• २७ फागुन २०८२, बुधबार

सल्यानमा बाघको आक्रमण बढ्दो, शारदामा आठ भेडा–बाख्रा मारिए

blog

शंकर केसी
सल्यान, फागुन २७ गते ।
सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ वटा भेडा–बाख्रा मारेको छ।

स्थानीयका अनुसार चरिचरणका लागि जङ्गल लगिएका पशुचौपायामाथि बाघले आक्रमण गर्दा ६ वटा बाख्रा र २ वटा भेडा मरेका हुन्। जिल्ला समन्वय समिति सल्यानका सदस्य तथा स्थानीय बासिन्दा चेतन गिरिले सुनचौरका विभिन्न किसानका पशुचौपाया बाघको आक्रमणमा परेको जानकारी दिनुभयो। उहाँका अनुसार सुनचौर निवासी किसान विनोद घर्तीका तीन वटा बाख्रा, जरसिंह घर्तीका दुई वटा बाख्रा, रुपसिंह पुनका एउटा बाख्रा तथा दलबहादुर पुनका दुई वटा भेडा बाघले मारेको हो।

स्थानीय ज्योति पुनका अनुसार चरिचरणका लागि जंगल लगिएका बाख्रा अबेरसम्म घर नफर्किएपछि गाउँलेहरू खोजीमा गएका थिए। खोजीका क्रममा जंगलमा बाघले मारेको अवस्थामा पशुचौपाया फेला परेका थिए। गाउँलेहरूले घटनास्थलमा बाघकै आक्रमण भएको बताएका छन्।

गमबहादुर पुनका अनुसार स्थानीयहरू घटनास्थल पुग्दा बाघले मारेका बाख्रा खाँदै गरेको देखिएको थियो। मानिसहरू पुगेपछि बाघ जंगलतिर भागेको उहाँले बताउनुभयो।

पछिल्लो समय सल्यान जिल्लाका विभिन्न स्थानमा बाघ तथा चितुवा देखिएको भन्दै स्थानीयहरूले जानकारी दिन थालेका छन्। यसले ग्रामीण क्षेत्रका बासिन्दामा डर र असुरक्षा बढाएको छ। पशुचौपाया चराउन जंगल लैजान, घाँस–दाउरा संकलन गर्न जंगल जान तथा एक्लै हिँडडुल गर्नसमेत स्थानीयहरू त्रसित बनेका छन्।

यसअघि केही समयअघि कालिमाटी क्षेत्रमा पनि बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाएको घटना सार्वजनिक भएको थियो। मानवमाथि समेत आक्रमण हुन थालेपछि स्थानीय बासिन्दाले जंगली जनावर नियन्त्रण तथा सुरक्षा व्यवस्थाका लागि सम्बन्धित निकायसँग माग गर्दै आएका छन्।

यसका साथै जिल्लाका विभिन्न गाउँमा बँदेल, दुम्सी, खरायो लगायतका जंगली जनावरले खेतबालीमा समेत क्षति पुर्‍याउँदै आएका छन्। किसानहरूले लगाएको मकै, आलु, गहुँ लगायतका बाली नष्ट हुने समस्या बढ्दै गएको छ।

स्थानीय बासिन्दाले जङ्गली जनावरको बढ्दो आक्रमण नियन्त्रण गर्न वन कार्यालय तथा सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। साथै पशुचौपाया तथा मानव सुरक्षाका लागि उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ छ।