• २८ फागुन २०८२, बिहिबार

उपचार महँगो हुँदा नागरिक गरिबीको रेखामुनि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २८ गते । नेपालमा स्वास्थ्य उपचार महँगो हुने भएकाले बर्सेनि पाँच लाख मानिस गरिबीको रेखामुनि पुग्ने गरेको बताइएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले नेपालमा स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक पाँच लाख नेपाली गरिबीको रेखामुनि पुग्ने गरेको बताउनुभयो । नेपालमा अन्य देशमा भन्दा उपचार सस्तो भए पनि नेपालीको आयस्रोतभन्दा महँगो उपचार र औषधीमा उच्च लागतका कारण नागरिक गरिबीको रेखामुनि गएको बताउनुभयो । 

पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. कार्कीले स्वास्थ्य उपचारका क्रममा नागरिकले गर्ने खर्चमध्ये अधिकांश रकम औषधीका लागि खर्च हुने गरेको बताउनुभयो । उहाँका अनुसार अरू देशभन्दा नेपालमा औषधी सस्तो छ तर व्यावहारिक रूपमा नागरिकले ठुलो आर्थिक भार औषधी उपचारमा बेहोर्नु परेको छ । 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा. चुमनलाल दासले सरकारले निःशुल्क सूचीबद्ध गरेका ९८ प्रकारका अत्यावश्यक औषधी नेपालमै उत्पादन गर्न स्वदेशी औषधी उद्योगलाई आग्रह गर्नुभयो । 

मन्त्रालयले औषधी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको बताउनुभयो । उहाँले उद्योगीलाई गुणस्तर र मूल्यमा सम्झौता नगर्न आग्रह गर्नुभयो । नेपाल औषधी उत्पादक सङ्घका अध्यक्ष विप्लव अधिकारीले २०३५ सालमा बनेको औषधी ऐन नेपालका औषधी व्यवसायीको हितमा नभएको बताउनुभयो । 

उहाँले औषधीको गुणस्तर प्रत्याभूति गर्न विश्व स्वास्थ्य सङ्गठनले लागु गरेको मापदण्डलाई पूरा गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रबलजङ्ग पाण्डेले नेपालले नीतिगत सुधार गरेर औषधी उद्योगलाई गुणस्तरीय उत्पादनमा प्रेरित गर्नुपर्ने बताउनुभयो ।