• २८ फागुन २०८२, बिहिबार

सफल ऐतिहासिक निर्वाचन

blog

जेनजी विद्रोहपछिको अन्योलपूर्ण वातावरणमा देशलाई निकास दिने उद्देश्यले गठित सरकारले आफ्नो घोषित अभिभारा पूरा गरेको छ । फागुन २१ मा निर्वाचन सम्पन्न भई सोको परिणाम पनि प्राप्त भइसकेको छ । यसको विवरण निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाउने प्रक्रिया बाँकी छ । सो विवरण राष्ट्रपतिसमक्ष पुगेपछि उहाँले नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नु हुने छ ।

यस चुनावमा नयाँ भनिएको वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले लगभग दुई तिहाइ मत दिएका छन् । यस्तो नतिजा नेपाली निर्वाचन इतिहासमा बिरलै पाइन्छ । विसं २०१५ को चुनावमा बिपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले दुई तिहाइ मत पाएको थियो । सो निर्वाचनमा सो दलले १०९ मध्ये ७४ सिट जित्न सफल भएको थियो ।

अति विषम परिस्थितिमा हुन लागेको यस निर्वाचनलाई सहजताका साथ कुनै पक्ष र दललाई अस्वीकार्य नहुने गरी सम्पन्न गरेकाले सरकार नेपाली जनताको तर्फबाट धन्यवादको पात्र हुन पुगेको छ । खास गरी नेपालको पहिलो महिला प्रधान न्यायाधीश पनि भइसक्नुभएकी नेपालको प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको दृढ अठोटका कारण नै यो निर्वाचन निर्बाध रूपमा सम्पन्न हुन पुगेको छ । यो सरकारका मन्त्रीले पनि यो निर्वाचन सम्पन्न हुनमा कठिन परिस्थितिमा देशलाई समाली आफ्नोतर्फबाट योगदान दिनुभएको छ । यो सरकारको गृहमन्त्रीको दृढता पनि यस निर्वाचनमा देख्न पाइयो । उहाँको अथक प्रयासबिना एउटा आन्दोलनपछिको निर्वाचन यति सजिलै सम्पन्न हुने थिएन । कैयौँ देशमा निर्वाचन हुन नसक्ने भई घोषित निर्वाचन पटक पटक सरेका उदाहरण छन् । हाम्रै छिमेकी मुलुक बङ्गलादेशमा पनि आन्दोलनको १८ महिनापछि हालै मात्र निर्वाचन सम्पन्न हुन सक्यो भने बिच बिचमा धेरै हिंसाका घटना भए तर नेपालमा गृहमन्त्रीले यस्तो परिस्थिति र विभिन्न पक्षका आलोचना, असन्तोषबिच पनि निर्वाचन सम्पन्न गर्नैपर्ने अर्जुनदृष्टिमा कमी ल्याउनुभएन । आलोचनालाई बेवास्ता गर्दै सरकारको तयारीलाई हरेक पक्षसँगको सामञ्जस्यमा अघि बढाउनुभयो । संवैधानिक दायित्व भएको निर्वाचन आयोगले पनि आफ्नो दायित्वको काम तुरुन्त नै सुरु गरी अन्तिम निष्कर्षमा पु¥यायो । यसका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त तथा अन्य आयुक्तहरू पनि धन्यवादका पात्र हुनुहुन्छ ।

सरकारका केही मन्त्री निर्वाचन गराउने दायित्वबाट हटेर निर्वाचनमा सहभागी भएको भनेर आलोचना पनि नभएको होइन तर उहाँहरूले सरकारका सुरुवाती दिनमा सरकारलाई पूर्णता दिन र विश्वासयोग्य बनाउन योगदान दिनु भएकै हो । उहाँहरूले आफ्नो प्रजातान्त्रिक अधिकारको उपयोग गर्दै निर्वाचनमा भाग लिनु नाजायज भने होइन । त्यो पनि प्रधानमन्त्रीसँगको सल्लाहमै निर्वाचनमा भाग लिने भए राजीनामा दिएर जान स्वीकृति दिएपछि उहाँहरू निर्वाचनमा होमिनु भएको थियो । सुरुवाती दिनमा सरकारमा रहेर आफ्नै विशेषता र इमानदारी प्रदर्शन गर्नुहुँदै शिक्षा मन्त्रालयको कार्यभार समाल्नुभएका नेपाली वैज्ञानिक महावीर पुनको योगदान पनि सराहनीय नै मान्नु पर्छ । उहाँहरू सबैले सरकारको सुरुवाती दिनमा कामलाई गति दिनुभएको थियो । यस्तै सहरी विकासमन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि जेनजी युवाको भावनालाई समेट्न सक्ने लोकप्रिय व्यक्तित्व नै हुनुहुन्थ्यो । यस्तो परिवेशमा पहिलो महिला प्रधान न्यायाधीश मात्र होइन, पहिलो महिला प्रधानमन्त्रीको रूपमा पनि काम गर्न इतिहासले दिएको जिम्मेवारी प्रधानमन्त्रीले सफलतापूर्वक पूरा गर्नुभएको छ । उहाँको योगदान नेपालको इतिहासमा अविस्मरणीय मानिने छ ।

