• ७ जेठ २०८१, सोमबार

बेनी-जोमसोम सडक खण्ड अबरुद्ध

blog

म्याग्दी, साउन ६ गते । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको दुई ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

बेनी–जोमसोम सडक खण्डको अन्नपुर्ण गाउँपालिका–३ दानाको रुप्सेमा सडक माथिबाट ढुङ्गा खस्दा सवारी आवागमन बिहानै देखि रोकिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालका अनुसार रुप्से स्थित सडक भन्दा माथिबाट पहिरो सहित ढुङ्गा आएर बिहानै देखि सडक अबरुद्ध भएको हो । 

त्यस्तै अन्नपुर्ण गाउँपालिका–७ महभीरमा पहिरोले सडक अबरुद्ध भएको छ । बिहान झरेको पहिरोले सवारी सञ्चालन अबरुद्ध भएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । महभीरमा सडक माथिबाट झरेको पहिरो हटाउनका लागि डोजर लगाएर काम थालिएको भए पनि सडक खुलाउन भने केही समय लाग्न सक्ने बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । 

शेरचनका अनुसार बेनी–जोमसोम सडक खण्डको बेगखोला स्थित खोलाबाट सवारी तार्नु पर्ने हुँदा जोखिम छ भने महभीर पहिरोले रोकिएको छ । रुप्सेमा पनि सडक अबरुद्ध हुनुका साथै काभ्रे भिरमा पनि लगातारको वर्षाले गर्दा हिलाम्मे हुँदा निकै जोखिम रहेको शेरचनको भनाई छ ।


Author

अमृतप्रसाद पौडेल