिधिसभामा नागरिकतासम्बन्धी नयाँ विधेयक दर्ता गरेको जानकारी दिनुभयो ।

उहाँले देशमा विद्युतको उत्पादन वृद्धि गरेर बाह्य मुलुकमा निर्यात गर्ने लक्ष्यका साथ आगामी वर्षमा विद्युत् उत्पादनलाई केन्द्रबिन्दुमा राखेर बजेट विनियोजित गरिएको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले युनियनद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो ।