• १३ साउन २०८१, आइतबार

च्याउखेतीबाट राम्रो आम्दानी

blog

विक्रीका लागि तयार पारिएको कन्ये च्याउ । तस्विर– मीना कंडेल

मीना कंडेल

कावासोती, साउन ५ गते । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं ८ का टीकाप्रताप सेन ठकुरीको दैनिकी च्याउ विक्रीवितरणमा बित्ने गरेको छ । हरेक दिन बिहान च्याउ प्याकेजिङमै समय बिताउने ठकुरीले पहिले समयको सदुपयोगको लागि मात्रै घरमै च्याउ खेती सुरु गर्नुभएको थियो तर अहिले भने व्यावसायिक रुपमै च्याउको खेती सुरु गर्नुभएको हो । 

स्थानीय स्तरमै च्याउखेती गरेर स्थानीय उपभोक्तालाई ताजा च्याउ उपभोग गराउने उद्देश्यले नै च्याउ खेती गरेको ठकुरीले बताउनुभयो । एक वर्ष अघि २२ लाख रुपियाँको लगानीमा च्याउखेती सुरु गरेर उहाँले राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले कन्ये च्याउ होलसेलमा प्रति केजी दुई सय रुपियामा बेच्ने गर्नुभएको छ । कन्ये च्याउ नवलपुरमा नै खपत हुने गरेको छ । उहाँको कृषि फार्ममा च्याउ लगाउन १० वटा टनेल छन् । 

एउटै टनेलबाट उत्पादित च्याउबाट पहिलो लटमै दुई लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । च्याउ फार्ममा उहाँले दुई जनालाई रोजगारी दिनुभएको छ । ती दुई जना कामदारले च्याउ उमार्नका लागि प्याकिङको कार्य गर्नुहुन्छ भने अन्य पाँच जनाले उहाँहरुलाई सहयोग गर्नुहुन्छ ।