यसै सन्दर्भमा सुरक्षा निकायको भूमिकालाई पनि उच्च मूल्याङ्कन गर्नुपर्ने हुन्छ । खास गरी जेन्जी आन्दोलनपछि केही कैदी भागेका र आन्दोलनका क्रममा लुटिएका हतियार आपराधिक मानसिकता भएका व्यक्तिले कहाँ कसरी प्रयोग गर्ने हुन् र वातावरण बिथोल्ने हुन् भन्ने आशङ्का पनि कायमै थियो । साथै केही पक्षले निर्वाचन बहिष्कार गर्नु पर्छ भन्ने धारणा पनि राख्दै आएका थिए । केही राजनीतिक दलले पनि स्वतन्त्र रूपमा चुनाव प्रचारप्रसार गर्ने वातावरण छैन भन्दै आएका थिए । यस्तो परिस्थितिमा सुरक्षा निकायको भूमिका एकदमै महìवपूर्ण हुन्थ्यो, जुन ती निकायले सफलतापूर्वक पूरा गरी दललाई चुनावमा होमिन विश्वसनीय वातावरण तयार पारे ।

देशका प्रमुख दलको सहभागिताबिना निर्वाचन विश्वसनीय र सर्वस्वीकार्य हुन सक्ने थिएन । त्यस्तो अवस्थामा तिक्तातापूर्ण वातावरणलाई पनि सरकार र दलबिच समन्वय कायम गरी सबैलाई निर्वाचनमा सहभागी गराउन राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीलगायत सरकारमा रहेका मन्त्रीहरू तथा दलका नेताहरूको आपसी वार्ता र सामञ्जस्य पनि यो निर्वाचन सफल बनाउने श्रेय जान्छ । 

सरकार एकदमै अप्ठ्यारो स्थितिमाथियो । आन्दोलनमा सहभागी नवयुवाका विभिन्न समूहका गुनासा, असन्तुष्टि सुन्दै तिनलाई व्यवस्थित गर्दै दलहरूका लागि पनि विश्वसनीय वातावरण बनाउनु निकै नै चुनौतीपूर्ण कार्य थियो तर सरकार यस काममा नडगमगाइकन लागी नै रह्यो र नेपाली जनताले यस्तो विषम परिस्थितिमा पनि शान्तिपूर्ण वातावरणमा चुनावमा भाग लिई आफ्नो अभिमत प्रकट गर्न पाए । 

निर्वाचनमा आफूलाई वैकल्पिक शक्तिको रूपमा दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ मत हासिल गरेको छ । यसले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकमा ५७ सिट प्राप्त गर्ने अनुमान छ, जसबाट यस दललाई लगभग दुई तिहाइको मत प्राप्त हुने देखिन्छ । समानुपातिकमा प्राप्त गर्ने सिट निर्वाचन आयोगले घोषणा गरिनसकेकाले यसमा एक/दुई सिट तलमाथि हुन सक्छ । पुराना दलहरूका गल्ती/कमजोरीको फाइदा उठाउँदै जनभावना आकर्षित गर्न सो दल सफल हुन पुगेको छ । खास गरी रास्वपाका अध्यक्ष रवि लामिछाने यस निर्वाचनलाई राम्ररी उपयोग गर्न सफल हुनुभयो । उहाँले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र (बालेन) शाहलाई आफ्नो पार्टीमा भित्र्याउन सफल हुनुभयो । उहाँलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै उदार भाव पनि देखाउनुभयो । यसले उहाँको छवि पनि उच्च बनायो भने शाहलाई पनि एउटा दलको आवश्यकता भएको अवस्थामा उपयुक्त मञ्च प्राप्त भयो । जनतामा लोकप्रिय यी दुई युवाको मिलनले जनतामा राम्रो प्रभाव प¥यो । 

