सिराज खान
नेपालगन्ज, फागुन २७ गते । नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त ७५ वर्ष पुगेका ज्येष्ठ नागरिक पूर्वकर्मचारीहरूलाई सम्मान गरिएको छ । नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघ नेपालगन्जले उनीहरूको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो ।
नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक नारायणप्रसाद पोखरेलले बैंकबाट अवकाश भइ ७५ वर्ष उमेर पुगेका सात जना पूर्व कर्मचारीलाई एक कार्यक्रमकाबिच सम्मान प्रदान गर्नुभयो ।
निर्देशक पोखरेलले सम्मानस्वरूप कदरपत्र र दोसल्ला प्रदान गर्दै अवकाशपछि पनि अनुभव र ऊर्जाले समाजलाई योगदान दिन सकिने बताउनुभयो । उहाँले बैंकको विकास र संस्थागत मजबुतीमा पूर्व कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको योगदान सदैव स्मरणीय रहने बताउनुभयो ।
नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघका अध्यक्ष जगदीशबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित कर्मचारीका तर्फबाट विष्णुलाल कुमालले सम्मानले आफ्नो सक्रिय जीवनमा थप ऊर्जा मिलेको बताउनुभयो । उहाँले यस्तो सम्मानले अवकाश प्राप्त कर्मचारीहरूलाई उत्साहित बनाउने समेत जनाउनुभयो ।
कार्यक्रममा पूर्व कर्मचारीहरूबिच आपसी भेटघाट तथा अनुभव आदान–प्रदानसमेत गरिएको थियो । कार्यक्रम सञ्चालक, नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघ नेपालगन्जका सचिव रमेश मल्लका अनुसार, त्रिबिक्रम कुँवर, बिष्णु लाल कुमाल, श्याम लाल लगायतका सात जनालाई सम्मान गरिएको हो ।
यसैबिच नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघका देशभरिकै शाखामा यस वर्षको उत्कृष्ट शाखा सम्मान नेपालगन्जले प्राप्त गरेको छ ।
‘संघको उद्देश्य अनुरुपका विभिन्न क्रियाकलापहरुमा सरिक भइ गरेको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट देखिएको’ भन्दै नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघको केन्द्रीय समितिले सम्मान गरेको नेपालगन्ज शाखाका सचिव रमेश मल्लले बताउनुभयो । ‘यसले हामीलाई थप हौसला प्रदान गरेको छ,’ सचिव मल्लले उत्साहित हुँदै भन्नुभयो ।