अर्जुन काफ्ले
स्याङ्जा, फागुन २८ गते । बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने र कालोबजारी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्याङ्जाका विभिन्न व्यापारिक केन्द्रहरूमा बजार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सक्रियतामा जिल्लाका प्रमुख बजारहरूमा रहेका ग्यास डिलर तथा पसलहरूको अवस्थाबारे निरीक्षण गरिएको हो । यहाँका पुतलीबजार, राङखोला, बयरघारी, वालिङ, गल्याङ लगायतका मुख्य बजारहरूमा प्रशासनले विशेष निगरानी बढाएको हो ।
सहायक जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा खटिएको एकीकृत टोलीले दिनभर ग्यास वितरणको अवस्था, मौज्दात र मूल्यका विषयमा स्थलगत जाँच गरेको थियो ।
अनुगमनका क्रममा टोलीले ग्यास सिलिन्डरको परिमाण, तोकिएको तौल भए नभएको र बिक्री वितरण गर्दा अनिवार्य रूपमा बिलबिजक जारी गरिएको छ कि छैन भन्ने विषयमा सुक्ष्म अनुसन्धान गरेको थियो ।
नियम विपरीत कारोबार गर्ने र प्रक्रिया नपुर्याएका केही ग्यास डिलरलाई तत्कालै जरिवाना गरिएको हो भने अन्यलाई व्यापारिक आचारसंहिता पालना गर्न निर्देशन दिँदै सचेत गराइएको हो ।
अनुगमनपछि सहायक जिल्ला अधिकारी सुवेदीले जिल्लामा खाना पकाउने ग्यासको कुनै पनि अभाव नरहेको र अनावश्यक रूपमा स्टक राखेर अभाव देखाउन खोज्नेलाई कडा कारबाही गरिने बताउनुभयो ।
उहाँले उपभोक्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राखि बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा महँगोमा बेच्ने जस्ता गैरकानुनी कार्य रोक्न प्रशासनले नियमित रूपमा अनुगमन जारी राख्ने बताउनुभयो ।