हुन त नेपाली कांग्रेसले पनि सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर निर्वाचनमा होमिएको थियो । साथै नेकपा (एमाले) ले यसका अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो तर जेन्जी विद्रोहको भावना अनुसार ती दललाई पुराना पार्टीको रूपमा अथ्र्याइँदै नयाँलाई नै छान्ने जनताको भावना नै बढी मुखरित भयो । यसैले झापा क्षेत्र नं. ५ जस्तो आफ्नो गढमा पनि पूर्वप्रधानमन्त्री ओलीले आफ्नो मत सुरक्षा गर्न सक्नुभएन भने गगन थापाले सुरु गर्नुभएको प्रयास केही ढिलो भएको अनुभव भयो । 

रास्वपाका बालेन शाह आफ्नो देशव्यापी मत आकलनका आधारमा झापामा पूर्वप्रधानमन्त्रीलाई हराउने उद्देश्यले नै त्यहाँ जाने निर्णय गर्नुभएको थियो । यो उहाँको ठुलो आँटको प्रदर्शन हो । कतिले त उहाँ हार्न जानुभएको भनेका थिए तर रास्वपाले देशभर नै जनताको मत प्राप्त गर्न सफल भयो । गगन थापाले पनि ठुलो आँट प्रदर्शन गरेर नै सर्लाही–४ मा जानुभएको थियो तर उहाँले अमरेशकुमार सिंहको लोकप्रियता र रास्वपाको लहरले उहाँको जित हुन सकेन । बालेन भने पूर्वप्रम केपी शर्मा ओलीलाई पराजित गरी देश विदेशमा ठुलो ख्याति कमाउन सफल हुनुभयो । यसबाट रास्वपाको चुनावी रणनीति निकै नै सफल भएको देखिन्छ । 

यस निर्वाचनबाट नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी ( नेकपा) चौथो हुन पुगेको छ । यस्तै नयाँ शक्तिको रूपमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको उदय भएको छ । यो पार्टी स्थापना भएको केही महिनाभित्रै नै प्रत्यक्षमा तीन सिट जितेर राष्ट्रिय पार्टीको रूपमा उदाउन सफल भएको छ भने संसद्मा पाँचौँ दल बन्न पुगेको छ । यस पार्टीले सुनसरी क्षेत्र नं. १ मा मात्र नभई माझ किराँतका रूपमा रहेका खोटाङ र भोजपुरमा समेत जनताको मत जित्न सफल भयो । रास्वपाको तुलनामा थोरै सिट भए पनि हर्कको एकल प्रयासमा भएको यो उपलब्धि ठुलो हो ।

नवयुवाको भावना प्रतिनिधित्व गर्ने लोकप्रिय व्यक्तित्व कुलमान घिसिङको दलले भने यो निर्वाचनमा समयमै उचित निर्णय गर्न सकेन । यो दल चुक्यो । देशभर यो दलले एक सिट पनि जित्न सकेन । तैपनि कुलमान घिसिङले केही समय चुनावी सरकारमा रहेर सुधार र विकास निर्माणका काममा गति दिनुभयो । जनतामा केही आशाको सञ्चार गर्न सफल हुनुभयो । यसबाट राजनीतिमा सही समयमा सही निर्णय लिन सक्नु वा नसक्नुले ठुलो प्रभाव पार्ने शिक्षा पनि दिएको छ । 

जे होस् जेनजी विद्रोहपछि निर्वाचन गराउने ऐतिहासिक अभिभारा पाएको सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो दायित्व सफलतापूर्वक निर्वाह गरेको छ । देशलाई नयाँ जनप्रतिनिधि दिन सफल भएको छ । नयाँ सरकारले आफ्नो घोषणापत्र कार्यान्वयन गर्दै जनतामा आशा, भरोसा र नयाँ युग सुरु भएको सञ्चार गर्नुपर्ने छ । देशमा व्याप्त निराशापछि विद्रोहको जगमा उदाएको यो सरकार सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गरी विकासनिर्माणलाई गति दिन सफल हुनुपर्ने छ ।