नेपाल ताजा जनादेश अनुसार नयाँ सरकारको अन्तिम तयारीमा छ । गत भदौमा भएको नवपुस्ता अर्थात् जेनजी विद्रोहपछि देशले कठिन मेहनतका साथ निर्वाचन सम्पन्न गरेको छ । अनेक अन्योल चिर्दै भएको यो निर्वाचनमा नितान्त नवीन र उत्साहजनक जनादेश प्राप्त छ । निर्वाचनले प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सानदार जनादेश हासिल भयो । २७५ सदस्यीय प्रतिनिधि सभाको संरचनामा प्रत्यक्ष र समानुपातिक प्रतिनिधित्व रहेको छ । १६५ सदस्यीय प्रत्यक्ष निर्वाचनमा रास्वपालाई १२५ निर्वाचन क्षेत्रमा सफलता प्राप्त भएको छ । समानुपातिकतर्फ पनि उच्च मत प्राप्त भएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपालाई प्राप्त बलियो जनादेश नेपालको भविष्यको पुँजी हो । समानुपातिक प्रतिनिधित्वको अन्तिम गृहकार्यमा निर्वाचन आयोगले कार्यसम्पादन गरिरहँदा रास्वपा र नयाँ जनादेशलाई अन्तर्राष्ट्रिय सद्भाव हासिल भइरहेको छ । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बोलन्द्र शाहलाई बधाई र शुभकामना प्राप्त हुँदै छन् । नेपालको दक्षिणी छिमेकी भारतका साथै चीन, संयुक्त राज्य अमेरिका, जापान, बङ्गलादेश, पाकिस्तान, भुटानलगायतका मुलुकबाट निर्वाचन तथा नयाँ जनादेशलाई शुभकामना प्राप्त भइरहेको छ । यो शुभकामना तथा सद्भावले नयाँ सरकारको भावी अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ बलियो बनाउन सक्ने छ । नेपालको आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विस्तारमा सहज हुन सक्ने छ ।
नयाँ जनादेशलाई बाह्य सद्भावका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीले टेलिफोन संवाद गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सानदार विजय हासिल गर्न सफल भएकोमा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री मोदीले टेलिफोन गर्नुभएको हो । उहाँहरूलाई सफलताका निम्ति बधाई दिनुभएको छ । सभापति लामिछाने र वरिष्ठ नेता शाहसँग भएको संवादलाई सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिएको छ । प्रधानमन्त्री मोदीले भन्नुभएको छ, “उहाँहरूको नेतृत्वमा बन्ने आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबिचको आपसी समृद्धि, प्रगति र हितका लागि मिलेर काम गर्ने भारतको प्रतिबद्धतासमेत व्यक्त गरेँ ।” प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासले आगामी वर्षमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ । टेलिफोन वार्तापछि रास्वपाका सभापति रवि लामिछानेले प्रत्युत्तरमा नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई मान्यता दिएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद व्यक्त गर्नुएको छ । मोदीसँगको कुराकानीपछि सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “हामी भारतसँगको साझेदारीका लागि तत्पर छौँ, जसले ‘कनेक्टिभिटी,’ सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारमा सहयोगमार्फत नयाँ उचाइहरू हासिल गर्ने छ, साथै दुवै देशका जनताको समृद्ध भविष्य सुनिश्चित गर्ने छ ।” त्यस्तै रास्वपाका वरिष्ठ नेता शाहले भारतका प्रधानमन्त्रीको बधाईको जवाफ फर्काउनुभएको छ । उहाँले भन्नुभएको छ, “नेपाल–भारतबिच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।” यस्तो संवादले नेपाल र भारतबिचको पारिस्परिक सम्बन्धको नवीन मार्गचित्र कोरेको प्रत्याभूति भएको छ ।
नेपालले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा संयुक्त राज्य अमेरिका र चीनबाट यसअघि नै बधाई र सद्भाव प्राप्त भइसकेको छ । पछिल्लो समयमा जापान सरकारले पनि स्वागत गरेको छ । जापान सरकारका तर्फबाट नेपालस्थित जापानी दूतावासले वक्तव्य जारी गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा स्वागत गरेको हो । जापान नेपाललाई बढी सहयोग गर्ने मुलुकसमेत हो । निर्वाचनका क्रममा जापान सरकारका तर्फबाट जापानका संसदीय उपविदेशमन्त्री सिमादा तोमोआकीको नेतृत्वमा एक निर्वाचन पर्यवेक्षक मिसन पठाएको स्मरण गर्दै स्थलगत अनुगमनमार्फत निर्वाचनका गतिविधिको अवलोकन गरेको जनाइएको छ । त्यस्तै पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति बधाई दिनुभएको हो । नेपालसँगको भ्रातृत्वमैत्री सम्बन्धलाई अत्यन्त महत्वका साथ लिएको उल्लेख गर्दै बधाई सन्देशमा उहाँले दुई देशबिचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास दिलाउनुभएको छ । सो क्रममा आगामी दिनमा बन्ने नयाँ सरकारसँग निकटतम रूपमा सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्ने इच्छा पाकिस्तान सरकारका तर्फबाट जाहेर गर्नुभएको छ । जेनजी विद्रोहपछि भएको यो निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले मिहिन ढङ्गले हेरेको प्रतीत हुन्छ । लोकतान्त्रिक प्रक्रियाप्रति उच्च सम्मान र सद्भाव प्राप्त भएको छ । नयाँ सरकारका निम्ति यो ठुलो पुँजी हो । राष्ट्रिय हित र स्वार्थलाई केन्द्रविन्दुमा राखेर भूराजनीतिक सन्तुलन कायम राख्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ उचाइमा पु¥याउनु जरुरी छ ।