गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २७ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम २०८२ चैत पहिलो साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्षतर्फ (पहिलो निर्वाचित हुने) प्रणालीको मतपरिणाम आइसकेको र समानुपातिकतर्फ मतगणना पनि सम्पन्न भएपछि प्रतिवेदन पेस गर्ने तयारीमा निर्वाचन आयोग जुटेको हो ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “समानुपातिकतर्फको मतगणना कार्य पनि अन्तिम चरणमा पुगेको छ । आयोगले सम्पूर्ण तयारी पूरा गरेपछि चैत ५ देखि ७ गतेभित्र राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन पेस गर्ने तयारीमा जुटेको छ ।”
प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ५७ वटा राजनीतिक दलले समानुपातिक मत प्राप्त गरेका छन् । तर एक करोड छ लाख ७३ हजार १९८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ११ हजार ३९७, नेपाली कांग्रेसले १७ लाख ३५ हजार २७१, नेकपा (एमाले) ले १४ लाख ४२हजार ५९९ र नेपाली कम्युनिस्ट पार्टीले सात लाख ९४ हजार ४१७ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टीले तीन लाख ७६ हजार ६५३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २८ हजार ६५५ मत प्राप्त गरेका छन् । यी छ दलले मात्रै समानुपातिक मतको न्यूनतम आवश्यक मत (थ्रेसहोल्ड) हासिल गर्ने छन् । अन्य दलले हालसम्म प्राप्त गरेको मत सङ्ख्या र गणना गर्न बाँकी रहेको मत सङ्ख्याको अनुपात अनुसार उनीहरूले न्यूनतम तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सक्ने छैनन् । किनकि छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टी नेपालले हालसम्म एक लाख ७३ हजार ७८ मत मात्र प्राप्त गरेको छ । अहिलेको मतपरिणाम अनुसार थ्रेस होल्ड कटाउन करिब तीन लाख १५ हजार मत ल्याउनुपर्ने छ । अब करिब चार लाख मात्र मत गणना गर्न बाँकी छ । यस पटक समानुपातिकतर्फ ४७ वटा दलले भाग लिएका थिए ।
प्रत्यक्षका १६५ सिटकै घोषणा
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा १६५ वटै क्षेत्रको मतपरिणाम सार्वजनिक भएको हो ।
घोषित परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष अर्थात् पहिलो हुने निर्वाचन प्रणालीतर्फ १२५ सिटमा विजय हासिल गरेको छ ।
नेपाली कांग्रेसले १८ सिट, नेकपा (एमाले) नौ सिट र नेपाली कम्युनिस्ट पार्टीले सात सिटमा विजय हासिल गरेका छन् । श्रम संस्कृति पार्टीले तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जित्दा र स्वतन्त्रतर्फ पूर्वशिक्षामन्त्री महावीर पुन निर्वाचित हुनुभएको छ ।
धनुषा क्षेत्र नं. १ को घोषित परिणामको निरूपण भने सर्वोच्च अदालतबाट हुने भएको छ । निर्वाचन आयोगले फागुन १८ गते रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजीको निर्णय गरेपछि घण्टीमा आएको मत बदर हुने निर्णय गर्दै मतगणना गरिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले सोमबार फागुन २९ गतेलाई पेसी तोकेर आयोगको निर्णयको सक्कलसहित दुवै पक्षलाई बोलाएको छ ।